+
+

बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:५३

काठमाडौं । उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् ।

क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको थियो, तर सन्तोष पन्तको जादू चलेन ।

अब सप्ताहन्तमै ओपनिङ गर्न नसकेको यो फिल्मले विकडेजमा आफ्नो उपस्थितिलाई कसरी दर्शाउँछ, त्यो महत्वपूर्ण प्रश्न हो । किनभने शनिबार बिहान समेत क्यूएफएक्सको बढी ‘रेभेन्यु’ आउने हलमध्येको भक्तपुरमा जम्मा १० प्रतिशत अकुपेन्सी थियो ।

केही तत्व जसले गर्दा ‘हिजोआजका कुरा’ले बक्स अफिसमा आफूलाई अब्बल सावित गर्न सकेन ।

मुख्यतः यसको ट्रेलरले दर्शकमाझ अपील सिर्जना गर्न सकेन । रिलिजअघि जुन खालको गति र आकर्षण ट्रेलरसहित पब्लिसिटीले गर्नुपर्थ्यो त्यो हुन सकेन । कम्तीमा कलाकारको कारण पनि दर्शकको अकुपेन्सी राम्रै हुने आशा थियो ।

त्यो पनि भएन, फिल्म कलाकारले होइन कन्टेन्टले चल्नुपर्छ भन्ने दर्शकीय चेतना र सोच ओपनिङमा बाधक बनिदियो । सन्तोष पन्त, ऋचा शर्मा, दिव्यदेवजस्ता चल्तीका कलाकारको उपस्थिति हुँदा पनि दर्शकले रुचाएनन् । ओपनिङमा स्टारडमको पनि अर्थ हुन्छ ।

‘हिजोआजका कुरा’ टीभीमा आउन छाडेको दशक बितिसकेको छ । यसबीचमा एक पुस्ताको खाडल बनिसक्यो । नयाँ पुस्तालाई त्यतिबेलाको टीभी श्रृंखलाबारे जानकारी छैन । नयाँ पुस्तासँग त्यो ब्रान्ड जोडिन सकेन ।

कमजोर समीक्षा अर्को मुख्य कारण हो । ओपनिङ कमजोरै भए पनि बलियो वर्ड अफ माउथ भए फिल्मले आइतबारदेखि पिकअप लिन्छ । तर ‘हिजोआजका कुरा’को हकमा यो पनि भएन । समीक्षकले कमजोर फिल्म भन्दै यसको आलोचना गरे ।

‘हिजोआजका कुरा’ कमजोर हुँदाको फाइदा ‘दुई नम्बरी’लाई मिलेको देखिएको छ । बरु दोस्रो शनिबार पनि दयाहाङ राई स्टारर यो फिल्म बक्स अफिसमा आक्रामक रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?