+
+

नेप्सेमा ९.८३ अंकको गिरावट, कारोबार रकम साढे ६५ करोडमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १५:४२

६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा ५ भदौ बुधबार पाँचौ कारोबार दिनमा आएर सुधार भएको थियो ।

तर, बिहीबार पुनः नेप्सेमा गिरावट भएको छ । ६ भदौ बिहीबार बजार परिसूचक नेप्से ९.८३ अंक (०.५३ प्रतिशत) ले गिरावट भएर १८३८.९६ अंकमा बन्द भएको छ । २९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से निक्षेपको ब्याजदर बढ्ने बैंकर्स संघका निर्णयसँगै ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो । तर, ५ भदौ बुधबार भने ११.२२ अंकले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार पुनः गिरावट भएको हो ।

बिहीबार नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा सबैभन्दा कम बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ । यता वित्त कम्पनी उपसूचकमा सबैभन्दा धेरै १.५६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक पनि १.०४ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार ७२ करोडमा सीमित भएको कारोबार बिहीबार झनै ओरालो लागेर ६५ करोड ५७ लाखमा सीमित भएको छ ।

बिहीबार नेप्सेमा नबिल बैंकको सर्वाधिक २ करोड ५९ लाखको कारोबार हुँदा बोटलर्स नेपाल तराईको २ करोड ४१ लाख र अपी पावरको १ करोड ६१ लाखको कारोबार भएको छ ।

बिहीबार कारोबार अवधिभर नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३७ कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको भने स्थिर छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ४.४२ प्रतिशतले बढेको छ । यता १० प्रतिशत ब्याजदरको प्रभु बैंक ऋणपत्र २०८४ को मूल्य ९.९३ प्रतिशतले घट्दा गरिमा ऋणपत्र २०८५ को मूल्य ९.९० प्रतिशतले घटेको छ । मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत नाघेपछि ऋणपत्रको मूल्य लगातार घट्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?