+
+

अग्रज खेल पत्रकार जयदेव र युवा पत्रकार गीता सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:४०

काठमाडौं, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७ औं स्थापना दिवस मनाउने क्रममा मञ्चले जयदेव गौतम र गीता राईलाई सम्मान गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी(एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए ।

‘हाम्रो समयमा औंलामा गणना गर्न सकिने खेलपत्रकार थियौं । तर, पछिल्ला समय धेरै पत्रकार नेपाली खेलकुदमा सक्रिय छन् र यसले नेपाली खेलकुद पनि विकास हुँदै गएको बुझ्न सकिन्छ,’ उनले भने, ‘खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्न चाहन्छु । यसले नेपाली खेल पत्रकारितालाई अझ सम्मानित स्थानमा पुर्‍याउनेछ ।’

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिइन् ।

सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा गरे ।

उनले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको उल्लेख गर्दै मञ्चको २७औं स्थापना दिवसका अवसरमा सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे । मञ्चका अध्यक्ष सुबेदीले पनि स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?