+
+

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

रासस रासस
२०७९ भदौ ३१ गते १८:०८

३१ भदौ, धनुषा। पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधि अनुसार सुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा, खाय’ अर्थात् नुहाएर खानु भनिन्छ ।

भोलि शनिबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेका बर्तालु महिलाले पर्सि आइतबार बिहान १० बजे व्रत सम्पन्न गर्ने छन् । बर्तालुले आज जनकपुरधामको पवित्र जलाशय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोइ पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।

व्रत बस्नु अघिल्लो दिन आज बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीतादेवी झाका अनुसार व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा माछ मरुवा (माछा र कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओठगन सम्पन्न गर्नुपर्छअर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

धेरैजसो महिलाले ओठगनमा च्युरा, दही खाने गर्दछन् । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यस व्रतको विशेष महत्व रहेको पण्डित लालबाबु झा बताए ।

पण्डित झाले सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको छुट्टै धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको बताउनुभयो । उनले पितृ पक्षमा मनाइने यस पर्वमा महिलाले पनि आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउने गरेकाले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गरेको बताए।

पुरोहित इन्द्रकान्त झाले मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई निकै पवित्र व्रतका रुपमा मानिने गरिएको बताउँछ । उनले भने, ‘उपवास बसेका दिन महिलाले डकार (ढ्याउ) गरे अथवा मुखले खकार (थुक निल्नु) वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खर जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।’

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ ।

जितिया पर्वबारे मधेसमा एउटा भनाइ छ :

जितिया पावनि बड भारी
धियापूताके ठोकी सुतौलनि
अपने खयलनि भरि थारी

अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोक–ठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्साउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र भएको जनकपुरधाम–१४ की इन्दुदेवी झा बताउँछन्।

यस पर्वको आफ्नै विशिष्ट विधि विधान रहेको छ । पर्वको एक दिनअघि अर्थात् आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवं कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ ।

शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसाभित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३–४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धी गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् ।

त्यसपछि दिन–रात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । महिलाले व्रत–उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।

बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई रातिमा तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन तथा चिल र स्यालको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोर (बिहानी पख)मा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङ्गठन भनिन्छ । ओङ्गठनको मन्त्र यसप्रकार रहेको छ :

धियाके जनम जनि दिय हे विधाता
देवनि सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुलि
बहिनियाँके ओङगठन भाय ।।

भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौँरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

कृष्णअष्टमीका दिन बर्तालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिबल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।

मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एक वृद्ध बर्तालु महिलाले कथावाचन गर्नुहुन्छ र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् ।

साँझतिर आँगनमा गाईको गोबरले लितपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको बर्तालु महिलाले पूजापाठ गर्छन् ।

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको ठूलो कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

हिन्दू धर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।

दसैँ आगमनको सङ्केत

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ ।

जितिया, दशैँ, दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठी ।

अर्थात् जितियाको दश दिनपछि दसैँ, दसैँको बीस पछि दीपावली र दीपावलीको छ दिनपछि छठ पर्व हुने गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रूपमा बुझ्नु जरुरी छ ।

जितिया पर्वको अवसरमा मधेसका महिलालाई केही वर्षदेखि नेपाल सरकारले बिदा दिएको छ भने मधेस प्रदेश सरकारले सार्वजनिक बिदा नै दिने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?