+
+

डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो, एकै दिन थपिए १२३०

चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन हुँदै

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ भदौ २९ गते १८:३४

२९ भदौं, काठमाडौं । नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन् । बुधबार थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । मंगलबारसम्म नौ हजार ८३५ जना संक्रमित थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण झन् भयावह रुपमा वृद्धि भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको इडीसीडीले जनाएको छ । बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, गण्डकीमा २२४, मधेशमा १९८ र कर्णालीमा १६२ जनामा डेंगुको संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउनयता डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएकाले सरकारले डेंगुको सेरोटाइपिङको अनुसन्धान गरिरहेको जनाएको छ ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार सेरोटाइपिङका हुन्छन् । डेंगु नेपालमा सन् २००४ मा देखिएको थियो । त्यसपछि हरेक बर्षजसो देखिदै आएको छ । सन् २०१९ मा डेंगु २ फैलिएको थियो ।

महाशाखा अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगु कुन सेरोटाइपिङले गर्दा फैलिएको हो यकिन गर्न अनुसन्धानको काम भइरेहको बताए ।

‘हामीले केन्द्रीय ९ वटा अस्पतालसँग समवन्य गरेर अध्ययन गरिरहेका छौं । जसबाट ३५० वटा नमुना लिएर कुन सेरोटाइपिङको भाइरस फैलिरहेको छ भनेर अनुसन्धान गरेका छौं,’ दाहालले अनलाइखबरसँग भने ।

त्यसैगरी, ‘भेक्टर सर्भिलेन्स’ अध्ययन भइरहेको इडिसिडीले जनाएको छ । ‘भेक्टर सर्भिलेन्स’ किटजन्य रोग सार्ने किटाणुहरुको चालचलन, आनीबानी, तिनीहरुको प्रकार, स्वरुप परिवर्तन, भौगोलिक अवस्थितिलगायतका विषयमा अध्ययन गर्ने एउटा विधि हो ।

‘कुन जातको लामखुट्टे बढी छ ? कस्तो ठाउँमा अण्डा उत्पादन गरिरहेका छन् यस्ता विषयवस्तु थाहा पाउन भेक्टर सर्भिलेन्स गछौं,’ दाहालले भने, ‘डेंगु कति समयसम्म फैलिनसक्छ भनेर यकिन गर्न यो अध्ययनले थप मद्धत गर्छ ।’

त्यस्तै, डेंगु लक्षण लिएर आउने कतिपयमा दोहोर्‍याएर परीक्षण गर्दा नेगेटिभ आएकाले सरकारले अन्य कुनै भाइरस मिसिएको आशंका मा चिकुनगुनिया, जिका भाइरसको अध्ययन तथा अनुसन्धान गर्ने गरेको छ । दाहालका अनुसार जसका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ‘पाइलट प्रोक्जेट’को रूपमा अनुसन्धानको काम भइरहेको छ ।

‘अधिंकाश डेंगुका लक्षण भएका बिरामीमा डेंगु नेगेटिभ आइरहेको पाएका छौं । डेंगु एडिस एजेप्टाई नामक लामखुट्टेले चिकुनगुनिया, जिका भाइरसको संक्रमण गर्ने हुँदा अनुसन्धान गर्न लागेका हौं,’ दाहालले भने ।

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्नुपर्छ ।

साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ । यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?