+
+

ई–कमर्स साइटमा पनि छैन दशैंको उत्साह

यो वर्षको दशैंमा ई–कमर्स साइटहरूको पनि व्यापार सुस्ताएको छ । बजार र पसलहरुमा पनि अहिलेसम्म बाक्लो मात्रामा ग्राहक देखिएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १३:३५

१० असोज, काठमाडौं । यो वर्षको दशैंमा ई–कमर्स साइटहरूको पनि व्यापार सुस्ताएको छ । बजार र पसलहरुमा पनि अहिलेसम्म बाक्लो मात्रामा ग्राहक देखिएका छैनन् । पसलेहरु निरास भएका बेला अनलाइन सपिङ साइटहरुले पनि विगतको जस्तो कारोबार नभएको बताएका छन् ।

ई–कमर्स साइटहरूको साझा फोरमका संयोजक सागरदेव भट्ट दशैं लागेपछि केही व्यापार बढे पनि विगतको जस्तो उत्साहप्रद व्यापार नरहेको बताउँछन् । ‘महँगी बढेको छ, कतिपय सामानहरुको पनि अभावको अवस्था छ,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा कम भएकाले समानको मूल्य धेरै घट्न सकेको छैन ।’ यो वर्ष उपभोक्ताहरुसँग पनि ठूलो खर्च गर्ने क्षमता नदेखिएको उनको अनुभव छ ।

भट्टका अनुसार दशैंमा अनलाइन सपिङ निकै सहज हुन्छ । भीडभाडमा पसल–पसल पुगेर सामान छान्नु सहज नभएको भन्दै उनले अनलाइनले धेरै ग्राहहको जीवनशैली सहज बनाएको उनको दावी छ ।

हुनपनि अनलाइन सपिङले समयको बचत गर्छ भने बजारमा पसल–पसल चहार्नुबाट छुटकारा दिलाउँछ । तर, बैंकिङ क्षत्रेमा देखिएको लगानीयोग्य पूँजीको अभाव, बढ्दो महँगी दर र उपभोक्ताको घट्दो क्रयशक्तिले अनलाइन बजारमा पनि उपभोक्ताको आकर्षण कम भएको छ ।

यही दशैंका लागि अनलाइनबाट सपिङ गरेका सन्देश पुडासैनीले बच्चाको कपडा मात्रै किने । उनका अनुसार बेलुका फुर्सदमा कपडा छानेरअर्डर गरेको भोलिपल्टै घरमा कपडा आइपुग्यो । यो वर्ष आफू र श्रीमतीले नयाँ कपडा नकिन्ने निर्णय लिएको उनले बताए । ‘दशैं खर्चका लागि धेरै पैसा बचत पनि छैन, बजार चाहार्दै जान जाँगर थिएन,’ उनले भने, ‘आफ्नो बजेटअनुसारको राम्रो कपडा अनलाइनबाटै छानेर किनें, बच्चाहरु पनि खुसी छन् ।’

उनी सकेसम्म आफूलाई चाहिने र मन परेका सामान ई–कमर्स साइटबाटै अर्डर गर्छन् । उनी दशैंका लागि किराना सामन समेत अनलाइनबाटै मगाउने योजनामा छन् । ‘मलाई त बानी परिसक्यो, मेरो धर्मपत्नीलाई अनलाइन सपिङको उति भरोसा छैन,’ उनी भन्छन्, ‘मलाई चाहिं यो नै सजिलो लाग्छ, तर, यो पटक सामानको मूल्य झण्डै ५० प्रतिशतले बढेको अनुभव भयो ।’

सचेत बन्नुपर्ने अवस्था

सबैको अनलाइन सपिङ अनुभव पुडासैनीको जस्तो ‘सुखद्’ हुँदैनन् । बजारमा रहेका अनेकौं सपिङ साइटका आ–आफ्नै कार्यशैली र विशेषता छन् । कतिपय सपिङ साइटको सेवा औसत हुन्छन् भने केही निकै गैरजिम्मेवार । कतिपय साइट भने ग्राहकलाई सन्तुष्ट गर्ने पक्षमा निकै संवेदनशील पनि हुन्छन् ।

बानेश्वरकी श्रृष्टि माथेमाको अनलाइन सपिङ अनुभव उति सुखद् छैन । उनी कहिले मगाएको र अपेक्षा गरेजस्तो सामान नआएर निरास भएकी छिन् भने कहिले ढिला डेलिभरी भएका कारण पीडित बनेकी छिन् । उनका अनुसार समग्रमा अनलाइन सपिङ गर्न सजिलो भएपनि कम विश्वसनीय छ ।

नेपालमा धेरैजसो स्थापित सपिङ साइटबाट सामान किन्दा धेरै समस्या हुँदैनन्, तर फेसबुक लगायत सामाजिक सञ्जालमा देखिने विज्ञापन तथा पोस्टहरूमा भर परेर सामान किन्नेहरू बढी ठगीमा परिरहेका छन् ।

व्यापारी अनलाइनमा सामान छान्न र अर्डर गर्न सजिलो हुने भएपनि राम्रो समान ठम्याउन नजान्नेहरु समस्यमा पर्ने गरेको बताउँछन् ।

अनलाइनमा व्यापार गर्दै आएका बानेश्वरका सुस्मित कालाखेती अनलाइन सपिङबारे धेरै भ्रम रहेको बताउँछन् । ‘ग्राहकले अलिकति बठ्याइँ गर्ने हो भने अनलाइन सपिङबाट पैसा र समय दुवै जोगिन्छ,’ उनी भन्छन्, ‘ठगिने सम्भावना पनि कम हुन्छ ।’

अनलाइनमा सयौं ब्राण्डमा सयौं थरीका उत्पादन हुन्छन्, तर आफ्नो बजेट र आवश्यकता अनुसार कुन सामान उत्तम हो भन्ने ग्राहकलाई ठम्याउन सहज हुँदैन । नेपाली उपभोक्तामा सामान किन्दा भरपर्दो वेबसाइटमा रोज्ने, किन्न लागेको सामान र बिक्रेताबारे पहिले किनिसकेकाहरूले दिएको प्रतिक्रिया र रेटिङ हेर्ने बानी बसेको छैन । यही कारण उपभोक्ताहरुले अनलाइन सपिङमा हैरानी खेप्नुपरेको कालाखेती बताउँछन् ।

अनलाइन साइटमा ग्राहकलाई गुणस्तरबारे जानकारी दिने गरी विभिन्न फिचर्स राखिएका हुन्छन् । त्यसलाई हेरेर सपिङ गर्दा गुनासो गर्ने अवस्था नआउने व्यापारीहरु बताउँछन् । अनलाइन साइटमा विभिन्न बिक्रेतालाई सामान बेच्न अनुमति दिइएको हुनाले साइट आफैंले त्यसको ग्यारेन्टी दिंदैनन् ।

‘उपभोक्ता सचेत हुने हो भने अनलाइनबाट कमसल सामान बेच्नेहरु स्वतः निरुत्साहित हुन्छन्,’ उनी भन्छन्, ‘मेरो त अहिले पसलमा आउने भन्दा बढी अनलाइनबाट व्यापारर हुन थालेको छ । मैले सामानको गुणस्तरबारे सोध्नेहरुलाई अरुले दिएका रिभ्यु हेर्न भन्ने गरेको छु । ’

प्रविधिले मानिसको जीवन सहज बनाउँदै लैजाँदा बजारमा किनमेलका लागि बजार जाने समय अनलाइन सपिङ साइटले बचाउन मद्दत गरिरहेका छन् । पसल–पसल मोलमोलाइ गर्दै दौडधूप गर्ने झञ्झट पनि हटेको छ ।

हत्केलाभरको मोबाइलबाट अर्डर गर्दा बजारमा पाइने धेरैजसो सामान दैलोमा आइपुग्ने अवस्था बनेको छ । चाहिएको चिज किन्न भीडभाडमा जानु नपर्ने भएकाले धेरै ग्राहक यसमा आकर्षित पनि भएका छन् । दूध–दही, तरकारी र किरानादेखि तयारी खानेकुरासम्म अनलाइनबाटै किन्न सकिन्छ । औषधि, भाँडाकुँडादेखि लत्ताकपडासम्म अनलाइन अर्डरका भरमा दैलोमा आइपुग्छन् ।

सामाजिक सञ्जालदेखि वेबसाइटसम्मका माध्यमबाट चलिरहेका सपिङ साइटहरू सबै एकै खालले सेवा दिइरहेका छैनन् । भविष्यमा राम्रो देखेपछि नेपालमा विश्वस्तरीय कम्पनी अलिबाबा, स्नापडिल लगायतले नेपालको अनलाइन बजारमा लगानी गरेर सेवा दिइरहेका छन् ।

यस्तो कारोबारमा नगद पैसा भुक्तानी गर्न पनि झन्झट छैन । अनलाइनबाटै पैसा पनि तिर्न सुविधा छ । यसले बजारमै गएर बार्गेनिङ गर्दै हुने खरिददारीको परिपाटी परिवर्तन गर्दैछ । अनलाइन डिस्प्ले गरिएका सामग्रीमध्ये छानी–छानी अर्डर गर्नेहरूको अनुभव पनि फरक–फरक छ ।

कसैले अनलाइन किनमेललाई भरपर्दो मान्दैनन् भने कोही भौतिक बजारका भन्दा बढी सजिलो र विश्वसनीय कारोबार मान्छन् । किनमेल सजिलै हुने भएकाले पछिल्ला वर्षमा अनलाइनमा ग्राहक झुम्मिन थालेका छन् ।

ई–कमर्स साइटहरूको साझा फोरमका संयोजक भट्टका अनुसार चाडवाडको समयमा कतिपय सपिङ साइटहरूले आफ्ना सामग्रीहरू बिक्री गर्नका लागि विभिन्न किसिमका आकर्षक अफरहरू समेत दिइरहेका हुन्छन् । अफरको प्रलोभनमा परेर सामग्री किन्दा गुणस्तरहीन तथा मिति गुज्रिन लागेको सामग्री समेत किन्नुपरेको ग्राहकको गुनासो हुन्छ ।

उनका अनुसार सामाजिक सञ्जालमा विज्ञापन गरेर सामान बिक्री गर्ने र योजना विना नै अनलाइन व्यापार थाल्नेहरूका कारण पछिल्लो समयमा अनलाइन बजारमा केही विकृति पनि देखिएका छन् । कतिपय अनलाइन बिक्रेताले ग्राहकको पहिलो अनलाइन किनमेलको अनुभव खल्लो बनाइदिने गर्दा ई–कमर्समाथिको विश्वासमा प्रश्न चिह्न उठ्ने जोखिम पनि छ । यसको मार ग्राहक बढाइरहेका स्थापित सपिङ साइटमाथि परिरहेको हुन्छ ।

अनलाइन बिक्रीका लागि राखिएका सामग्रीहरू आकर्षक तरिकाले राखिएका हुन्छन् । कतिपय सामग्रीको वास्तविक रङ र फोटोमा आउने रङ फरक हुन्छ । फोटोमा देखिएको रङ, बनावट हेरेर सामान माग गर्दा वास्तविक रङ र गुणस्तर फरक हुन जाँदा पनि ग्राहकहरू भड्किएको पाइन्छ । अनलाइन सपिङमा सामग्री फेरबदलको सम्भावना हुने, कतिपय सामग्री टुटफुट हुने गरेको खरिदकर्ताहरूले गुनासो गर्ने गर्छन् ।

कतिपय सपिङ साइटहरूले आफ्ना सामग्रीहरू बिक्री गर्नका लागि विभिन्न किसिमका आकर्षक अफरहरू समेत दिइरहेका हुन्छन् । अफरको प्रलोभनमा परेर सामग्री किन्दा गुणस्तरहीन तथा मिति गुज्रिन लागेको सामग्री समेत हुने गरेको गुनासो पाइन्छ । यस्तो सामग्रीहरू फिर्ता गर्न खोज्दा अनलाइन सपिङका साइटहरूले फिर्ता गर्न नमान्ने अथवा आफूले राखेको शर्तलाई आधार बनाउने गर्छन् । शर्तअनुसार गर्दा पनि ढिला गरी फिर्ता हुने अथवा साट्ने गरेको बताउँछन् ।

कतिपय अनलाइन सपिङ साइटहरू दर्ता नभई चलेकोले ठग्ने माध्यम पनि बनेका छन् । समस्या धेरै देखिन थालेपछि सरकारले अनलाइन बजारलाई व्यवस्थित गर्ने गरी छुट्टै कानुन बनाउन गृहकार्य गरेको लामो समय भइसक्यो । नियमनको दायरा बाहिर रहेका यस्ता व्यवसायलाई कानुनी रूपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ ।

उक्त प्रस्तावित मस्यौदामा अनलाइनमार्फत गरिने व्यवसायमा ग्राहकले चाहे जस्तो वस्तु डेलिभरी नभए फिर्ता गर्न पाउने प्रावधान छ । साथै टुटे–फुटेको वा ग्राहकले विद्युतीय प्लेटफर्ममा देखे जस्तो वस्तु डेलिभरी गर्दा दुरुस्त नभए सामान फिर्ता वा साटफेर सुविधा तथा भुक्तानी भएको भए रकम फिर्ता गर्नुपर्नेछ ।

विधेयकको मस्यौदामा ऐन कार्यान्वयनमा आउनुभन्दा अघि सञ्चालनमा आएका व्यवसाय एक वर्षभित्र र नयाँ व्यवसाय ऐनले तोकेको विभागमा अनिवार्य सूचीकरण हुनुपर्ने, वेबसाइट तथा व्यापार सुरक्षित विद्युतीय प्रणालीमार्फत गरिनुपर्ने भनिएको छ । सूचीकरण नभई अनलाइन मार्फत विद्युतीय व्यापार गरे कसूर ठहरिने र जिल्ला अदालत मार्फत मुद्दा चल्ने मस्यौदामा उल्लेख छ ।

तर, अहिलेसम्म सरकारले अनलाइन सपिङलाई व्यवस्थित गर्ने कानुन नबनाएकाले यस क्षेत्रमा रहेका विकृति बढ्दो दरमा छन् । ‘सामाजिक सञ्जालमार्फत हुने अनलाइन बिजनेसले बढी समस्या ल्याएको छ,’ भट्ट भन्छन्, ‘यसलाई ध्यानमा राखेर सरकारले नीति र नियमहरु बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?