+
+

निर्देशिका नआउँदा मर्जरमा जाने कम्पनीका सेयरधनी मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते २०:५९

२७ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का र फुकुवा गर्नेबारे निर्देशिका ल्याउन ढिलाइ गरेको छ । यसले करिब ३ दर्जन कम्पनीका सेयर धनी मर्कामा परेका छन् ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का तथा फुकुवाको सबै जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ । राष्ट्र बैंकले तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ पाँचौ संशोधन गर्दै उक्त व्यवस्था गरेको थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्दै गर्दा मर्जरमा जाने कम्पनीको कारोबार रोक्का हुँदा  सेयरधनीलाई समस्या भएको भन्दै कारोबार रोक्का गर्न नहुने बताएका थिए । बोर्ड अध्यक्ष हमालकै जोडबलमा सार्न पहिलो साता मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का धितोपत्र सम्बन्धी नियमका आधारमा हुने उल्लेख गरेका थिए ।

मौदि्रक नीतिको उक्त व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले मर्जर सम्बन्धी विनियमावलीमा संशोधन गरेको छ । ‘गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ,’ राष्ट्र बैंकले गरेको संशोधित व्यवस्थामा भनिएको छ ।

मौदि्रक नीतिमा आएको उक्त व्यवस्थाको आधारमा राष्ट्र बैंकले मर्जर सम्बन्धी विनियमावली संशोधन गर्दै मर्जरमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का र फकुवा गर्ने जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ ।

तर, नेपाल धितोपत्र बोर्डले  संगठित संस्था एक-आपसमा गाभ्ने गाभिने तथा प्राप्ती कारोबार रोक्का तथा फुकुवा सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा थप अन्यौलता बढेको छ । धितोपत्र बोर्डले २६ साउनमै संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा तयार गर्दै आवश्यक सुझावका लागि वेबसाइटमा राखेको थियो ।

तर, मस्यौदा तयार गरेर सुझावको लागि राखेको २ महिना हुँदा समेत बोर्डल  निर्देशिका कार्यन्वयन गरेन । यसअनुसार राष्ट्र बैंकले व्यवस्था संशोधन गरेपछि सेयरधनी भने मर्कामा नै पर्ने अवस्था आएको छ ।

बोर्डको प्रस्तावित व्यवस्थाअनुसार प्रारम्भिक समझदारी भएपश्चात धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोवार साधारण सभा सम्पन्न नभएसम्म रोक्का राख्नुपर्ने उल्लेख छ ।

अन्य सेयरधनीको भने एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोवार रोक्का राख्नुपर्ने उल्लेख छ ।

बोर्डले सोही प्रस्तावित व्यवस्था कार्यन्वयन नगर्दा राष्ट्र बैंकले सेयर कारोबार रोक्का र फुकुवा गर्ने अधिकार बोर्डलाई दिएपनि सेयरधनीले तत्काल राहन नपाउने भएका छन् ।

राष्ट्र बैंकले भने अब मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले पारम्भिक सम्झौता भएपछि  संशोधित कार्यविधिमा भएको व्यवस्था पुरा गरेका संस्थाको मर्जर प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष रमेश हमाल संगठित संस्था एक-आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ तिहारपछि मात्रै कार्यन्वयनमा जाने बताउँछन् । प्रस्तावित मस्यौदामाथि बिमा समिति, विद्युत् नियमन आयोग, नेपाल बैंकर्स संघ लगायत सरोकारवालाको राय लिएर बोर्डको कानुन समितिले आवश्यक संश्ोधन गरिरहेको बताउँछन् । तिहारलगत्तै त्यसलाई कार्यन्वयनमा लैजाने उनको तर्क छ ।

बोर्डको अध्यक्ष नियुक्त भएर पदभार ग्रहण गदै मर्जरका सेयर कारोबार रोक्का हुँदा लगानीकर्ता मर्कामा परेकेा भन्दै छोटो अवधिको लागि मात्रै सेयर कारोबार रोक्का हुने व्यवस्था गर्ने बताएका थिए ।

तर, मस्यौदा तयार भएको दुई महिनामा पनि निर्देशिका जारी गर्न नसक्दा राष्ट्र बैंकले बोर्डलाई जिम्मा दिएपनि बोर्ड आफैं कार्यानवयन गर्न नसक्ने अवस्थामा पुगेको छ । बोर्डकै ढिलासुस्तीले सेयर लगानीकर्ताको मर्जरमा रहेको कम्पनीको सेयर थप केही समय बन्धक बन्ने भएको छ ।

बोर्डले निर्देशिका कार्यन्वयन गर्न नसक्दा सेयर लगानीकर्तालाई परेको मर्का महसुस भएको भन्दै बोर्डले जतिसक्दो छिटो निर्देशिका  कार्यान्वयन गर्ने अध्यक्ष हमाल बताउँछन् ।

बोर्डले प्रस्तावित निर्देशिका कार्यान्वयन गर्न नसक्दा अहिले पनि ३४ सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का हुँदा हजारौं  लगानीकर्ताको  सेयर बन्धक बनेको छ ।

मर्जर सम्झौता भएर वर्षौसम्म रोक्का हुँदा तयसको मारमा लगानीकर्ता पर्ने गरेका छन् । जुन एजेण्डा प्राथमिकता दिदै आए थिए त्यसैलाई कार्यान्वयन गर्न ढीलाई गर्दा बोर्ड अध्यक्ष हमालमाथि पनि प्रश्न उठेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?