+
+

ओली बा, माधव बा र रवि बाहरूलाई

काकीको मृत्यु भयो। डाक्टरले अक्सिजन निकाल्दिए। काकी एकैछिन मात्र बाँच्नुभयो। मलाई दुःख लाग्यो। काकालाई त्यति निराश देखिनँ तर खुसी चाहिं होइन। मानिस कहिले बाँचिरहँदा खुसी हुन्छ त कहिले नबाँच्दा।

शालिक सुवेदी शालिक सुवेदी
२०७९ असोज ११ गते १३:१६

पाँच वर्ष भयो प्रितीसँग मेरो भेट नभएको। वालिङ रहँदा उनको पुरानो घरमा म पनि गाउँ जाँदा आक्कलझुक्कल भेट हुन्थ्यो। पल्तिर आमा (प्रितीकी बुढीसासू), सेत्दाइलाई यसो भेट्न जाँदा प्रिती पनि झुलुक्क देखा पर्थिन्। सेत्दाइकी ठूलो छोराकी श्रीमती हुन् प्रिती। त्यो घरकी जेठी बुहारी। फरासिली, अति नै कामकाजी छिन् उनी। लोग्नेसँग राम्रै थियो सम्बन्ध। हामीलाई त्यस्तो लाग्थ्यो।

मेरो घरको पल्लो घर हो सेत्दाइको। प्रेमले अर्को बिहे गरेछ। प्रितीमाथि सौता पर्‍यो। प्रेम सेत्दाइको जेठो छोरो। उमेरले मभन्दा जेठो तर मेरो साथी।

केशव काकाले फोन गरेर हतारिंदै भन्नुभयो- ‘कृष्ण काकीलाई महाराजगञ्जको न्यूरो अस्पतालमा राखेको छ। भेट्न जाउ।’

म तुरुन्तै गएँ। काकी आईसीयूमा हुनुहुन्थ्यो। कृष्ण काका, ध्रुव दाइ बाहिर कुरुवा। सोधें। काकाले भन्नुभयो, ‘होश आएको छैन।’ एक साता भइसकेछ होश नआएको। छोरीहरूको विचल्ली छ। काकाका दुइटी छोरी। कपिलवस्तुको ओदारीमा साना दुइटी छोरीलाई छोडेर काका काकीको उपचार गर्न आउनुभएको। काकीको होश छैन।

सास फेरेको पनि हो–होइन थाहा छैन। काका आत्तिनुभएछ। डाक्टरले काकी बाँच्ने कुरा पनि गर्दैनन् रे। मृत घोषणा पनि गर्दैनन्। कस्तो दुःखद छ जीवन। न त जीवित न मृत। एक खुमारी जीवन। बुढापाकाले भन्ने गरेको सम्झें- ‘कत्ति पनि दुःख नपाइ मर्न पाऊँ। न मर्नेलाई दुःख होस्, न बाँच्नेलाई। यहाँ ठिक उल्टो भइरहेको छ। मर्नेलाई मर्न दुःख छ। बाँच्नेलाई कुर्न दुःख छ। काका थकित छन्। काकीको जीवित मृत शरीरमा उनी आफैं कहिले मरेका जस्तो त कहिले जीवित जस्तो बन्छन्।

म अस्पतालमा कुरिरहेको छु, बिरामी काकीलाई र बिरामी काकालाई। साँझपख एकजना डाक्टरले बिरामीको आफन्तलाई भित्र डाके। काकाले जबर्जस्त मलाई पठाए। ध्रुव दाइले पनि मलाई नै धकेले। म र डाक्टर। अर्को एकजना पनि थिए। उनी को हुन् चिन्दिनँ। मलाई दुवैले चिन्छन्। डाक्टरले स्पष्ट भने मसँग- ‘काकी बाँच्दिनन्। भेन्टिलेटर राख्दासम्म मुटु चलिरहन्छ। भेन्टिलेटरबाट हटाएको तीन चार घन्टामा त्यस्तो बिरामीको मृत्यु हुन्छ रे।’ डाक्टरले यस्तै केही भने।

काकी बाँच्दिनन् भन्ने निश्चित भयो। कृत्रिम अक्सिजनले चलेको मुटुले मान्छे चलाउँदो रहेनछ। कृत्रिम अक्सिजनले मुटु त चलाउँछ, तर न मान्छे, न मन, न मस्तिष्क चल्दो रहेछ। कृत्रिमताले गाँसेको सम्बन्ध जस्तो।

काकीको मृत्यु भयो। डाक्टरले अक्सिजन निकाल्दिए। काकी एकैछिन मात्र बाँच्नुभयो। मलाई दुःख लाग्यो। आँसु आएन देखिने गरी, तर मन भने नमिठोसँग रोइरह्यो।

काकालाई त्यति निराश देखिनँ तर खुसी चाहिं होइन। मानिस कहिले बाँचिरहँदा खुसी हुन्छ त कहिले नबाँच्दा। कहिले बचाउनलाई निकै कोसिस गर्छ त कहिले मरोस् भनेर भाकल गर्छ। बडो विचित्रको छ मान्छेको स्वार्थी चरित्र पनि।

मानिसको सम्बन्ध कपासको धागो जस्तो हो। मिलाएर कात्यो बलियो धागो पनि हुन्छ, पवित्र बत्ती पनि। अलिकति मिलेन फिस्स चुँडिन्छ। निर्मला यही भन्छिन्। मलाई छोयो, घत लाग्यो।

कृष्ण काकाले बिहे गरे। मलाई निर्मलाले सुनाइन्। ‘ए हो’ मैले अलिनो जवाफ फर्काएँ।

‘कोहीसँग पनि सोध्नुभएन’ निर्मलाले प्रतिप्रश्न गरिन्।

‘भन न कोसँग ?’

‘प्रितीसँग’ निर्मलाको स्वरमा विनोद थियो। खुसीको आभा सुगन्धसहित।

मैले कृष्ण काका सम्झें। प्रिती सम्झें। प्रितीलाई परिवारले एक्ल्याएको सम्झें। दशैं, तिहार, तीज जस्ता चाडहरू पनि सम्झें। निर्मला विनाको मेरो जीवन सम्झें। म विनाको निर्मलाको जीवन पनि सम्झें। निकै कठिन पाएँ। सायद सकिंदैन होला हामी अब एकअर्काको विना जिउन सहजै। न निर्मला, न म। प्रिती भने बाँचिरहिन्। रातो सारीमा कोरा मन लिएर तीजमा व्रत पनि बसिन् धेरै वर्ष। यस वर्षको तीज पनि आयो, गयो।

समयको हिसाबले हरेक तीजहरू आउँछन्, जान्छन्। तर केही मान्छेलाई परम्परागत तीजहरू अपरम्परागत बन्न सक्छन्। केही उज्यालो केही न्यानो उमंग र शाश्वत पनि। सायद प्रितीको पछिल्ला तीजहरू विनोदको उभारसँग जोडिएका होलान्। विगतको उजाड वर्तमानको हरियालीले छपक्कै छोपेको होला। खण्डहर इन्द्रप्रस्थ हस्तिनापुर भन्दा पनि उर्बर र बेजोड बनेको जस्तो। आज प्रिती इन्द्रपस्थमा द्रौपदी खुसी हुँदा जस्तै छिन्।

२५ वर्षअघि आमाको माग अनुसार बाले तराईमा जग्गा किन्नुभएको रहेछ। कृष्ण काकाकै घर नजिकै। बाले तराई जाउँ भन्नुभयो। बा र म तराई गयौं। तारा काकाकोमा बिहानको खाना खायौं। अनि हिंड्यौं हाम्रो जग्गातिर। तारा काकाका भाइ कृष्ण काका। पारिपट्टि कृष्ण काकाको घर। घरमै स्टेसनरीको पसल। पसलमा प्रिती। हँसिली, लामो समयको खडेरीपछिको उर्वर भूमिको हरियाली प्रतिबिम्बित। लुकेका र जबर्जस्त लुकाइएका कान्ती एकैचोटि पोखिए जस्तो। प्रिती पुलकित थिइन्।

बाटैबाट बाले चिच्याउनुभयो। ‘प्रिती ! ए प्रिती !’ एकचोटि होइन, दुईचोटि होइन, धेरै चोटि। प्रितीले पुलुक्क हेरिन्। मुसुक्क हाँसिन्। हामीलाई भेट्न आउन खोजिन्। किन्ने मान्छेको भीड थियो। सामान बेच्न छाडेर हामी भेट्न उनी पनि आउन सकिनन्। गाडी रोकेर उनीलाई भेट्न समयको सीमाका कारण हामी पनि जान सकेनौं। टाढैबाट हामीले एकअर्कालाई आ-आफ्नो मर्यादा अनुसार शुभेच्छा साट्यौं।

प्रितीले प्रेमलाई बिर्सिन् होला सायद। प्रेमले प्रितीलाई पनि। सम्झे पनि सम्झँदैनन् होला। दुवैले। प्रिती पनि व्यस्त छिन्। आफ्नो बाँकी नवीन जीवनलाई सफल बनाउन उद्धत छिन्। न त एकअर्काको चियोचर्चो, न बद्ख्वाइँ। विन्दास आफ्नो सामाजिक र पारिवारिक मर्यादित जीवनको उद्देश्यमा लीन पनि। त्यसैले त जीवन सुखी छ।

सम्बन्धविच्छेदको पीडा

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भयो। (नेपाल कम्युनिस्ट पार्टी) नेकपा नयाँ पार्टीको नाम बन्यो। नयाँ पार्टीका दुई जना अध्यक्ष बने। बन्दै मानिसहरूमा विशाल संदिग्धता, थोरै विश्वास थियो। तर कार्यकर्तामाझ बडो उत्साह, घमण्ड, अहंकार र दम्भ देखिन थाल्यो। एकातिर मात्र होइन दुवैतिर। कहिल्यै नमिलेकाहरू मिलेर बस्न, हाँस्न, खान थाले। इतरलाई होच्याउने, दबाउने, दया देखाउने र कृपा गरे जस्तो गर्न थाले। करिब दुईतिहाइको सरकार बन्यो।

पछि पूरै दुईतिहाइ नि। अहंकारका अट्टहासहरू कोहीको बीस वर्षको थियो भने कोहीको अबको पचास वर्षको गर्जन। नेकपा बाहेकका कार्यकर्ता, जनता, राज्यशक्तिले भन्दा बढी उनका दम्भ र घमण्डले, होच्याइ र अपमानले उकुसमुकुस भइसकेका थिए। जर्ज ओरिएलको १९८४ (नाइन्टिन एटिफोर) को बिग ब्रदरको हेजेमोनी जस्तो। एन्टेनियो ग्राम्सीको प्रभुत्ववादको त्रास जस्तो। अहिलेकाको पनि कम छैन।

पार्टीमा भित्रभित्रै आगो सल्किएको थियो। धैर्यको घडा भरिएको थियो। स्वार्थका अभीष्ट चुँडिएका थिए। विश्वासको बाँध भत्किएको थियो। जोडिएका काँचका सुन्दर परिधानहरू चर्किएका थिए। एक अद्भुत, अभूतपूर्व अविश्वास, क्लान्त धैर्य र असम्मानको विभीषिकाहरू रक्तबीज जस्तै समाजमा रोपिएका थिए। टुट्यो। फुट्यो– जोडिनै नमिल्ने गरी।

सायद यो बुझेनन् होला कि शक्ति, सत्ता, पैसा यी सबै पानीमा कोरिएका रेखा हुन्। रेखा कोरिंदै जान्छन्। मेटिंदै पनि। यो त केवल क्षणभंगुर मात्र हो।

हेलेन सुन्दर थिइन्। अति नै सुन्दर। बुढेसकालमा आफ्नो अनुहारमा चिरा–चिरा परेको, मुजा परेको अनुहार देखेर ऐना फुटाएकी थिइन्। ऐना पनि फुट्यो। उनको घमण्ड झन् बढी चिरा पर्‍यो। सत्य यही हो। बाह्य सुन्दरता फगत तदर्थ हो।

केपी ओली र माधव नेपाल छुट्टिएको पनि एक वर्ष पूरा भयो। आम निर्वाचन नजिकिएको छ। यी दुवै नेता एकअर्काका साथी पनि हुन्। सहयोद्धा, सहकर्मी र सहधर्मी पनि। कहिले माधवका कार्यकर्ता ओली त कहिले माधवका नेता ओली। गत साल भदौमा छुट्टिए।

माधव वर्तमान सत्तारुढ दलसँग जोडिएका छन्। पिरती कांग्रेससँग गाँसिए जस्तो। प्रचण्डसँग जोडिए जस्तो। निर्वाचन नजिकिंदै जाँदा ओली सबैभन्दा बढी माधवसँग रुष्ट देखिन्छन्। माधव ओलीसँग। ओलीले माधव नेपाललाई कहिले गद्दार भनेका छन् त कहिले कुहिएको फर्सी भनेका छन्। कहिले आफ्नै पार्टी सक्ने कुलंगार भनेका छन् त कहिले देशद्रोहीको उपमा दिएका छन्।

यता माधव नेपालले पनि ओलीलाई एक नम्बरका गफाडी मात्रै भनेनन्, दम्भी, अहंकारी र षड्यन्त्रकारी भने। त्यति मात्रै होइन बयलगाडा दार्शनिक भनी ओलीको आलोचना गरे।

निर्वाचन नजिकिएको छ। सार्वजनिक कार्यक्रमहरू धमाधम भैरहेका छन्। थपिंदै जालान्। जति थपिन्छन् त्यति गाली र गलौज थपिएलान्। आरोप–प्रत्यारोप थपिएलान्।

यसो सम्झन्छु। प्रिती र प्रेमलाई। अनि ओली र माधवलाई। बाको मुख हेर्ने दिन बाहरूलाई विदा गर्नुपर्छ भनेर बाहरूप्रति मर्यादा पटक्कै नराख्ने इशा लामिछानेका छोरीहरूका बा रवि लामिछानेलाई। युवा पुस्ताका राजनीति गर्ने अभीष्ट बोकेका रवि बाहरूलाई। यो निर्वाचनको भाषणहरूले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षण गर्छ या विकर्षण। मर्यादित बनाउँछ या घृणित बनाउँछ।

मनमनै प्रितीलाई र प्रेमलाई धन्यवाद दिएँ। तिमीहरू दुवै महान् छौ। तिमीबाट सिक्नुपर्छ समाजले, राजनीतिले र राजनीतिकर्मीहरूले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?