+
+

कास्कीमा गठबन्धनका २ जना र एमालेका १ जना बागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:४५

२३ असोज, पोखरा । कास्की क्षेत्र नम्बर २ र ३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ ।

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री महादेव गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालका विरुद्ध बागी उम्मेदवारी हालेका छन् ।

पार्टी नेतृत्वले आदर्श र सिद्धान्तविपरीत निर्णय गरेको भन्दै गुरूङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनको नाम कास्की–३ बाट समानुपातिकमा सिफारिस थियो तर बन्द सूचीमा उनको नाम छैन । उनी २०६५ सालमा कास्की क्षेत्र नम्बर २ बाट चुनाव जितेर पर्यटन राज्यमन्त्री बनेका थिए । उनी क्षेत्र नम्बर ३ का बासिन्दा भए पनि क्षेत्र नम्बर २ मा बागी उम्मेदवारी दिएका हुन् ।

उनले आफ्नो उम्मेदवारी बागी नभएर स्वतन्त्र उम्मेदवारी भएको दाबी गरे । ‘म जुन आदर्श र सिद्धान्तबाट कांग्रेसको राजनीतिमा लागेको थिएँ, जुन आदर्श पुरूष देउवालाई मानेको थिएँ, त्यो सबै कुल्चिएपछि म कांग्रेसभित्र रहने कुरा भएन,’ गुरूङले अनलाइनखरसँग भने, ‘त्यसैले म स्वतन्त्र रूपमै क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएँ ।’

यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् भने एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । गुरुङ कास्कीका हक्की र प्रभावशाली नेता मानिन्छन् ।

कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा एमाले र सत्तारुढ गठबन्धन दुबैका लागि बागी उम्मेदवारी परेको छ । नेकपा एमालेबाट टिकट पाएका दामोदर बैरागीले मनोनयन दर्ता गराएपछि एमाले प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी हालेका छन् ।

बैरागी कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङसँग पराजित भएका थिए ।

२०६४ सालदेखि लगातार आफ्नो नाम प्राथमिकताका साथ संघमा सिफारिस हुँदा पनि आफूले पाइसकेको टिकट खोसेर अर्कोलाई दिइएको भन्दै बास्तोलाले बागी उम्मेदवारी दिएका हुन् । ‘मैले जनताको कति धेरै सेवा गरेको रहेछु भनेर प्रमाणीत गर्न चाहान्छु,’ बास्तोलाले भने । बास्तोला एमालेको माछापुच्छ्रे गाउँपालिका कमिटी अध्यक्ष पनि थिए ।

कास्की क्षेत्र नम्बर ३ मै गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामजी बरालका विरुद्ध पनि बागी उम्मेदवारी परेको छ । माओवादी आन्दोलनमा बाबुआमा गुमाएकी परिवारकी सदस्य अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी हुन् । उनले उम्मेदवारी दर्ता भएको कागजातसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । सधैं सहिद परिवारको अपमान गरिएको भन्दै आफू बागी उम्मेदवार भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?