+
+

गोरखा दरबारको फूलपाती यसरी पठाइयो काठमाडौं

बिकास मरहट्टा  बिकास मरहट्टा 
२०७९ असोज १६ गते १२:०८

१६ असोज, गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो ।

कोभिडका कारण अघिल्ला वर्ष सामान्य रुपमा फूलपाती पठाउने गरे पनि यस वर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए । ‘कोभिडले गर्दा दुई वर्ष सामान्य तरिकाले फूलपाती पठायौं,’ उनले भने, ‘तर यस वर्ष बाजागाजा सहित भव्य रुपमा पठाएका छौं ।’

गोरखाबाट पठाइएको फूलपाती धादिङको जीवनपुरबाट काठमाडौंको टोलीलाई हस्तान्तरण गरिने छ । हनुमानढोकाबाट फूलपाती संकलनका लागि धादिङको जीवनपुर आएको टोलीलाई हस्तान्तरण गरिने र सोही टोलीले जमल हुदै साँझ हनुमानढोका लैजाने प्रचलन रहेको भुषालले जानकारी दिए ।

शनिबार साँझ सुसारेहरुले गोरखा नगरपालिका आसपासको जंगलबाट संकलन गरेको फूलपाती हनुमानढोका पठाइएको हो । ‘नगरपालिकाको छिपछिपे फाँटमा हामीले केही जग्गा बारबेर गरेर राखेका थियौं, हिजो (शनिबार) साँझ सुसारेहरुले त्यहाँ क्षमा पूजा गरेर आसपासको जंगलबाट फूलपाती संकलन गर्नुभयो । त्यही फूलपाती आज बिहान ४ बजे गोरखा दरबार ल्याएर काठमाडौं पठाएका हौं,’ उनले भने ।

बेल, दारिम, अशोक, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती फूलपातीमा समावेश भएको उनले जानकारी दिए ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा फूलपाती काठमाडौं पठाइएको हो ।

नगर प्रमुख रानाले विगतदेखिको परम्परालाई निरन्तरता दिंदै फूलपाती पठाउने प्रचलन कायम राख्नाले इतिहासको समेत जगेर्नासँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए । इतिहास र संस्कृति जर्गेनाका लागि नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौं माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ । आजै (आइतवार) साँझ बाजागाजा सहित हर्ष बढाइँका साथ गोरखा दरबारमा पनि फूलपाती भित्र्याइन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा नवपत्रिकाको नामले समेत चिनिने फूलपाती भित्राइन्छ । फूलपातीलाई शुभसाइत एवम् नौवटी देवीको प्रतीकको रूपमा लिइन्छ ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?