+
+

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरोबाट को–को होलान् बिदा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १९:५२

२९ असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा आइतबारदेखि सुरू हुँदैछ । एक हप्तासम्म चल्ने उक्त महाधिवेशनबाट सीपीसीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ ।

सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ । तर सर्वोच्च नेता अर्थात, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन । सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ ।

अहिलेसम्म को पार्टी नेतृत्वमा रहन्छ, कसको बढुवा हुन्छ र को बाहिरिन्छ भन्ने विषयमा अनुमान गर्न सकिएको छैन । यद्यपि, विधानमा व्यवस्था भएअनुसार २५ जनाको पोलिटब्यूरोबाट उमेर हद पार गरेका केही नेताहरू बाहिरिनसक्ने छन् । तर उमेर पुगे पनि पार्टी महासचिव सीका विश्वासपात्र समेत रहेका केही नेताहरू समेत नेतृत्वबाट बिदा हुने हुँदा विधान संसोधन गरेर उनीहरू पुनर्स्थापना हुन सक्नेछन् । त्यस विषयमा अहिलेसम्म कुनै सूचना सार्वजनिक भइसकेको छैन ।

सीपीसीको १९औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका २५ जना पोलिटब्यूरो र त्यसैमध्येका ७ जना पोलिटब्यूरो स्थायी समिति तहका केही नेताहरू यो महाधिवेशनबाट बिदा हुनसक्ने छन् । सीपीसीको २५ जनाको पोलिटब्यूरो नै त्यहाँको नीति निर्माण गर्ने सबभन्दा उपल्लो तहको राजनीतिक नेतृत्व हो । जसको हैसियत सरकारभन्दा पनि माथि हुन्छ ।

उमेर हदका कारण स्थायी समितिका मात्रै महासचिव सीसहित तीन जना बिदाइ हुने लाइनमा छन् । सीलाई छोड्ने हो भने पनि उनीपछिका तेस्रो वरीयतामा रहेका लि चान्सु र सातौं वरीयताका हान जिखङ बिदाइ हुनेछन् । अहिले ७२ वर्ष पुगेका ली पार्टीको पोलिटब्यूरो स्थायी समितिसँगै चिनियाँ संसद राष्ट्रिय जन कंग्रेसका अध्यक्ष समेत हुन् । सन् १९५० मा जन्मिएका उनी सीका विश्वास पात्रमध्ये मानिन्छन् । अर्का पोलिटब्यूरो स्थायी समिति सदस्य हान भर्खरै ६८ वर्षका पुगेका छन् । उनी सरकारका कार्यकारी प्रधानमन्त्री समेत हुन् ।

त्यसपछि पोलिटब्यूरो तहका वाङ चेन (७१ वर्ष), लिउ ही (७० वर्ष), सु किलियाङ (७२ वर्ष), सन चनलेन (७२ वर्ष), याङ जिची (७२ वर्ष), याङ सियातु (६९ वर्ष), चाङ युसिया (७२ वर्ष), चेन सी (६९ वर्ष) र गो सेनखन (६८ वर्ष) बिदाइ हुनसक्ने छन् ।

चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार सीपीसीको यो महाधिवेशनले पार्टी महासचिव, केन्द्रीय सैन्य आयोग (सीएसी) अध्यक्ष र सीपीसीका ३७० जना केन्द्रीय सदस्य चयन गर्ने छ । जसमा २०० जना मताधिकार प्राप्त केन्द्रीय सदस्य हुनेछन् भने १७० जना मताधिकार विहिन वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

साथै महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिले पार्टीका २५ जना पोलिटब्यूरो सदस्य चयन गर्नेछ । करिब एक हप्तासम्म चल्ने महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समिति अर्थात प्लेनमबाट ती २५ जना पोलिटब्यूरो सदस्य चयन हुनेछन् । त्यसपछि नवनिर्वाचित उक्त पोलिटब्यूरोको बैठकबाट २५ जनामध्ये ७ जना पोलिटब्यूरो स्थायी कमिटीमा चुनिने छन् ।

१९औं राष्ट्रिय महाधिवेशनबाट चयन भएका २५ जना पोलिटब्यूरो सदस्यहरूः

सी जिनपिङ – महासचिव, राष्ट्रपति
ली केचेङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, प्रधानमन्त्री
लि चान्सु (७२) – पोलिटब्यूरो स्थायी समिति सदस्य, अध्यक्ष राष्ट्रिय जनकंग्रेस
वाङ याङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, राजनीतिक सल्लाहकार समिति अध्यक्ष
वाङ हुनिङ (६७) – पोलिटब्यूरो स्थायी समिति सदस्य, सेक्रेटरी केन्द्रीय सचिवालय
चाओ लेजी (६५) – पोलिटब्यूरो स्थायी समिति सदस्य, सेक्रेटरी अनुशासन आयोग
हान जिखङ (६८) – पोलिटब्यूरो स्थायी समिति सदस्य, कार्यकारी उपप्रधानमन्त्री

पोलिटब्यूरो सदस्यहरूः

दिन सुइस्याङ (६०) – पोलिटब्यूरो सदस्य, सेक्रेटरी केन्द्रीय सचिवालय, निर्देशक पार्टी केन्द्रीय कार्यालय र राष्ट्रपति कार्यालय, निर्देशक राष्ट्रिय सुरक्षा आयोग
वाङ चेन (७१) – पोलिटब्यूरो सदस्य, उपाध्यक्ष राष्ट्रिय जनकंग्रेस
लिउ ही (७०) – पोलिटब्यूरो सदस्य, निर्देशक अर्थ तथा वाणिजय केन्द्रीय आयोगको कार्यालय
सु किलियाङ (७२) – पोलिटब्यूरो सदस्य, जर्नेल, उपाध्यक्ष केन्द्रीय सैन्य आयोग
सन चनलेन (७२) – पोलिटब्यूरो सदस्य, उपप्रधानमन्त्री

ली सी (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी गुवाङदोङ प्रान्त
ली किआङ (६३) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी सांघाई प्रान्त
ली होङचाङ (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी तियानचिज प्रान्त
याङ जिची (७२) – पोलिटब्यूरो सदस्य, निर्देशक केन्द्रीय विदेश विभाग आयोग
याङ सियातु (६९) – पोलिटब्यूरो सदस्य, उपनिदेर्शक केन्द्रीय अनुशासन आयोग

चाङ युसिया (७२) – पोलिटब्यूरो सदस्य, जर्नेल, उपाध्यक्ष केन्द्रीय सैन्य आयोग
चेन सी (६९) – पोलिटब्यूरो सदस्य, प्रशिक्षण विभाग प्रमुख
चेन क्वाङ्गो (६६) – पोलिटब्यूरो सदस्य, उपप्रमुख केन्द्रीय ग्रामिण कार्य समूह, पार्टी पूर्वसेक्रेटरी सिन्जियाङ र तिब्बत
चेन मिनर (६२) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी चुंगचींग प्रान्त

हु चुन्चुआ (५९) – पोलिटब्यूरो सदस्य, उपप्रधानमन्त्री
गो सेनखन (६८) – पोलिटब्यूरो सदस्य, सेक्रेटरी केन्द्रीय कानुन विभाग
हाङ कुनमीन (६५) – पोलिटब्यूरो सदस्य, केन्द्रीय प्रचार विभाग प्रमुख
काइ ची (६६) – पोलिटब्यूरो सदस्य, पार्टी सेक्रेटरी बेइजिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?