+
+

भुटानसँगको हार स्वीकार्न गाह्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १३:१०

२६ भदौ, काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २-० ले पराजित भयो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा गोल गरे ।

अघिल्लो महिना भारतमा भएको साफ यू-१९ च्याम्पियनसिपमा सहभागिता नजनाएको भुटानले यू-२० एसियन कप छनोटमा भने नेपाललाई हराएर सानदार सुरुवात गर्‍यो । भुटानले दुवै गोल काउन्टर हट्याकमा गरेको थियो ।

प्रशिक्षक केसीले भुटान विरुद्धको हार स्वीकार्न नसक्ने बताए । ‘पक्कै पनि नतिजाको हिसाबले नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौं,’ प्रशिक्षक केसीले खेलपछि भने ।

ढिलो बहराइन पुग्नु र त्यहाँको गर्मी मौसममा घुलमिल हुनै नपाइ मैदान उत्रिनुलाई नै नेपालको हारको कारण मानेका छन् उनले । भुटान १० दिनअघि नै बहराइन गएर त्यहाँको मौसममा घुलमिल भएको थियो । नेपाली टिम भने प्रतियोगिता अघि मात्र बहराइन पुगेको थियो ।

‘हामी एक दिनअघि मात्र बहराइन आइपुग्यौं । हामी यहाँको टाइम, यहाँको तापक्रममा घुलमिल हुन सकेको छैनौँ । जस्तो खेलाडीहरु धेरै जना बिरामी भए, खेलाडीहरुको ज्यानमा शक्ति नै नभएको जस्तो भयो । हिजो हामीले एक दिन ट्रेनिङ गर्यौं । त्यसले झन घाटा गर्यो, एक दिनमै एडजस्ट हुन सक्ने भएन,’ उनले भने ।

भुटानसँगको हारपछि निराश देखिएका केसीले थपे, ‘भुटान जस्तो देश १० दिनअघि आएर यहाँ घुलमिल भइरहेको छ । हामीले एउटा ट्रेनिङ सेसन पनि राम्रो गर्न पाएनौं । तर पनि यो नतिजा स्वीकार योग्य छैन ।’

पहिलो खेलमै भुटानसँग हारेके नेपालका लिग छनोटको समूह बीका बाँकी खेल झन् चुनौतीपूर्ण बन्ने भएको छ ।

नेपालले अब सोमबार बलियो टिम कतारसँग खेल्नेछ । यस्तै बहराइनसँग बिहिबार र बंगलादेशसँग आउने आइतबार खेल्नेछ । प्रशिक्षक केसीले अब हुने खेलमा कस्तो प्रदर्शन गर्ने भन्ने विषय खेलाडीको रिकभरीमा भर पर्ने बताए । ‘अब दुई रात रेस्ट छ । दुई दिनपछि बेलुका खेल छ । अब खेलाडीहरु कति रिकभर हुन्छन् त्यसमा भर पर्छ ।’

भुटान विरुद्ध इन्जुरी टाइममा रेड कार्ड पाएका अभिषेक वाइवा कतार विरुद्धको खेलमा हुने छैनन् ।

भुटानसँग लगातार हार

दक्षिण एसियाली फुटबलमा भुटानलाई तुलनात्मक रुपमा कमजोर मानिदै आएको छ । तर पछिल्लो समय भुटान फुटबल फेडेरेसनले उमेर समूहमा एकेडेमी सञ्चालन गर्दै फुटबलमा सुधार गरिरहेको छ । भुटानले उमेर समूहदेखि नै जोड दिँदै आएकोले अहिले त्यसको नतिजा देखिएको हो ।

नेपाल उमेर समूहमा भुटानसँग पराजित भएको यो पहिलो पटक भने होइन । सन् २०१७ र २०१९ मा भएको साफ यू-१८ च्याम्पियनसिपमा पनि नेपाल भुटानसँग पराजित भएको थियो । २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १-० ले पराजित भएको थियो । यस्तै २०१९ मा काठमाडौंमै भएको प्रतियोगितामा नेपाल भुटानसँग ३-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?