+
+

चितवन कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी, त्रिपालमुनि बास

रासस रासस
२०७९ असोज २७ गते १३:०४

२७ असोज, चितवन । चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहारा लिनुपरेको छ ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन् । दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८ कैदीबन्दी छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताए ।

उनले भने, ‘कारागारमा अहिलेको समस्या भनेको कैदीबन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने रहेको छ ।’ कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उनले बताए ।

आचार्यले भने, ‘विभागमा सबै जानकारी गराएका छौं । सबैतिर यस्तै समस्या हो ।’ उनले थपे, ‘कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरणसमेत गरेका थियौँ । फेरि चाप बढ्न थाल्यो ।’

चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उनले बताए । स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उनले जानकारी दिए ।

दुई सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा सात सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन् । चार नाबालिक रहेको आचार्यले जानकारी दिए ।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने हुँदा कैदीबन्दीको सङ्ख्या दिनहुँ बढ्दै गएको आचार्यले बताए । विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी सङ्ख्यामा कैदीबन्दी ल्याइन्छ । उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?