+
+

धनुषा १ मा मातृकालाई पुरानै प्रतिस्पर्धी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज २६ गते १९:३८

२६ असोज, जनकपुरधाम । धनुषा– १ मा पुरानै अनुहारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादव उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीको उम्मेदवारी परेको छ ।

२०७४ को निर्वाचनमा यादव २६ हजार ४१८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार २९६ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यादव २०६४ को पहिलो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसपटक यादव र कार्कीको प्रतिस्पर्धामा जनमत पार्टीका नेता किशोरी साह कमल पनि थपिएका छन् । उनी गत निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद हुन् ।

चुनावी तालमेलको क्रममा जसपाको भागमा संघ र प्रदेश दुवै परेपछि साहले एमाले परित्याग गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

गत निर्वाचनमा जसपा नेता कार्की संघीय समाजवादी फोरमबाट पराजित भएका थिए । त्यतिबेला उनलाई राष्ट्रिय जनता पार्टी (राजपा)को पनि साथ थियो । मधेसी गठबन्धनबाट उम्मेदवार बन्दा उनी यादवसँग ९ हजार १२२ को फराकिलो मतान्तरले पराजित भएका थिए ।

त्यसो त, २०७४ सालको निर्वाचनमा यादव वाम गठबन्धनका उम्मेदवार थिए र उनलाई एमालेको पनि साथ थियो । अहिले पुरानो गठबन्धन भत्किएको छ । यादवलाई आफ्नो पार्टीसँगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलको समर्थन छ । विपक्षी गठबन्धनमा रहेको एमालेको साथ यसपटक कार्कीलाई छ ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा सत्ता गठबन्धनका उम्मेदवार यादव कांग्रेस र लोसपाको साथले थप बलिया देखिएका छन् ।

सो चुनावमा कांग्रेस उम्मेदवारले १७ हजार ५५०, एमाले उम्मेदवारले १५ हजार ८१७, माओवादी केन्द्रका उम्मेदवारले १२ हजार २९२ र जसपा ९ हजार १० मत पाएका थिए ।
त्यस्तै लोसपा उम्मेदवारले ६ हजार ६२४, राप्रपाले ४ हजार ९३०, जनमत पार्टीले ३ हजार ३२०, एकीकृत समाजवादीले २ हजार ९३७ र स्वतन्त्र उम्मेदवारले ३ हजार ३२४ पाएका छन् ।

यो क्षेत्रमा सबैला, गणेशमान, चारनाथ र धनुषाधाम नगरपालिका पूर्णरूपमा पर्छ । यस्तै हंसपुर नगरपालिकाका २, ३, ५, ७ र ८ गरी पाँच वडा, मिथिला बिहारी नगरपालिकाका १, ३, ४ र ५ गरी चार वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ गरी २ वडा र मिथिला नगरपालिकाको ४ नं. वडा गरी ४५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

गठबन्धनअनुसार मत विभाजन गर्दा एमाले नेतृत्वको गठबन्धनको मत २४ हजार ८२७ पुग्छ भने सत्तारूढ गठबन्धनको ३९ हजार ४०३ मत छ । मधेसमा व्यक्तिसँग पनि उल्लेख्य मत हुने भएकोले किशोरी साह कमलको विद्रोहबाट एमाले नेतृत्वको गठबन्धनको मत केही प्रभावित हुनसक्ने सत्तारुढ गठबन्धनका नेताहरु बताउँछन् ।

दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राखेका साह आफू विजयी हुने दाबी गर्छन् । ‘अब जनता विगत जस्तो झुक्किँदैनन्, म एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो’, उनले भने, ‘यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो ।’

प्रदेशसभामा रहँदा घर भाडा नलिएको, पार्टीभन्दा माथि उठेर जनताको मुद्दा बालेको, आफ्नो तलबभत्ता विपन्नका लागि खर्च गरेको र सांसद विकास कोषको सदुपयोग गरेकोले जनमत आफूतिर रहेको उनको जिकिर छ ।

अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको र यसपटक एमालेको साथ र निर्वाचन क्षेत्रमा लामो समयदेखि जनताको निस्वार्थ काम गरेकोले आफूले जित्ने दावी गर्छन् जसपा उम्मेदवार दीपक कार्की ।

‘यो जिल्ला र क्षेत्रमा मैले लामो समय काम गरेको छु’ उनले भने, ‘मलाई विश्वास छ, मेरो कामको मूल्यांकन गरेर जनताले मलाई अवश्य जिताउँछन्,’ उनले भने ।

पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पक्कड, पाँच वर्षमा गरेको विकासका कामले चुनाव मातृका यादवले नै जित्ने माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवको दाबी छ । तर, यादवको जित कांग्रेस र लोसपाको भूमिका र मतमा निर्भर छ ।

माओवादी केन्द्रका धनुषा अध्यक्ष यादव भन्छन्, ‘दुवै प्रदेशसभामा कांग्रेसको उम्मेदवार रहेकाले अन्तर्घात हुँदैन ।’

प्रतिस्पर्धीहरूले मातृका यादवलाई ‘हेभिवेट’ भएपनि जिल्लामा जनताको अपेक्षाअनुरूप काम नगरेको आरोप लगाइरहेका छन् । प्रतिस्पर्धीहरू निर्वाचन क्षेत्रमै रहेर मतदातासँग निरन्तर अन्तरक्रियामा रहनु यादवको लागि प्रतिकुलता हो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?