+
+

संसदको संभावित कार्यसूचीमा परेन टीआरसी विधेयक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:५३

२८ भदौ, काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको संभावित कार्यसूचीमा टीआरसी विधेयक ( बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) परेको छैन ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बुधबार प्रतिनिधिसभामा टीआरसी विधेयकको प्रतिवेदन पेश गर्ने भनेको थियो ।

आइतबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबारको प्रतिनिधिसभाको बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने बताएका थिए । सोही अनुसार समितिमा रहेका सदस्यहरुबीच सोमबार अनौैपचारिक छलफल भएको थियो । तर, मंगलबार कुनै किसिमको छलफल हुन सकेन् ।

टीआरसी विधेयकमा सरकार र प्रतिपक्षीका बीचमा कुरा मिलेको छैन् । हत्या र गम्भीर प्रकृतिका यौनजन्य हिंसालाई गम्भीर मानव अधिकार उलंघनको परिभाषाभित्र राख्नुपर्नेमा नेकपा एमालेको अडान छ । तर, संक्रमणकालिन न्याय सामान्य प्रकृतिको मुद्दामामिला जस्तो विषय नभएको भन्दै सरकार र सत्तारुढ गठबन्धन एमालेले भने अनुसार विधेयक संशोधन गर्न तयार भएको छैन् ।

दुबै पक्षले भने अनुसार अगाडि बढाउन नसकिने भएपछि हत्यालाई पनि परिस्थितिजन्य विश्लेषण गरी वर्गीकरण गर्ने र कुन कुन प्रकृतिका हत्या गम्भीर मानव अधिकार उलंघनभित्र पर्ने भनेर तोक्ने विषयमा पनि दलहरुका बीचमा छलफल चलेको छ । तर, सत्ता गठबन्धन यसका लागि समेत तयार भएको छैन् ।

संसदीय समितिले प्रतिवेदन तयार भएको जानकारी नगराएका कारण बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफल गर्ने विषय संभावित कार्यसूचीमा पर्न नसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?