+
+

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

रासस रासस
२०७९ असोज ९ गते २०:३२

९ असोज, धनगढी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए ।

‘सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध भएन, बिरामीको चाप बढ्दैछ’, उनले भने, ‘अहिले अस्पताल आफैँले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको छ ।’

उनले अस्पतालमा डेङ्गुका बिरामी बढेको बताउनुभयो । प्रदेश सरकारसँग किट माग गरे पनि ३०÷४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए । ‘जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, हामीसँग पर्याप्त किट छैन’, उनले भने, ‘स्वास्थ्य कार्यालयबाट करिब चार सय किट नौवटै पालिकामा पठाउने काम भइरहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ।

पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुई÷दुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ। दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?