+
+

थपिएको समयभित्र पनि द्रुतमार्गको निर्माण सक्न मुस्किल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते २०:४५

३१ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा थप ढिलाइ हुने संकेत गरेको छ । नेपाली सेनाले खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै यसका कारण प्रगति कमजोर भएको सेनाको दाबी छ ।

आयोजनामा अहिलेसम्म समष्टिगत रुपमा भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत मात्रै भएको छ । म्याद थपपछि २०८१ मंसिरसम्ममा निर्माण सकाउने लक्ष्य राखेर निर्माण भइरहे पनि प्रगति विवरणअनुसार लक्ष्य पुरा हुने अवस्था देखिंदैन ।

शुरुको लक्ष्यअनुसार काम भएको भए काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को  भदौ  २०७८ उद्घाटन हुन्थ्यो । तर, निर्माण सकिएर सञ्चालन भइसक्नुपर्ने द्रुतमार्गमा करिब २२ प्रतिशत मात्रै काम सकिएको छ ।

शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गर्दै काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले विभिन्न प्रयासहरुका बाबजुद खोकनाको प्रस्थान विन्दु क्षेत्रको मुआब्जा विवादमा ठोस निकास ननिस्किएको बताए ।

प्रक्रियागत जटिलता फुकाउन अन्तर मन्त्रालय सहजीकरणको आवश्यक्ता देखिएको उनले बताए । सेनाले यस बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पाैडेलसँग अर्को हप्ताबाट छलफल अघि बढाउने पनि जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा २०७९/०८० को ‘माइलस्टोन’ तय गरिएअनुरुप आगामी फागुनसम्ममा खोकना विवाद समाधान गरी त्यस खण्डको अधिग्रहण हुन बाँकी ४०१ रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य रहेको बताए ।

उनले फागुनसम्ममा जग्गा अधिग्रहणको समस्या समाधान नभए व्यवस्थापनमा बाधा पर्न गइ निर्माण कार्य प्रभावित हुन जाने बताए । रुख कटान तथा जग्गा अधिग्रहण सम्बन्धी प्रक्रियागत जटिलता कायम हुनुले पनि निर्माण कार्यलाई प्रभावित बनाएको पोखरेलले बताए ।

आयोजनाको दु्रतमार्ग इलाकामा हालसम्म कुल छपान भएको  ३८ हजार ६६४ वटा रुखमध्ये २७ हजार ३७० वटा रुखहरु कटान भएको सेनाले जनाएको छ ।

उनले छपानमा परेको तर कटान हुन बाँकी रहेको ११ हजार २९४ रुखहरुलाई आवश्यक्ताअनुसार कटान गर्ने जानकारी दिए ।

उनले कुल छपान भएको रुखहरुको सन्दर्भमा ६ लाख ७५ हजार १७५ बिरुवाहरु रोप्ने योजना मुताविक चरणवद्ध रुपमा वृक्षारोपण कार्य भइरहेको स्पष्ट पारे ।

सेनाका अनुसार गत आर्थिक वर्षसम्ममा विभिन्न प्रजातीका रुखहरु एवं फलफूलका बिरुवाहरु गरी ४ लाख २ हजार ८२३ विरुवाहरु विभिन्न स्थानमा रोकिएको छ ।

उनले द्रुतमार्ग आयोजनाको लागि पूर्व सूचना मुताविक हालसम्म ४०१ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको आयोजना प्रमुख पोखरेलले उल्लेख गरे ।

आयोजनाको लागि चालु आर्थिक वर्षमा ३० अर्ब ७ करोड ८६ लाख बजेट विनियोजन भएको र १७.१७ प्रतिशत थप कार्य प्रगति हासिल हुने लक्ष्य रहेको बताए । सो लक्ष्य प्राप्ति गरेको खण्डमा चालु आर्थिक वर्षको अन्त्यमा ३८.३५ प्रतिशत प्रगति हुने उनको दाबी छ ।

उनले चालु आर्थिक वर्षमा विनियोजित बजेट ३० अर्ब ७ करोड ८६ लाखमध्ये पूँजीगततर्फ २९ अर्ब ९९ करोड ९७ लाख र चालुतर्फ ७ करोड ८९ लाख रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षको भाद्र महिनासम्मको वित्तिय प्रगति विवरण कुल वित्तिय खर्च ७८ करोड २२ लाख २४ हजार १६६ रहेको बताए ।

उनले खोकना जग्गा विवाद फागुनसम्म सक्ने, अन्य स्थानको थप जग्गा अधिग्रहण चैत्र र वृक्षारोपण कार्य असार मसान्तसम्म सक्ने लक्ष्य रहेको बताए ।

आयोजनाको ११ वटा ठेक्का प्याकेजमध्ये हालसम्म सुरुङखण्ड, सडक तथा पुल खण्ड गरी ५ वटा प्याकेजको ठेक्का सम्झौता भएर निर्माण कार्य प्रारम्भ भइसकेको सेनाले बताएको छ ।

यसै चालु आर्थिक वर्षमा बाँकी ६ वटा प्याकेजको समेत ठेक्का व्यवस्थापन गरी पारदर्शी एवं गुणस्तरीय ढंगले सम्पूर्ण कार्य एकसाथ सञ्चालन गर्ने र निर्धारित समयमा नै आयोजना सम्पन्न गर्ने कार्ययोजना बनेको सेनाले जानकारी दिएको छ ।

सेनाले खर्चेको ३४ अर्ब २९ करोड समेत गरी आयोजनामा हालसम्म कुल ३७ अर्ब ९६ करोड ९६ लाख रकम बजेट खर्च भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ बाट नेपाली सेनाको जिम्मेवारी अन्तर्गत काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?