+
+

सगरमाथा आरोहीले पाउनेछन् अब परिचयपत्र, कसरी लिने ?

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ ३० गते १७:५८

३० भदौ, काठमाडौं । सरकारले सगरमाथा आरोहीको पहिचानका लागि अब ब्याच र परिचयपत्र दिने भएको छ । सगरमाथा हिमालको सफल आरोहीलाई कदर र सम्मान गर्न सरकारले अब औपचारिक ब्याच  र परिचय पत्र दिन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सोही अनुसार मन्त्रालयले ब्याच तथा परिचयपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि तयार पारेको छ ।

कार्यविधि अनुसार सगरमाथा आरोहीले ब्याच तथा परिचयपत्र प्राप्त गर्न पर्यटन विभागमा तोकिएको ढाँचामा निवेदन दिनु पर्छ । ती निवेदनको परीक्षण गरी निवेदकलाई सम्मान स्वरुप विभागले ब्याच र परिचय पत्र प्रदान गर्ने भएको छ । निवेदन जुनसुकै माध्यमबाट पेश गरेपनि ब्याच र परिचपय पत्र प्राप्त गर्न भने आरोहीले स्वयमः विभागमा उपस्थित हुनु पर्ने कार्यविधिमा उल्लेख छ । ब्याच र परिचयपत्रको अभिलेख विभागमा राखिने छ । यस्तो विवरण हरेक वर्ष प्रकाशन हुने ‘फ्याक्ट र फिगर’ पुस्तकमा प्रकाशित हुने भएको छ ।

छुट, सुविधा र सहुलियत माग्न नपाइने

यसरी पाइने ब्याच र परिचय पत्र आरोहीको सम्मानका लागि मात्र भएकाले आरोहीले यसलाई कुनै पनि प्रकारको सेवा, सहुलियत, सुविधा वा छूटमा दावि गर्न पाइने छैन । यसरी मागेको पाइएमा ब्याच र परिचय पत्रको दुरुपयोग गरेको मानिनेछ ।

मन्त्रालयका अनुसार यस्तो प्रकृतिको ब्याच तथा परिचयपत्रले राज्यको हिमाल आरोहण बाहेक अन्य कुनै पनि पहिचानको आधारलाई जनाउँदैन । आरोहीले ब्याच र परिचय पत्र हराएमा पुनः प्राप्त गर्न नसक्ने तर, विभागले तोकेको शुल्क तिरेर भने पुनः प्राप्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

कुन–कुन आधारमा पाइन्छ ब्याच र परिचयपत्र ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभागबाट निवेदकले प्राप्त गरेको आरोहण प्रमाणपत्रलाई आधार मानिनेछ ।

पर्वतारोहण सञ्चालन गरेको एजेन्सीको सिफारिस पत्र र ब्याच तथा परिचय पत्र वितरण कार्यलाई नियन्त्रण गर्न मन्त्रालय र विभागले तोकेका अन्य आधारका आधारमा सरकारले आरोहीलाई प्रमाण पत्र र ब्याच दिने भएको छ । यसरी वितरण गरिने परिचय पत्रको पृष्ठभूमिमा सगरमाथाको तस्वीर रहने छ ।

कुन आधारमा निष्क्रिय हुन्छ ?

कार्यविधि अनुसार पर्वतारोहीले आरोहण गरेको तथ्य अन्यथा पुष्टि भई पर्वतारोहण गरेको प्रमाणपत्र खारेज भएमा ब्याच र परिचय पत्र समेत स्वतः खारेज हुने भएको छ ।

ब्याच तथा परिचयपत्रको दुरुपयोग गरेको वा अनधिकृत रुपमा प्रयोगमा ल्याएको पाइएमा समेत सरकारले यस्तो सुविधा खोस्न सक्ने भएको छ ।

मन्त्रालय तथा विभागले कुनै सूचना प्रकाशन गरी ब्याच तथा परिचयपत्र प्रयोगमा रोक लगाएको अवस्थामा समेत ब्याच अमान्य हुनेछ । ब्याच तथा परिचय पत्र निष्क्रिय भएमा सो ब्याच र परिचयपत्र विभागमा अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?