+
+

परिजिता : ‘द भ्वाइस’को अमेरिकी संस्करणबाट स्टार बनेकी नेपाली मूलकी किशोरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १२:४९

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणतर्फ पुनः एकपटक नेपाली संगीतप्रेमीको ध्यान सोझिएको छ ।

उक्त शोको ब्लाइन्ड अडिसनमा गीत गाउँदै १७ वर्षकी नेपाली किशोरी परिजिता बाँस्तोलाले जज मात्र होइन, दर्शकको मन जितिन् । नेपाली मूलकी यी किशोरीले जजसँग जसरी नेपाली संगीत र नेपाली संस्कृतिबारे क्यान्डिड कुरा गरिन्, यो महत्वपूर्ण किस्सा हो ।

परिजिताको यो क्षणले हामीलाई ‘अमेरिकन आइडल’मा दमदार गायकी प्रस्तुत गरेका अर्थर गनको याद दिलाएको छ । तिमोथी ली म्याकेन्जीको गीत ‘जेलस’ गाएर परिजिताले गायकीको प्रतिभा पस्किइन् ।

जब छोरी परिजिता ब्लान्ड अडिसनमा गाउँदै थिइन्, शो छायांकन स्थल बाहिर रहेको टीभी स्क्रिनमा हेर्दै उनका बुवा पंकज र आमा बीरा उत्सुक हुँदै थिए । ३० वर्षे दिदी प्रियंका पनि बहिनीको खुसीमा रमाउँदै थिइन् ।

जब चारैजना जज कुर्सी घुमाउँदै परिजिताको प्रशंसा गर्दै थिए, बुवा पंकज र आमा वीरा पनि खुसीले उफ्रिए । बाहिर निस्किएपछि छोरीलाई खुसीले अंकमाल गरे । ‘धेरै भन्नु छ र आज मैले मेरो छोरीको बारेमा एउटा किताब लेख्न सक्थें, तर म भन्न चाहन्छु, मेरो बच्चाप्रति मलाई गर्व छ,’ बुवा पंकजले भने ।

नेपालको झापाका पंकज र काठमाडौंकी बीरा बिहेपछि डेढ दशकअघि नै अमेरिका हान्निएका थिए । त्यहीं परिजिताको जन्म भयो । अहिले मेरिल्यान्डको सिर्भेएन पार्कमा उनीहरुले एक सानो रेस्टुरेन्ट पनि चलाएका छन् । परिजिता सिभेएर्ना पार्क हाइस्कुलमा अध्ययनरत पनि छिन् । बाँस्तोला परिवारले कान्छी छोरीको सांगीतिक करिअरमा साथ पनि दिएको छ ।

परिजिता ‘बाँस्तोला ब्यान्ड’की भोकलिस्ट समेत हुन् । उनकै नामबाट राखिएको यो ब्यान्ड ब्लुज संगीत गायनबाट चर्चित छ । आफू अध्ययनरत स्कुलकै सहपाठीसँग मिलेर खोलिएको ब्यान्डले स्कुलमा आयोजना हुने ब्लुज प्रतिस्पर्धामा पनि जितेको छ ।

एडम जेम्स, आर्थे फ्रांकलिन, एमी वाइनहाउस र रिहानाका चर्चित गीतलाई गाएर यो ब्यान्ड चर्चित पनि छ । यो ब्यान्ड सन् २०२२ को अन्तर्राष्ट्रिय ब्लुज कम्पिटिसनमा छानिएको छ ।

ज्याक स्लोटी, जिस केग्ले, बेनेट टरहन्ट र डिलन हुड बाँस्तोला ब्यान्डका सदस्य हुन् ।

परिजिता कलेजमा संगीत अध्ययन गर्न चाहन्छिन् र संगीतमै करिअर अघि बढाउन चाहन्छिन् । द भ्वाइसको ब्लाइन्ड अडिसन सफलताले त्यो प्रष्ट पारेको छ ।

हलिउड लाइफ म्यागजिनले द भ्वाइसको यस संस्करणमा परिजिताको दबदबा हुने उल्लेख गरेको छ । जज क्यामिलिया काबेलोले त परिजितालाई ‘मास्टरफुल’ भन्दै प्रशंसा गरिन् ।

महत्वपूर्ण कुरा परमिताले द भ्वाइसको उक्त मञ्चमा भनेकी थिइन्, ‘म आफ्नो गायन र संगीतमा नेपाली सम्पदालाई अवश्य समावेश गर्न चाहन्छु ।’

विश्व संगीतको ‘बाइबल’ मानिने बिलबोर्ड म्यागजिनले समेत परिजितालाई ‘मास्टरफुल’ भन्दै समाचार प्रकाशित गरेको छ । परिजिताको क्रेज यत्तिकै रोकिने छैन, द भ्वाइसको सिजनभर र नेपाली संगीतप्रति उनले देखाएको रुझान हेर्दा लाग्छ, उनी विश्व संगीतकै ‘ब्ल्याक हर्स’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?