+
+

यसरी जन्मियो महिषासुरको हाँसो…

मदनदास श्रेष्ठ मदनदास श्रेष्ठ
२०७९ असोज १५ गते १४:१५

रेडियो नेपालमा बज्ने अधिकांश धार्मिक नाटकमा मैले दैत्यको स्वर दिएँ । दानवको स्वर दिएँ । दशैंका नौ दिन त रेडियो नेपालबाट महिषासुर, शुम्भ-निशुम्भ, चण्ड-मुण्ड लगायत दानव मारिएको कथामा नाटक बज्यो । ती सबै नाटकमा म दानवको भूमिकामा हुन्थें । त्यो दानवीय आवाजमा मेरै स्वर छ ।

मेरो मोटो र ठूलो आवाज सुनेर रेडियो नेपालमा तत्कालीन नाटक निर्देशक श्यामदास वैष्णवले मलाई कृष्ण जन्माष्टमीको नाटकमा कंसको आवाज दिन भन्नुभयो । रिसाहा, दम्भी, अहंकारी कंसको आवाज पनि त्यस्तै दम्भी हुनुपर्‍यो भन्ने लाग्यो ।

एकाध हिन्दी भाषाका धार्मिक फिल्ममा दानवको आवाज भयंकर हुन्थ्यो । उसको बोली पनि डरलाग्दो हुन्थ्यो । अनि मलाई लाग्यो, कंसको बोली पनि यस्तै हुनुपर्छ । मैले कंसको भूमिका निर्वाह गर्दा उसको शक्ति, मैमत्त स्वभाव र अहंकार आफ्नो स्वरबाट महसुस गराउनुपर्ने भयो । त्यसका लागि मैले थप तयारी गरें । आफ्नो स्वर अझै मोटो र अहंकारले भरिएको बनाउन थालें ।

मेरो शैली निर्देशक वैष्णवलाई मन पर्‍यो । त्यसपछि मैले कंसको आवाज दिएर नाटक रेकर्ड गर्नुपर्ने भयो । कंस खुसी हुँदा पनि घमण्डको अट्टाहास मिसिएको हाँसो हास्ने भयो । रिसाउँदा पनि हाँस्ने भयो । र, त्यो हाँसो धेरैले मनपराए । मलाई त झण्डै-झण्डै दानव बनाए ।

दानव भनेपछि मान्छेहरु डराउलान् भनेर त्यस्तो चर्को, डरलाग्दो आवाज र हाँसो निकालेका थियौं । तर डराउनुको सट्टा मान्छेहरुले त्यही हाँसो मन पराए ।

त्यसपछि म आफैं रेडियो नेपालमा जागिरे भएँ । २०४३ सालमा रेडियो नेपालको नाटक शाखाको प्रमुख नै भएँ म । त्यसपछि दशैंमा बजाउने भनेर हामीले देवीभगवतलाई श्रृखंलाबद्ध गरेर नाटक बनायौं । त्यसमा पनि मैले दानवकै स्वर दिनुपर्‍यो । शुम्भ-निशुम्भ, चण्ड-मुण्ड र महिषासुरको आवाज मैले नै दिएँ । अनि त्यसपछि म साथीभाइमाझ दैत्यराजका नामले चिनिन थाले । महिषासुरको हाँसो चर्चित भएपछि मलाई मान्छेहरुले ‘रेडियो महिषासुर’ भन्न थाले ।

देवताको बोली नरम, मीठो र सुन्दै आनन्द आउने हुन्थ्यो । दानवको बोली भने चर्को, रिसाएजस्तो बनाउनुपथ्र्यो । घमण्डले भरिएको आवाज निकालेर सुनाउनुपथ्र्यो । रेकर्ड गर्न अहिलेजस्तो सजिलो थिएन त्यसबेला ।

रथ गुडेको आवाज निकाल्नुपर्‍यो भने ठूलो टेबलमा मादल गुडाएर रेकर्ड गथ्र्यौं । आगो बलेको आवाज निकाल्न बिग्रेको टेपको रिल समाएर कच्याककुचुक पार्दा आगो बलेजस्तै आवाज आउँथ्यो । आँधीबेहरीको आवाज निकाल्नुपर्‍यो भने बाक्लो कागज मुखमा राखेर फुक्थ्यौं, कागज हल्लिएको रेकर्ड बजाउँदा आँधी आएजस्तो आवाज आउँथ्यो ।

दानव, दैत्यको आवाज रेकर्ड गराउन निकै सास्ती हुन्थ्यो । थरीथरीका आवाज निकाल्नु पथ्र्यो, त्यसैले टेप पनि धेरै लाग्थ्यो ।

धेरैपछि मात्र मान्छेहरुले महिषासुरको आवाज निकाल्ने मै हुँ भनेर चिन्न थाले । सुरुसुरुमा त केही साथीहरुले मात्र चाल पाएका थिए । पछि नेपाल टेलिभिजनमा पनि म काम गर्न थालेपछि धेरैले महिषासुरको आवाज मेरै हो भन्ने थाहा पाए । अनि त मलाई भेट्नेहरुले ‘महिषासुर तपाईं नै हो ?’ भन्दै प्रश्न गर्न थाले । यस्तो प्रश्न सुनेपछि म पनि हाँसीहाँसी ‘हो’ भन्दै जवाफ फर्काउँथे ।

रेडियो नेपालमा मैले कृषि कार्यक्रममा जेटीए बाबु भएर पनि स्वर दिए । तर मान्छेहरुले मलाई महिषासुरकै आवाजले धेरै चिने । दानवकै आवाजमा भए पनि मान्छेहरुले मलाई चिने । अहिलेसम्म पनि रेडियो नेपालले बजाउने त्यो नाटकमा आवाज भर्दा साह्ररै सास्ती हुन्थ्यो । बडो कष्ट गरेर त्यो चर्को हाँसो निकाल्नुपथ्र्यो । हो..हा…हो…हा…हा गर्दै हाँस्दा घाँटी पनि दुख्थ्यो कहिलेकाहीं । मलाई एकछिन दुःख भए पनि श्रोताले भने त्यही मन पराए ।

दानवले मैले जस्तै हाँस्छन्, त्यसरी नै बोल्छन् बोल्दैनन् त्यो त थाहा छैन । तर दानवहरु घमण्डी हुन्छन्, रिसाहा र अहंकारी हुन्छन् भन्ने विश्वास मान्दै अहंकारी, घमण्डी मान्छेकै शैलीलाई अलि बढ्ता प्रयोग गरेर मैले दानवको आवाज रेकर्ड गरेको हुँ ।

मैले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिसिरियलमा पनि काम गरें । अरु नाटक, गीतिकथामा पनि काम गरें । तर सबैले मेरो त्यही दानवी हाँसो मन पराए । रेडियो नेपालमा अहिले पनि ती नाटक सुरक्षित छन् ।

(कलाकार श्रेष्ठसँग सागर चन्दले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?