+
+

अर्थ समितिले माग्यो सेयर ब्रोकर र स्टक एक्सचेञ्ज नियमावली संशोधनको विस्तृत विवरण

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १५:००

४ असोज, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

३१ भदौको समितिको निर्णय अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई बोधार्थ सहित पत्र काटेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

नेपाल धितोपत्र बोर्डको सिफारिसमा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैंठकले धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायि (धितोपत्र दलाल तथा व्यापारी) नियमावलीको संशोधन स्वीकृत गरेको थियो ।

२१ भदौमा भएको संशोधनलाई पुनः बोर्डको सिफारिसमा २७ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावलीको पाँचौ संशोधन मस्यौदा स्वीकृत भएर २९ भदौमा बोर्ड संशोधित नियमावली जारी गरेको थियो ।

सोही संशोधित नियमावलीविरुद्ध समितिमा निवेदन परेकोले विस्तृत विवरण माग गरिएको अर्यालले बताए । दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयमा नेप्से कर्मचारी संघ र स्टक ब्रोकर एसोसिएसन अफ नेपालबाट लाइसेन्स वितरण सम्बन्धी कार्य स्थगन गर्न आवश्यक कारबाही अगाडि बढाउन भनि निवेदन आएको र सोही उजुरीको आधारमा ७ दिन भित्र समितिमा आइपुग्ने गरी विस्तृत विवरण पठाउन निर्देशन दिएको समितिले जनाएको छ ।

‘नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धी समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए/नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको छ’ समितिले मन्त्रालयलाई काटेको पत्रमा भनिएको छ ।

प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैंठक बसेर छलफल गर्न सम्भव नभएपनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधि सभाको अर्थ समितिले यसमा थप छलफल गर्ने अर्याल बताउँछन् ।

नेपाल धितोपत्र बोर्डले २ असोज आइतबार एउटा नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ स्टक ब्रोकर र वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) को लाइसेन्सको सिफारिसका लागि भन्दै आवेदन माग गरेको थियो । स्टक ब्रोकरका लागि ३५ दिन र स्टक एक्सचेञ्जका लागि ४५ दिनभित्र आवेदन दिन बोर्डले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?