+
+
पुस्तक समीक्षा :

समाजवादको बहसबारे

भीम रेग्मी भीम रेग्मी
२०७९ भदौ २५ गते ११:२०

हामी निकै चुनौतीको घुम्तीमा बाँचेका छौं। सुनेका घटना भन्दा हामीले भोगेको समाज निकै फरक छ। विकास, परिवर्तन, रुपान्तरण र समृद्धिको कथा भन्दा दिनचर्या निकै अट्टहासपूर्ण छ। २००७ पछिको परिवर्तन, २०१७ को राजनीतिको उल्टो बाटो र २०४७ को अपुरो प्रणालीको विकल्प भनेर १० वर्षे द्वन्द्व चल्यो। २०७२ को संविधानले स्वीकारेको गणतन्त्र, समावेशी प्रणालीलाई आत्मसात् नगरेकै कारण कतिपयले यो प्रणालीलाई ‘लुटेरा शासन प्रणाली’ को संज्ञा दिएका छन्। सरकार संचालकले देखाउने कमजोरीका कारण गणतन्त्र भीडतन्त्रमा बदलिन सक्छ। फेरि पनि दलहरूको विकल्पमा दल बाहिरबाट समाधान खोजिनुले नेपालको संविधान २०७२ को कार्यान्वयन हुनसक्दैन। २१औं शताब्दीको नेपाली जनता थिचिएको साङ्लोबाट मुक्त भएर अघि जाने बाटो देखाउने हिम्मत डीपी ढकालले ‘समाजवाद र नेपाल’ (२०७८) मा गरेका छन्।

सन् १९४९ मा अल्बर्ट आइन्स्टाइनले समाजवाद किन ? भनेर बहस गरेका थिए। समाजवाद सामाजिक विभेदको अन्त्यतर्फ लक्षित हुनुपर्छ भन्ने कुरामा उनी दृढ थिए। समाजवाद भनेको के हो ? यसको इतिहास कहाँ, कसरी सुरू भन्ने कुरामा समानता भेटिंदैन। नेपालमा गोरखाका राजा राम शाहको समय ‘न्याय नपाए गोरखा जानु’ भन्ने संकथनबाट शासन र जनताको सम्बन्ध बारे केही बोध प्राप्त हुन्छ।

पुरानो समाजमा मन्दिर, चर्च, गुम्बा र मस्जिद शासनसत्ताका केन्द्र थिए। राज्यको ढुकुटी त्यहीं हुन्थ्यो। दासहरूको मुक्तिको घोषणा गर्दा चन्द्रशमशेरले पशुपतिबाट नै रकम लिएका थिए। प्राचीन मिश्रको ईश्वरीय शासन कृषि प्रणालीमा आधारित थियो। राज्यमा संकट आउँदा जनतालाई अन्न वितरण गरेर ईश्वरवादी समाजवाद लागू गरेको धारणा मध्यपूर्वमा छ। १७८९ को फ्रान्सेली क्रान्तिले गरेको परिवर्तनले युरोपमा आधुनिक समाजवादका लागि प्रबुद्धताको युग र औद्योगिक क्रान्तिको युग सुरू गरेको थियो। रूसोको दर्शनमा टेकेर युरोपेलीहरूले पुनर्जागरणको समयमा धेरै सिके र संसारलाई सिकाए।

सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको कम्युनिस्ट घोषणापत्र नै वैज्ञानिक समाजवादको पहिलो दस्तावेज हो। उनीहरूको कथ्यलाई आधार मानेर नै ढकालले समाजवादको बहसमा पाइला चालेका छन्। २०औं शताब्दीको समाजवादको नमूना सोभियत शासन प्रणाली ९०को दशकमा ढल्यो। तथापि, स्टालिनका समाजवादी मान्यतामा सीमा देख्ने ढकालले त्योभन्दा अर्को समाजवादी मोडेल नबनेको स्वीकार्छन्। रुसोले भने जस्तै मानिस स्वतन्त्र जन्मन्छ र ऊ जताततै साङ्लाहरूले बाँधिएको हुन्छ भन्ने तथ्यलाई बुझेर नै यसको समाधान मार्क्सवादी दर्शन अनुसार निजी सम्पत्तिको अन्त्यसँगै समाजवाद सुरू हुने पक्षमा ढकाल छन्। यही संकथनमा समाजवादको राजनैतिक विचारधारा, उत्पादन र वितरण प्रणाली हुनुपर्ने उनको बुझाइ छ।

प्रस्तुत पुस्तकबाहेक, डीपी ढकालका किताबहरूमा नेपाली क्रान्ति–२०६३, अग्नियात्रीका सपनाहरु –२०६४, पर्खालभित्रबाट चियाउँदा राजनीति–२०६५, कम्युनिस्ट आन्दोलनको बहस–२०६७ र पूँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम–२०७६ प्रकाशित भइसकेका छन्। उनको पछिल्लो किताब समाजवाद र नेपाल समाजवादबारे अध्ययन गर्नेहरूका लागि उपयोगी सामग्री बनेको छ।

समाजवाद र नेपालमा लेखकले पृष्ठभूमि, वैज्ञानिक समाजवाद, पूँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थ–राजनीतिको अन्तर्राष्ट्रिय प्रयोगका रुपहरु, अन्तर्राष्ट्रिय आर्थिक संघर्षः अमेरिका–चीन व्यापार युद्ध, नेपालको अर्थ–राजनीति र समाजवाद, नेपाली अर्थ–राजनीतिको समाजवादी कार्यदिशा र निष्कर्ष गरी आठ शीर्षकमा आफ्ना मान्यता अगाडि सारेका छन्।

कार्ल मार्क्सले सुरु गरेको विश्व अर्थ–राजनीतिलाई इमान्युल वालरस्टेन, एजी फ्रान्क जस्ता विद्वानहरूले समृद्ध बनाएका थिए। स्टालिनपछि उदारवादी अर्थ नीति लिएका कारण सोभियत समाजवाद ख्रुश्चेभ, ब्रेझनेभ र गोर्वाचोभको पेरेस्त्रोइका र ग्लासनोस्त हुँदै पतन भएको कुरा नै उनको बुझाइ हो। पहिलो विश्वको आर्थिक नीतिको उत्पीडन कसरी तेस्रो विश्वका जनताले सहनुपर्छ भन्ने चिन्तनको सुरुवात ढकालले गरेका छन्।

ढकालले सुरुवातदेखि नै दुई प्रश्नहरूको अन्तरकुन्तर खोज्ने काममा लागेको हुँदा प्रस्तुत किताब अनुसन्धानको दृष्टिबाट नै अगाडि बढेको छ। उत्पादक शक्तिको विकास केवल आर्थिक प्रश्न मात्रै हो कि अर्थ-राजनैतिक एवम् दार्शनिक प्रश्न पनि हो ? उत्पादक शक्तिको विकास उत्पादनको सामर्थ्यको विकास मात्रै हो कि आर्थिक–सामाजिक रुपान्तरणको औजार पनि ? यिनै प्रश्नहरूको सेरोफेरोमा उक्त किताब घुमेको छ। यी प्रश्नहरूको वास्तविक उत्तर दिन नसक्ने राजनैतिक पार्टीहरूले नेपालको संविधानको समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने कुरालाई अपनाउन नसक्ने ठम्याइ ढकालको हो। नेपाल जस्ता अल्पविकसित र विकासोन्मुख देशहरूमा समाजवादी अर्थ-राजनीतिको नयाँ बाटो पहिल्याउनुपर्ने सोच उनको हो।

समाजवादी शासन प्रणालीका लागि राज्य संरक्षित औद्योगिक पूँजीवाद, राष्ट्रिय उत्पादकत्वमा वृद्धि, उत्पादक साधन माथिको स्वामित्व, राष्ट्रिय आयको वितरण, भूमि नीति र एकीकृत बस्तीको विकास, जनतामा मौलिक अधिकारमा पहुँच, उत्पादन वृद्धिका लागि वैदेशिक लगानी, आर्थिक प्रणालीका लागि कृषि र पशुपालनमा लगानी, औद्योगिक प्रणालीको विकास, जलस्रोत, पर्यटन, शिक्षा, रोजगारी तथा आवासमा जनताको पहुँचलाई ढकालले प्राथमिकता दिएका छन्। गरिबी निवारणका लागि नेपालले धेरै काम गर्नुपर्ने कुरा उनले प्रष्ट्याएका छन्। ढकालका समग्र तथ्यहरूको विश्लेषण हेर्दा पटक–पटक नेपालले २००७ देखिका राजनैतिक क्रान्तिको भोगाइको अन्त्यका लागि राजनैतिक-आर्थिक मुद्दाहरूमा क्रान्तिका उपलब्धि, उत्पादन प्रक्रिया, उत्पादन र प्रकृतिको सम्बन्ध, र तेस्रो विश्वका देशहरू ऋणको जालोबाट मुक्त बनाउने सरकारको नीतिले नै समाजवादको बाटो समात्नेमा ढकालको निष्कर्ष रहेको छ।

२०२१ को अर्थतन्त्रको आकार, मानिसको चिन्तन प्रणाली, उत्पादकत्वका कारण पुरानो भन्दा फरक छ। आजको अर्थतन्त्रमा उद्योगको भन्दा प्रविधि व्यापारको हिस्सा बढी हुनुले मानिस त्रासमा बाँचेको छ। लेखकले पुस्तकमा कम्युनिस्ट चिन्तन प्रणालीका प्रवर्तकहरू मार्क्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट घोषणापत्र, सोभियत सत्तामा व्यवहारमा आएको विचलन र पछिल्लो समयमा चीनले गरेको विकासको मोडेलबाट नेपालले सिक्नुपर्ने बताएका छन्।

बीपी कोइरालाको समयमा समाजवादको कुरा गर्ने नेपाली काङ्ग्रेस २०४७ पछि सरकारले शिक्षा, स्वास्थ्य र उद्योग नचलाई अनुगमन गर्नुपर्छ भन्ने उदारवादको कट्टर आलोचक हुन्। १९७० को दशकमा थ्याचर र रेगन डक्ट्रिनमा टेकेको उदारवादले २१औं शताब्दीमा तेस्रो विश्वको समस्या हल गर्न नसक्ने ठम्याइ ढकालको छ। २०४० पछि र विशेषगरी २०४७ को संविधानपछि पश्चिमाशैलीको उदारवादमा रमाएको नेपाली अर्थतन्त्रलाई समाजवादमा हिंडाउन कठिन देखिन्छ।

आज नेपाली जनताले आन्दोलनको सैद्धान्तिक आवरण शासनको व्यावहारिकता पुष्टि हुनुपर्नै कुरा गर्छन्। यसका लागि उचित लक्ष्य, नीति, संगठन र जनसमर्थनसहितको पार्टी हुनुपर्ने उनको निष्कर्ष छ। यसका लागि आवश्यक बौद्धिक बहस र चिन्तनको विकासले मात्र समाजवादको यात्राको चित्र देख्न सकिन्छ।

वैचारिक कोरापनबाट मुक्त बनेर नेपाली समाजको विविधता अनुसारको समाजवादको बहस हुनुपर्ने कुरा ढकालको छ। यसका लागि राजनैतिक पार्टी, बुद्धिजीवीहरूको सीमा के हुने भन्ने कुराको निरुपण राजनीतिमा नै निहित रहेको देखिन्छ। राष्ट्रिय पूँजीको विकास गरेर उत्पादनमा वृद्धि नगरेसम्म देश समाजवादमा जान सक्दैन। सत्य कुरा लेख्न र किताबमार्फत भन्न नहिच्किचाउनु नै ढकालको किताबमा पाइने नयाँपन हो। अर्थतन्त्रको चाबी दलाल तथा नोकरशाही र राजनीतिको चाबी समाजवादी हुँ भन्नेहरूको हातमा भएको विरोधाभासपूर्ण अवस्थामा नेपाली समाज हिंडेको छ। मार्क्सवादी आँखाबाट हेर्दा दलाल तथा नोकरशाही खुसी नहुनुपर्ने तर भएको समय हो यो। त्यस्तै दलाल तथा नोकरशाहीको आँखाबाट हेर्दा रुपान्तरणकारी समाजवादी नहुनुपर्ने राजनीतिमा हामी जोडिएका छौं।

नेपाली समाजका फरक–फरक पोयालाई हेरेर फेरि पनि भन्नुपर्ने भएको छ कि नेपाली समाज छिट्टै निकासको बाटोमा हिंड्नेछ। नेपाली समाजवादको बाटोमा ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पूरा गर्न उत्पादन वृद्धि र आयको वितरणमा नयाँपन दिनै पर्छ। युवा शक्तिलाई विदेश पठाएर  आन्तरिक उत्पादनमा वृद्धि हुनसक्दैन। उत्पादनमा वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास, भू-नीतिमा परिवर्तन र नयाँ बस्ती विकास, संवैधानिक अधिकारको प्रत्याभूति, कृषि र पशुपालनको विकास, औद्योगिकीकरणको थालनी, जलस्रोतको उपयोग, पर्यटनको विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधारले मात्र देशलाई अहिलेको अवस्थाबाट अर्को रुपमा लैजाने ढकालको बुझाइ छ।

(प्राध्यापन त्रिवि)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?