+
+

यी हुन् सीपीसीबाहेक चीनका अन्य ८ राजनीतिक दल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १९:०३
२० औं राष्ट्रिय महाधिवेशनस्थल ।

३० असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा त्यहाँको कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशन चलिरहेको छ ।

कम्युनिस्ट शासन प्रणालीमा चलिरहेको चीनमा त्यहाँको कम्युनिस्ट पार्टी सरकारभन्दा पनि माथि हुन्छ । जसले चीनको नीति निर्माण गर्नेदेखि शासन पद्धति सञ्चालनसम्मका सबै काम गर्छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र र उदीयमान शक्ति राष्ट्र चीनले लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरेको आरोप पनि लाग्ने गरेको छ । सीपीसी र त्यसको नेतृत्व निकै शक्तिशाली भएको हुँदा धेरैले चीनलाई एक दलीय व्यवस्था भएको मुलुकका रुपमा चिन्ने गरेका छन् ।

तर आश्चार्य लाग्न सक्छ चीनमा अरू पनि आठवटा राजनीतिक दलहरू छन्, जसले आफूलाई लोकतान्त्रिक राजनीतिक दलका रूपमा चिनाउँछन् । ती राजनीतिक दलहरूको उपस्थिति चीनको राष्ट्रिय जनकंग्रेसमा समेत छ ।

चीनको संविधानले नै सीपीसीलाई राष्ट्रको प्रमुख पार्टीका रूपमा परिभाषित गरेको छ । त्यही संविधानले अन्य आठवटै पार्टीलाई पनि मुलुकको शासन व्यवस्थामा भाग लिने अधिकार दिएको छ । तर व्यवहारिक हिसाबले भने कम्युनिस्ट पार्टीले चाहेको खण्डमा मात्र तिनीहरूले त्यो अधिकार प्राप्त गर्ने गरेका छन् ।

तीमध्ये सबभन्दा ठूलो पार्टी चाइना डेमोक्रेटिक लिग हो भने सबभन्दा सानो पार्टी ताइवान प्रजातान्त्रिक स्वायत्त लिग हो ।

यी हुन् सीपीसीबाहेक चीनका आठवटा पार्टीहरूः

चाइना डेमोक्रेटिक लिग

यो पार्टी सन् १९४१ मा स्थापना भएको हो । शिक्षा, संस्कृति, कला र सञ्चार माध्यमसँग सम्बन्धित व्यक्तिहरू यो पार्टीमा आवद्ध रहँदै आएका छन् । हाल यो पार्टीका चीनमा मात्रै ३ लाख ३० हजार ६ सय पार्टी सदस्यहरू रहेका छन् ।

साथै, चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा चाइना डेमोक्रेटिक लिगका ५७ जना सांसद छन् । त्यस्तै राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका १७५ जनामध्ये यो पार्टीका ९ जना छन् ।

चाइना राष्ट्रिय प्रजातान्त्रिक निर्माण संघ

सन् १९४५ मा स्थापना भएको यो पार्टीमा व्यापारी र उद्यमीहरू आवद्ध छन् । हाल यो पार्टीका २ लाख ४ हजारभन्दा बढी सदस्य रहेका छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २,९८० सिटमा चाइना राष्ट्रिय प्रजातन्त्रिक निर्माण संघका ५७ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ३ जना सदस्य रहेका छन् ।

जिउसान समाज

मध्यमदेखि उच्च तहका बौद्धिक, विश्वविद्यालयका प्रोफेसर र शिक्षकहरू यो पार्टीमा आवद्ध छन् । सन् १९४६ मा स्थापना भएको यस पार्टीका हाल १ लाख ९५ हजार ७०२ जना पार्टी सदस्य छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा जिउसान समाजका ६३ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ४ जना सदस्य रहेका छन् ।

चिनियाँ कोमिन्ताङ क्रान्तिकारी समिति

यो पार्टीमा कोमिन्ताङ समूहका समर्थकहरू छन् । जसमा कोमिन्ताङको चीनमा प्रभाव रहँदाको अवस्थामा उक्त पार्टीमा लागेकाहरूका परिवारहरू छन् । सन् १९४८ मा स्थापना भएको यस पार्टीमा १ लाख ३१ हजार ४१० जना पार्टी सदस्य रहेका छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा चिनियाँ कोमिन्ताङ क्रान्तिकारी समितिका ४४ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ६ जना सदस्य रहेका छन् ।

चिनियाँ किसान मजदुर प्रजातन्त्रिक पार्टी

यसमा पनि मध्यमदेखि उच्च तहका वौद्धिकहरूको वर्चस्व छ । विशेष गरी मेडिकल, स्वास्थ्य, जनसंख्या र पर्यावरणको विषयलाई लिएर आवाज उठाउनेहरू यो दलमा आवद्ध रहेका छन् । सन् १९३० मा स्थापना भएको यस पार्टीका हाल १ लाख ७७ हजार ९४३ जना पार्टी सदस्यहरू छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा चिनियाँ किसान मजदूर प्रजातन्त्रिक पार्टीका ५४ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ७ जना सदस्य रहेका छन् ।

प्रजातन्त्र प्रवर्द्धनका लागि चीन संघ

सन् १९४५ मा स्थापना भएको यस पार्टीका हाल १ लाख ७६ हजार ७ सय १९ जना पार्टी सदस्य छन् । यो पार्टीमा पनि मध्यमदेखि उच्च तहका बौद्धिक वर्गका राजनीतिज्ञहरू आवद्ध छन् । जसमा विशेष गरी शिक्षा, संस्कृति, छापाखाना, मिडियाका साथै टेक्निसियन, इन्जिनियर र रिसर्च क्षेत्रका मानिसहरू हुन्छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा प्रजातन्त्र प्रवद्र्धनका लागि चीन संघका ५८ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ७ जना सदस्य रहेका छन् ।

चाइना चि गोङ दल

यो पार्टी सन् १९२५ मा स्थापना भएको हो । जसका ४८ हजार पार्टी सदस्य छन् । विभिन्न कारणले विदेशमा बसोबास गर्ने चिनियाँहरू यो दलमा आवद्ध छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा चाइना चि गोंग दलका ५८ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ३ जना सदस्य रहेका छन् ।

ताइवान प्रजातन्त्रिक स्वायत्त लिग

यस पार्टीमा चीनको कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने ताइवानीहरू आवद्ध छन् । सन् १९४७ मा स्थापना भएको यस पार्टीका हाल ३ हजार मात्रै पार्टी सदस्य छन् ।

त्यस्तै चीनको राष्ट्रिय जनकंग्रेसमा कुल २९८० सिटमा ताइवान प्रजातन्त्रिक स्वायत्त लिगका १३ जना सांसद छन् । साथै, राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा १७५ जनामध्ये यो पार्टीका ३ जना सदस्य रहेका छन् ।

(साउथ चाइना मर्निङ पोस्टको सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन विशेषांकबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?