+
+

‘प्रेमगीत ४’को तयारी : डोमारी र नाका राज्यबीचको लडाइँमा मिसिएको प्रेम कथावस्तु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १३:३२
'प्रेमगीत ३'को एक दृश्यमा अभिनेता प्रदीप खड्का

काठमाडौं । ‘प्रेमगीत’को तेस्रो श्रृंखला अहिले हलमा चलिरहेको छ । निर्माता सन्तोष सेनका अनुसार फिल्मले नेपालमा नेपाली र हिन्दी संस्करणमा पहिलो साता ७ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ ।

दर्शकमाझ फिल्मको चौथो श्रृंखलालाई लिएर पर्खाइ छ । हलमा तेस्रो सिरिज चलिरहँदा निर्माताले चौथो सिरिजको योजनामा काम गरिरहेका छन् । आउँदो श्रृंखलालाई अहिलेभन्दा भव्य बनाउनुपर्ने चुनौती आफूमाथि आएको सेनले बताए ।

दर्शकलाई पक्कै थाहा होला, तेस्रो श्रृंखलाको समाप्तिमै बुनिएको एउटा प्लटले चौथो भागको मार्ग प्रशस्त गरेको छ । दर्गा राज्यको राजवंश नै समाप्त गरेर शासन सत्ता हत्याएका डोमारी राज्यका राजा र नाका राज्यबीचको लडाइँलाई चौथो सिरिजमा प्रस्तुत गरिने भएको छ ।

डोमारी राज्यको राजाको रुपमा जीवन भट्टराई र सल्लाहकारको रुपमा पुष्प कार्कीले अभिनय गरेका छन् । फिल्मको अन्त्यमा भट्टराईको चरित्रलाई स्थापना गर्नुलाई चौथो सिरिजको ‘क्लु’को रुपमा बुझ्नुपर्ने हुन्छ ।

निर्माता तथा निर्देशक सेनले चौथो सिक्वेलमा दुई राज्यबीचको लडाइँमा प्रेमको विषयवस्तुलाई समावेश गरिने बताए । ‘दुई राज्यबीचको लडाइँमा प्रेमको मिश्रण अब हुनेछ । तेस्रोमा सानो क्यानभासमा फिल्म बनेको थियो भने चौथो भव्य र फराकिलो बन्नेछ,’ सेनले भने ।

नेपाली र हिन्दी भाषामा फिल्म निर्माण हुने र हिन्दी भाषालाई अन्तर्राष्ट्रिय रुपमै प्रदर्शन लक्ष्यसहित फिल्म निर्माण गर्ने उनले बताए । ‘तेस्रो भागबाट हामीले बजारीकरणका धेरै कुरा सिकेका छौं । अब हामी अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी अघि बढ्छौं,’ सेनले भने, ‘किनभने हामीमाथि अझै ठूलो काम गर्नुपर्ने दबाब पनि आयो ।’

चौथो सिक्वेलअघि निर्माता सेन अर्को एक फिल्म निर्माणको तयारीमा छन्, जुन केही आर्ट टाइपको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?