+
+
विचार :

‘फिल्म बनाउन एउटा बन्दुक र केटी भए पुग्छ’

प्रवीण प्रवीण
२०७९ भदौ २९ गते १३:०७
फिल्म निर्देशक जाँ लुक गोडार्ड

म उसलाई यसरी सम्झिन्छु–

एउटा पुरानो थिएटर छ । यो थिएटर लगभग सन् १९६० तिर बन्द भएको हो । संचालनमा कहिले आएको थियो, म यकिन साथ भन्न सक्दिनँ । यो ठाउँमा या भनौं यो ठाउँको समय कतै हराएको छ । यो कुन साल हो, मलाई ज्ञान छैन । यो थिएटरभित्र एकप्रकारको गन्ध छ । नमीठो होइन, मीठो पनि छैन । यो गन्ध नौलो त हुँदै होइन, नाकले सुँघिरहेकै गन्ध हो । तर यो गन्ध के को हो भन्ने कुरा मेरा नाकका नलीहरूले खुट्याउन सकिरहेका छैनन् ।

ऊ यो थिएटरमा वर्षौंदेखि थुनिएको छ, या उसले आफैले आफैलाई यहाँ कैदी बनाएको हो, यो कुरा ऊ नै जान्दछ । यहाँ धुलोहरू स्वतन्त्त्र भइ हावामा उडिरहेका छन् । यहाँ धुवाँको मुस्लो छ । कतै आगो सल्किरहेको छैन । तर यस्तो धुवाँको मुस्लो जङ्गलमा डढेलो लाग्दा मात्र निस्किने गर्छ । यी धुवाँका मुस्लोहरूमा छुट्टै आजादी छ, यिनले मेरो श्वासप्रस्वासमा कुनै बाधा पुर्याएका छैनन् । न मेरो दृष्टि कुनै आँच आइरहेको छ । यहाँ म निसासिरहेको छैन । यस्तो लाग्छ म कुनै खुल्ला चहुरमा छु, जहाँ सुस्तरी बतास चलिरहेको छ ।

एक मुठो धुवाँ सर्पको चालमा मेरो गर्धनलाई छोएर मेरो कानछेउ आउँछ र लडिबुडी खेल्न थाल्छ । कोक्रोमा रोइरहेको बच्चा जसरी छट्पाउँछ । र केही फुसफुसाउँछ । त्यो बोली, त्यो वाक्य म बुझ्दिनँ तर त्यो भाषा बुझ्छु । मेरो कानमा त्यो धुवाँको मुस्लोले फ्रेन्चमा केही बर्बराउँछ । ती शब्दलाई म चिन्दिनँ तर त्यसको आसय भने ठम्याउँछु । त्यो एक मुठो धुवाँ म अघिअघि उड्न थाल्छ । म त्यस धुवाँको लर्कोलाई पछ्याउन थाल्छु । जस्तो कि त्यो धुवाँ यस थिएटरको गाइड हो । केयरटेकर हो । सुरक्षागार्ड हो, जसले आफ्नो मालिकलाई भेटाउन मलाई डोर्याइरहेको छ ।

कुर्सीहरूको बीचमा बनेको बाटो हुँदै, धुवाँको पछिपछि म ऊ बसिरहेको ठाउँमा पुग्छु । त्यो एक मुठो धुवाँ उसको ओठमा अडिएको चुरोटमा गएर फेरि टांसिन्छ । कस्तो आफ्नै अस्तित्वलाई उल्टाएको धुवाँ रहेछ, जहाँबाट निस्किनु पर्ने हो त्यही पो पसिरहेको छ । ऊ मेरो उपस्थितिको वास्ता नगरि चुरोट तानिरहेको छ । उसको काखमा उसैले बनाएका सिनेमाका रिलहरू गुजुल्टिएका छन् । ऊ त्यसलाई ओल्टाइपल्टाइ गरिरहेको छ ।

प्रवीण

आफ्नो चुरोटलाई ऊ मुखमै च्यापिरहन्छ र एउटा रिलको दृश्यमा एकोहोरिरहन्छ । उसले कालो चश्मा लगाएको छ । उसको अनुहार त्यति आकार्षित गर्ने खाल्को त होइन, तर जब जब ऊ आफ्नो ओठमा सिगार या चुरोटको ठुटो अड्याउँछ, ऊ कुनै कवि जस्तो लाग्छ, कुनै दार्शनिक जस्तो देखिन्छ, ऊ एकाएक कसैले बनाएको विचित्रको पेन्टिङ रुपान्तरण हुन्छ । हुन त ऊ आफूलाई पेन्टर हुँ पनि भन्छ, जोसँग कुची छैन, बरु अक्षरहरू छन्– जसलाई ऊ पुनः स्थापित गर्न चाहन्छ र ती अक्षरहरूमा बोली र दृश्य घोलेर सबथोक भन्न चाहन्छ ।

सायद अगाडिको कपाल झरेर होला उसको निधारको क्षेत्रफल बढेको छ । त्यस निधारको परिसरमा, अघि कोक्रोमा रोइरहेको काल्पनिक बच्चाले आफ्नो फुच्चे गाडीलाई कुदाउँन पनि सक्छ । ऊ बोल्दैन । ऊ चुप छ । ऊ गुजुल्टिएको रिलमा खै कुन्नि कस्ता गुज्मुजिएका दृश्य खोजिरहेको छ !

‘कोही किन बोल्नु पर्छ । कसैलाई किन मुख खोल्नै पर्छ । चुपचाप किन बस्दैन मान्छे । धेरै बोलेर ऊ शब्दहरूलाई नै मारिरहेको छ ।’ – उसको मौनता मेरो कानमा बर्बराउँछ र त्यसले एकपछि अर्को गर्दै मेरो कानको प्वालमा एकालापका ससाना ढुङ्गाहरू छिराउन थाल्छ–

‘मान्छेहरू मान्छेहरूलाई मात्र ध्यान दिन्छन्, मान्छेहरू किन समानहरूलाई पढ्दैन, किन चिजहरू बेवास्ता गर्छन् । यी निर्जीव वस्तुहरू यहाँ सास फेरिरहेका छन् । बाँचिरहेका छन् । एउटा बाँचिरहेको छु भन्ने मान्छे बरु मरिसकेको छ, जुन सत्यलाई उसले बुझिरहेको छैन ।’  – सायद यही कारणले होला, उसले मेरो अस्तित्वलाई मृत घोषणागरि ऊ त्यो सिनेमाको रिलमा जीवन खोजिरहेको छ ।

ऊ ती रिलहरूको थुप्रोलाई भुईंमा छोडिदिन्छ र थिएटरको पुरानो प्रोजेक्टर चलाउन थाल्छ । त्यहाँ उसैले बनाएको फिल्म चल्न थाल्छ । म उसको छेउको कुर्सीमा गएर बस्छु । ऊ मलाई म त्यहाँ छुइनँ जस्तै गरि बेवास्ता गर्छ । पर्दामा फिल्मको नाम देखिन्छ– À BOUT DE SOUFFLE – यानिकी निसास (ब्रेथलेस) । मलाई फ्रेन्च आउँछ भन्न खोजेको होइन, पर्दाको तल अङ्ग्रेजीमा लेखिएको सब्टाइटल भने पढ्न सक्छु ।

फिल्मको सुरुमै मुख्य पात्रले आफूलाई ‘आर्सहोल’ हुँ भन्छ । पात्रले यसो भनिरहँदा म उसलाई हेर्छु । एउटा आर्टिस्टले, एउटा लेखकले, एउटा फिल्ममेकरले जहिलेपनि आफूलाई आफ्नो पात्रहरूको पछाडि लुकाउँछ भन्ने कुरामा मेरो मगज विश्वस्त छ । ऊ चुपचाप आफ्नो पात्रलाई हेरिरहेको छ । उसको अनुहारमा केही परिवर्तन आएको छैन । पर्दामा त्यो पात्र आफू अनि दर्शकसँगै धेरै बोलिरहेको छ । सायद, ऊ पनि अहिले आफूभित्रै आफूसँगै बातचित गरिरहेको होला !

फिल्मको कथा त्यस्तो खास केही पनि छैन । एउटा चोर गाडी चोरेर भाग्ने क्रममा हडबडीका कारण एउटा पुलिसको हत्या गर्न पुग्छ । अब ऊ आफ्नी प्रेमिका, जो एक पत्रकार हुन्छे, जो बाटोमा पत्रिका पनि बेच्छे, ऊसँग इटाली भाग्न चाहन्छ । तर ऊसँग पैसा हुँदैन, त्यसैले पेरिसका गल्लीहरूमा पुलिसबाट लुक्दै यसै भौंतारिरहन्छ ।  फिल्मको कथा सामन्य भएतापनि, फिल्मलाई उसले उत्कृष्ट तरिकाले बनाएको छ । ‘एउटा कथामा सुरुआत, बीच र अन्त्य हुनुपर्छ, तर कथा क्रमशः त्यही लयमा बग्नु पर्छ भन्ने छैन ।’ – उसको मौनता मेरो कानमा फेरि फुसफुसाउँछ ।

उसको यो फिल्मले फ्रेन्च सिनेमामा नयाँ आयाम ल्याएको हो । फिल्म समीक्षक भएर आफ्नो करियर सुरू गरेको उसले आफूलाई कहिलेपनि फेन्सी फ्रेन्च सिनेमाको दर्शक भन्न रुचाएन, त्यसैले उसले ती फिल्महरूको आलोचना गरिरह्यो । र सायद केही गर्दा पनि चित्त नबुझेपछि ऊ आफै सिनेमा बनाउन थाल्यो । यो उसको पहिलो सिनेमा थियो, जसले फ्रेन्च सिनेमा ‘न्यु वेभ’ ल्यायो । कथालाई यसरी पनि भन्न सकिन्छ, पात्रलाई यथार्थरुपमा देखाउन सकिन्छ, साउन्डको प्रयोगदेखि लिएर क्यामेराले देखाएको ‘जम्प कट’को जादुले फ्रासका दर्शकहरूलाई मात्र होइन, पूरा विश्व सिनेजगतलाई आश्चर्य बनाइदियो । यो सिनेमाले मान्छेको संवेदनाभन्दा बढी मान्छेको नैतिकतामा खेलेको छ । यो उसले बनाएका सिनेमाहरू एउटा विशेषता पनि हो । यहाँ पात्रहरू अभिनय गरिरहेका छैनन्, बरु जिन्दगी बाँचिरहेका छन् । पात्रहरू दर्शकसँग संवाद गरिरहेका छन् र दर्शकहरू पनि पात्रहरूकै जिन्दगी बाँचिरहेका छन् ।

एउटा सिनमा ऊ आफू नै पत्रिका पढिरहेको पात्रमा देखिन्छ । म ऊतिर पुलुक्क आँखा तेर्साउँछु । आफूलाई पर्दामा देखेर उसको ओठमा एउटा फिक्का मुस्कान झुल्केको छ । “मलाई थाहा छैन, म दुःखी भएर स्वतन्त्र छैन कि स्वतन्त्र नभएर दुःखी छु !” – पात्रहरूको यस्तो अस्तित्ववादी संवादले कताकता मलाई घोचिरहन्छ ।

अन्ततः फिल्म सकिन्छ । उसको मौनता फेरि मेरो कानमा गुन्गुनाउँछ–

‘फिल्म बनाउनलाई एउटा बन्दुक र केटी भए पुग्छ ।’

ऊ भुइँमा छरपस्ट रिलहरूको मुठोलाई एकखट्टा गर्न थाल्छ । उसको ओठमा चुरोटको ठुटो उसैगरि टांसिएको छ । ऊ त्यो रिलको मुठो लिएर पर्दा भएतिर लम्किन्छ । म उसलाई बोलाउँछु । उसको नाम नै काडेर– “जाँ लुक गोडार्ड..” । ऊ मतिर फर्किन्छ ।

“तिमीले आफ्नो जिन्दगीको उद्देश्य भेटायौ ?”

उसको निधार खुम्चिन्छ । सायद उसको कालो चश्मा पछाडि आश्चर्य भरिएका आँखा अलिक ठूला भएका हुँदा हुन् । एक युग देखि चुप बसेेको उसको मुख खुल्छ–

“हो, म अजम्मरी भएको छु । र अब मैले मर्नु पर्छ ।”

यति बनेर ऊ त्यो पर्दाभित्र हाम फाल्छ र बिलाउँछ । अहिले मेरो नाकले यो अजीब गन्हाइरहेको गन्धलाई ठम्याइसकेको छ । यो गन्ध उसको गिदीबाट आएको सिनेमाको गन्ध हो । उसका सिनेमाहरूको गन्धले विश्व सिनेजगतमा एउटा गहिरो, चिन्तनशील र दार्शनिक सुवास छोडेको छ ।

म ‘जाँ लुक गोडार्ड’लाई यसरी सम्झिन्छु ।

***

प्रिय गोडार्ड,

तिमीलाई भेट्नुभन्दा पहिले म सिनेमालाई बस् मन पराउथेँ । तिमीलाई भेटेपछि मैले सिनेमालाई प्रेम गर्न थालेँ । म तिमीलाई सायदै याद गर्नेछु । तर म तिम्रा आत्ममोहित र स्वतन्त्र पात्रहरू अवश्य सम्झिनेछु । तिमीले आफ्ना सिनेमामा छाडेका राजनैतिक बिचार, उग्रवादका झिल्काहरू, विपत्तिका उदेकलाग्दा दृश्यहरूलाई याद गर्नेछु । तिमीले देखाएका चमत्कारिक ‘लङ सट्स’ र ‘जम्प कट्स’हरूलाई त म सायदै बिर्सिन सकुँला !

कुनैदिन म बाटोमा पत्रिका बेचिरहेकी प्रेट्रिसालाई भेटेर प्रेम गर्नेछु । ब्रुनोले भेरोनिकाको फोटो खिचिरहेको त्यो क्यामेरा मागेर म उनीहरू दुबैको फोटो खिच्नेछु । सार्लोतले फेसन म्याग्जिनलाई नियालिरहँदा, म उसलाई नियालिरहेको हुनेछु । पेरियतले आफ्नै अनुहारको पेन्टिङ बनाइरहँदा, म त्यो अनुहारमा तिम्रो अनुहार खोज्ने छु । अल्फा ६०सँग तिम्रो र तिम्रा सिनेमाको बारेमा घण्टौं गफ पनि गर्नेछु र ‘भाषालाई अल्बिदा’ भनेर एकपटक फेरि उदास हुनेछु ।

गोडार्ड,

दुनियाँ उदास छैन, बस् ठूलो छ । म तिमीसँग बसेर फेरि तिमीले बनाएका सिनेमाहरू हेर्नेछु । तिम्रो मौनतालाई फेरि सुन्नेछु– ओ रव्वार, माइ फ्रेन्ड !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?