+
+

माओवादी गढ रोल्पामा कांग्रेसलाई टिकट

२०६४ साल यताका सबै निर्वाचनमा एकलौटी बर्चश्व कायम गरेको नेकपा माओवादी केन्द्रले पहिलो पटक एउटा क्षेत्र गुमाउने भएको छ । योसँगै माओवादी आधार इलाका भनिएको रोल्पामा पहिलोपटक नेपाली कांग्रेसको प्रतिनिधित्व हुन संभावना बढेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:०८
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन

२३ असोज, रोल्पा । लामो रस्साकसी पछि रोल्पा प्रदेश सभा (ख) नेपाली कांग्रेसले आफ्नो भागमा पारेको छ । योसँगै माओवादी आधार इलाका भनिएको रोल्पामा पहिलोपटक नेपाली कांग्रेसको प्रतिनिधित्व हुन संभावना बढेको छ । यो अवसर नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पाएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा (क) भने यस अघि नै नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । प्रदेश सभा (ख) मा भने दुवै दलको दाबी रहेकोले आइतबार बिहान मात्रै सिट बाँडफाँट टुङ्गो लागेको हो ।

प्रदेश सभा (ख) नेपाली कांग्रेसको भागमा परेसँगै २०६४ साल यताका सबै निर्वाचनमा एकलौटी बर्चश्व कायम गरेको नेकपा माओवादी केन्द्रले पहिलो पटक एउटा क्षेत्र गुमाउने भएको छ ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.१ बाट नेकपा माओवादीका जयपुरी घर्तीमगर विजयी भएकी थिइन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले पछ्याएका थिए ।

निर्वाचन क्षेत्र नं. २ बाट नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार शान्तकुमार वली निकटतम प्रतिद्वन्द्वी बन्दा नेपाली कांग्रेसको उम्मेदवार भिमकुमारी बुढामगरले तेस्रो स्थान हासिल गरेकी थिइन ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए । उनलाई नेपाली कांग्रेसका लेखनाथ आचार्यले पछ्याएका थिए । क्षेत्र नं. २ बाट माओवादी केन्द्रकै ओनसरी घर्तीमगर विजयी भएकी थिइन् । उनलाई नेपाली कांग्रेसका भिमकुमारी बुढामगरले पछ्याएकी थिइन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन विजयी भएका थिए । प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएको सो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन निकटतम प्रतिस्पर्धी बनेका थिए ।

प्रदेश सभा निर्वाचनमा समेत वामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । प्रदेश सभा (क) मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद केसी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई हराउँदै विजयी भएका थिए । प्रदेश सभा (ख) मा माओवादी केन्द्रकै दिपेन्द्र पुनमगर नेपाली कांग्रेसका खगेन्द्रप्रकाश हमाललाई हराउँदै विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?