+
+

‘महाभियोग सिफारिस समितिले आफ्नो सीमा बुझेन’

कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
२०७९ भदौ ३० गते १५:०७

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आफ्नो कार्यादेश अनुसार जो विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो, उसलाई बोलाएर अभियोगबारे आफ्नो कुरा भन्ने अवसर दिनु न्यायोचित हो । जुन काम समितिले गर्नुपर्ने थियो, त्यो गरिरहेको छ ।

महाभियोग सिफारिस समितिले गर्ने न्यायिक कारवाही नै हो । जुन विषयमा सोध्नुपर्ने हो स्पष्टसँग सोध्ने, जवाफ लिने र निर्णय गर्नुपर्ने विषयमा निर्णय लिनु नै सिफारिस समितिको काम हो ।

तर महाअभियोग सिफारिस समितिमा महाअभियोग प्रस्ताव दर्ता भएका व्यक्ति (प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा) को बयान होइन, भाषण भइरहेको देखियो । बयान र भाषणका बीचमा अन्तर हुन्छ । (चोलेन्द्रविरुद्ध) जुन आरोप र प्रश्न छ, त्यसमा सीमित रहेर उनलाई आफ्नो जे प्रतिवाद छ, त्यो गर्न दिने हो, त्यसका सबुद प्रमाण पेश गर्न दिने हो र ती प्रमाणको वस्तुनिष्ठता प्रमाणित गर्ने हो ।

महाअभियोग सिफारिस समितिले हामी (चार पूर्वप्रधानन्यायाधीश) लाई पनि बोलाउने निर्णय गरेको रहेछ । तर महाभियोग प्रस्तावको कुन बुँदा अन्तर्गत हामीसँग सोधपुछ गर्नुपर्ने हो ? अभियोगको कुन बँुदा अन्तर्गत हामी आकर्षित हुन्छौं ? कहिँ त खुलेको हुनुपर्छ । महाभियोग सिफारिस समितिको कार्यक्षेत्रभित्र हामी कसरी पर्छौ ? के सिफारिस समितिमा हाम्रो बारेमा उत्खनन भइरहेको हो ? हाम्रो बारेमा अभियोग लागिरहेको हो ? के हामीलाई अभियोग लाग्न सक्ने सम्भावना छ ?

प्रतिनिधिसभाले महाअभियोग सिफारिस समितिलाई खास व्यक्तिका बारेमा छानबिन गर्नू भनेर जिम्मा लगाएको हो । खास व्यक्तिबाहेक अरु व्यक्तिका बारेमा उत्खनन गर्न, अनुसन्धान गर्न भनेको छैन । कसैले भन्यो भने पनि समितिले प्रस्तावमा उल्लेख भएका व्यक्तिबाहेक थप व्यक्तिउपर दावी गर्न पनि मिल्दैन ।

दावीको विस्तार हुन सक्दैन, दावी उनैमाथि केन्द्रित छ भने उनैमाथि सामेल हुने कि असान्दर्भिक अन्य व्यक्तिको बारेमा उत्खनन गरेर हिँड्ने ? प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, न्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीशको नाम लिएको भन्दैमा सबैलाई बुझ्न आवश्यक छ ?

के महाअभियोग सिफारिस समितिमा सारा संसारमाथि अनुसन्धान भइरहेको हो र ? यो प्रक्रियालाई वाञ्छित हदभित्र नराखेको कारणले अनावश्यक रुपमा समय लम्बिएको छ, अनुसन्धान ठीक ठाउँमा पर्न सकेको छैन ।

सिफारिस समितिले गरिरहेका यी कुराहरु सान्दर्भिक छैनन् । उनले (चोलेन्द्रले) भनेका व्यक्तिलाई बुझेर के गर्ने ? बुझेर महाभियोग सिफारिस समितिले थप अभियोग लगाउछ ? थप केही प्रमाणित गर्नुपर्ने छ र ? सिफारिस समितिले आफ्नो सीमा बुझेको भए राम्रो हुन्थ्यो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?