+
+
ब्लग :

नाम विदेशी बुहारीको, पीडा नेपाली सन्तानको

शिबु क्षेत्री शिबु क्षेत्री
२०७९ असोज ९ गते १७:४०

केही दिनअघि अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले एउटा समाचार टिप्पणी लेखे। ‘नागरिकता विधेयकमा मध्यमार्ग: सरकारले आयोग बनाउने, राष्ट्रपतिले प्रमाणीकरण गर्ने’ शीर्षकको समाचार टिप्पणीको अन्तिम लाइनमा लेखिएको छ- ‘नागरिकता कानुन पास भएको समाचार सुन्न पर्खिएर बसेका अनागरिकलाई संविधान दिवसको अवसरमा यो एउटा उपहार पनि हुनेछ।’

यी लाइनहरू पढेपछि संविधान दिवसको दिन नागरिकता विधेयक प्रमाणीकरण होला कि भनेर हामी त्यो दिन राति अबेरसम्म पर्खिबस्यौं। तर, भएन।
त्यसको भोलिपल्ट अर्थात् असोज ४ गते नागरिकता विधेयक प्रमाणीकरणको अन्तिम दिन थियो। हामी करिब १५-२० साथीहरू बिहान ११ बजेदेखि माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका थियौं। दिनभरि थुप्रै मिडिया आए। करिब एक दर्जन पत्रकारले फोटो खिचेर लगे। बेलुका ५ बजे हामी फर्कियौं।

हामीले दिउँसो योजना बनाएका थियौं कि राति ८ देखि १० बजे आसपास प्रमाणीकरण भए पनि फेरि माइतीघरमण्डलामा आएर पूरै त्यो बाटैभरि क्याण्डल बालेर दीप प्रज्वलन गर्ने। त्यति मात्र नभएर तराईका केही साथीले भन्दैथिए– ठूलै सेलेब्रेसन गर्नुपर्छ।

दिनभरि मण्डलामा थाकेको ज्यान, बेलुका मोबाइल हेर्दाहेर्दै आँखा पट्याइसकेका थिए तर पनि कतिबेला विधेयक प्रमाणीकरण भएको खबर आउला र उत्सव मनाउला भनेर साथीहरू छट्पटाइरहेका थिए।

राति १२ बजेसम्मै बस्यौं तर विधेयक प्रमाणीकरण भएको खबर आएन। मिडियाले भटाभट लेख्न थाले- विधेयक राष्ट्रपतिबाट अस्वीकृत, प्रमाणीकरण भएन।हामीले दिउँसै पटक–पटक राष्ट्रपति निवासमा फोन गरेर विधेयक के हुन्छ, यदि प्रमाणीकरण भएन भने साथीहरूले जीवनमै नकारात्मक निर्णय लिनेसम्मका कुराहरू गरेका छन् भनेर जानकारी पनि गरायौं।

उनीहरूले भने- त्यस्तो नगर्नुहोला। राष्ट्रपतिबाट सकारात्मक निर्णय हुनेछ। त्यो कुराले झन् हामी आशावादी भयौं। मैले केही दिनअघि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीसँग १० मिनेट टेलिफोन सम्पर्क गरेको थिएँ। मैले उनलाई एउटा अनुरोध गरें। राष्ट्रपतिले विभिन्न व्यक्तिसँग भेट गरिरहेकी छन्।

यसै सन्दर्भमा जसको लागि नागरिकता विधेयक आउँदैछ पीडितहरूसँग पनि एकपटक राष्ट्रपतिले भेट दिए हामीले हाम्रो कुरा उनीसँग राख्न पाउने थियौं र उनको कुरा पनि हामीले सुन्न पाउँथ्यौं।

दिनभरि मण्डलामा थाकेको ज्यान, बेलुका मोबाइल हेर्दाहेर्दै आँखा पट्याइसकेका थिए तर पनि कतिबेला विधेयक प्रमाणीकरण भएको खबर आउला र उत्सव मनाउँला भनेर साथीहरू छट्पटाइरहेका थिए।

यी सबै कुरामा स्वकीय सचिव सकारात्मक नै थिए र नाम, नम्बर र ठेगाना सबै नोट गरे तर पछि सम्पर्क हुनसकेन।अब नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको त प्रष्ट भइसकेको छ।

अब देशभरि संविधान उल्लंघन विरुद्धमा प्रदर्शन हुन्छ। आन्दोलन हुन्छ। त्यो छुट्टै कुरा छ। तर उनले ठूलो राष्ट्रवादी निर्णय गरें भनेर सोच्दै गर्दा के अब साँच्चै वैवाहिक अंगीकृतले नागरिकता बिहेको भोलिपल्ट पाउँदैनन् र ? अथवा प्रक्रिया सुरु गर्न मिल्दैन र ?

हिजोका दिनमा विधेयकको विरोध गर्दै हिंडेका केपी ओली, ईश्वर पोखरेल र शंकर पोखरेलले भने जस्तै अब विधेयक प्रमाणीकरण नभएपछि एउटा हातले सिन्दुर र अर्को हातमा नागरिकता रोकियो र ? पक्कै पनि विदेशी बुहारीको लागि कुनै रोकावट छैन किनकि विधेयकमा यो उल्लेख नै थिएन।

अब पनि विदेशी बुहारीहरूले त नागरिकता प्राप्तिको लागि बिहेको भोलिपल्टै प्रक्रिया सुरु गर्न सक्छन् र नागरिकता पाउँछन्। तर नेकपा एमालेको राजनीतिले गर्दा विद्यादेवी भण्डारीले नागरिकताबाट वञ्चित फेरि पनि नेपालीकै छोराछोरीहरूलाई गरिन्। जसका बाबुआमाको नागरिकता छ अथवा आमाको नामबाट नागरिकता लिनुपर्नेछ र जो वास्तविक नेपाली हुन्, उनीहरूले फेरि पनि नागरिकता नपाउने भए।

त्यसैले राष्ट्रपतिले जे गरिन्, त्यसले विदेशी बुहारीलाई होइन, नेपालीका छोराछोरीलाई फेरि पनि नागरिकता पीडित नै बनाएको छ।

लेखक ग्रुप फर सिटिजनसिप नेपाल (नागरिकता पीडितहरूको समूह)का संयोजक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?