+
+

विनोद भण्डारीको विस्फोटक ब्याटिङमा आर्मीले पुलिसलाई हरायो, सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते २०:२७

२९ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेको छ । यस खेलसँगै सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।

विभागीय भिडन्तमा जित हात पार्दै पाँच खेलबाट ८ अंक जोड्दै आर्मी समूह ए को विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

पराजित भए पनि ५ खेलबाट ६ अंक जोड्दै कर्णालीलाई नेट रनरेटमा पछि पार्दै पुलिस समूह ए को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । आर्मीले अब समूह बी को उपविजेता सुदूरपश्चिमसँग सेमिफाइनलमा खेल्नेछ ।

समूह बी को विजेता एनआरएनए एकेडेमीसँग समूह ए को उपविजेता पुलिसले सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

भण्डारीको विष्फोटक ब्याटिङ

कप्तान विनोद भण्डारीले आक्रमक ब्याटिङ गर्दै ६६ रन बनाएपछि टस जितेर त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो । २९ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाएका हुन् ।

पहिलो १० ओभरमा ७७ रन बनाएपछि क्रिजमा पुगेको विनोद पुलिसका सबै बलरमाथि हावी बने । आर्मीले दोस्रो १० ओभरमा १०० रन जोडेको थियो । आर्मीका लागि ओपनर अर्जुन साउदले ३४ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए ।

यस्तै भीम सार्कीले १५ तथा रिहत पौडेल र राजेश पुलामीले समान १४ रन बनाए । पुलिसका करण केसीले २ तथा गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए ।

१७८ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरमा ८ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो पुलिसका जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । क्रिजमा योगेन्द्र सिंह्य कार्की र करण केसी थिए । तर उक्त ओभरमा पुलिसले २ विकेट गुमाएर जम्मा ३ रन मात्र जोड्न सक्यो ।

आर्मीका सोमपालले करणलाई आउट गर्दा योगेन्द्रलाई रोहित पौडेलले रनआउट गरे । पुलिसका लागि आरिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले २४ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर सुनिल धमलाले २७, विकेटकिपर दिलिप नाथले २३, कप्तान दीपेन्दर सिंह ऐरीले २१, योगेन्द्र सिंह कार्कीले १४ र पवन सर्राफले १३ रन बनाए । आर्मीका लागि सोमपाल कामी र शाहब आलमले २-२ तथा जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?