+
+

उम्मेदवार सागरलाई प्रश्न : तपाईंले उपवास बस्दैमा देउवा हार्छन् र ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:४२

२४ असोज, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालय पढेर फर्केका, अनि नेपालका प्रधानमन्त्री अक्सफोर्डजस्ता नामी ठाउँहरुबाट दीक्षित भएर आएमा देशले काँचुली फेर्ने विश्वास राख्ने सागर ढकाल यतिखेर डडेलधुरामा छन् । उनी आसन्न प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको विजय यात्रामा बिराम लगाउन चाहन्छन् । सट्टामा आफू जितेर आउन चाहन्छन् ।

उनले त्यसै अनुरुप हिजो मनोनयन दर्ता पनि गराइसके । धेरैलाई थाहा छ, कुनै बेला बीबीसी नेपाली सेवाको साझा सवालमा देउवालाई प्रश्न सोध्ने हुँदा उनलाई ‘बढ्ता बोल्दैहुनुहुन्छ तपाईं’ भन्दै देउवाले लगारेका थिए । देउवाले भनेका थिए, ‘कहाँबाट ल्याउने अक्सफोर्ड पढेका नेता ?’

तिनै ढकाल भने केही समयपछि अक्सफोर्ड पढ्न गए । हिमालय टीभीमा राजेन्द्र बानियाँलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका थिए, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पस पढ्दै गरेको विद्यार्थी अक्सफोर्ड जान अप्लाई गर्ने थुप्रैमध्ये छानिनु आफैंमा एउटा भाग्यको कुरा थियो ।’

अक्सफोर्ड सकेर उनी एसियाली विकास बैंकमा काम गर्न किर्गिस्तान गए । अहिले उनी कसैगरी देउवा हराउन लागेका छन् ।

यसै क्रममा उनले देउवा हराउन सकियोस् भन्ने मनोकामनासहित पूजा, उपवाससमेत सुरु गरेका छन् । आज सोमबार उनको उपवासको अन्तिम दिन हो । स्वास्थ्यले साथ दिए भोलि मंगलबारसम्म पनि यसलाई तन्काउन सकिने उनले अनलाइनखबरसँग बताएका छन् ।

हामीले ढकाललाई सोध्यौं, ‘तपाईंले उपवास बस्दैमा देउवा हार्छन् त ?’

ढकालको जवाफ- ‘यो उपवास देउवालाई हराउनमात्रै होइन, आफैं जित्न हो । खासमा म पहिले पनि उपवास बस्ने गर्थें । बेलायतमा, किर्गिस्तानमा बस्दा पनि यो उपवास गर्ने गरेको थिएँ । यसले स्वास्थ्य बलियो बनाउँछ । अनि जलवायु परिवर्तनका असरहरु रोक्न पनि उपवास आवश्यक छ ।’

ढकाल आफू पूर्ण शाकाहारी भएको, अहिलेसम्म अण्डासमेत नखाएको बताउँछन् । आफूले धर्मलाई वैज्ञानिक कारणसँग जोडेर हेर्ने गरेको उनले बताए । रुढीवाद भने आफू नमान्ने, तर धर्मका वैज्ञानिक फाइदाहरुलाई ग्रहण गर्न अभियान चलाउँदै आएको समेत उनले जानकारी दिए ।

अरु कुरा जे भए पनि चुनाव भनेको यस्तो लोकतान्त्रिक प्रतिस्पर्धा हो, जहाँ निश्चित क्षेत्रविशेषका मतदाताका मतमध्ये सबैभन्दा बढी ल्याउन सक्नुपर्छ । त्यसले नै जितको ग्यारेन्टी गर्छ । देउवा हराउन कस्सिएका ढकाल भने चुनावी प्रचार अभियानकै बीच उपवासतिर लागे । यसको राजनीतिक अर्थचाहिं के होला त ?

उनले भने, ‘चुनावको समयमा मैले अस्ति शनिबार रातिदेखि उपवास थालेको हुँ । यसलाई मैले चुनावमा मेरो विजयसँगै नयाँ युगको सुरुवातको शुभ घडी समेत मानेर उपवास बसें । देउवा त बुढो हुनुभयो, यसै पनि विश्रामतिर जानुहुन्छ । तर मेरो राजनीतिक यात्रा लामो छ । त्यसैले यसको समेत सुरुवातको शुभघडी मानेर मैले उपवास बसेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?