+
+

जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १८:२९

३१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरेको छ ।

३६ पृष्ठ लामो प्रतिवद्धतापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यको रुपमा प्रस्तुत गरिएको छ । जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी मूल नारा बनाएको छ ।

पार्टीमा डा. बाबुराम भट्टराई रहँदा हरेक राजनीतिक दस्तावेज र चुनावी घोषणापत्रको भूमिकामा जनयुद्ध शब्द समेटिएको हुन्थ्यो । पार्टीबाट भट्टराई हटेसँगै जनयुद्धको ठाउँमा ‘दश वर्षे सशस्त्र विद्रोह’ शब्द प्रयोग गरिएको छ ।

संविधानको रक्षा गर्न भन्दै ‘प्रतिगमनविरोधी गठबन्धन’मा रहेको जसपा चुनावको मुखमा नेकपा एमाले नेतृत्वको गठबन्धनमा गएको थियो । यो राजनीतिक कित्ता परिवर्तनको प्रभाव घोषणापत्रमा पनि देखिएको छ । चुनावी प्रतिबद्धतापत्रमा जसपाले यसअघि भन्दै आएको ‘ओली प्रतिगमन’ र एमालेको भूमिकाबारे कुनै सन्दर्भ उल्लेख गरिएको छैन ।

‘हामीले अन्य राजनीतिक दलको मूल्यांकनसँगै एमालेको उक्त कदमबारे पनि उल्लेख गरेका थियौं’ घोषणापत्र निर्माणमा संलग्न एक नेताले भने, ‘पछि घोषणापत्रमा अन्य दलको सन्दर्भ उल्लेख नगर्ने सहमति भयो र ती सन्दर्भहरू हटाइयो ।’

प्रतिवद्धतापत्रमा कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञा दिइएको छ । ‘नेपालमा पनि धेरैथरि कम्युनिष्ट पार्टीहरुले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्,’ प्रतिबद्धतापत्रमा भनिएको छ ।

जसपाले कांग्रेस पुँजीवादी उदारवादी विचारधारा बोक्ने पार्टी भए पनि यो इतिहासकै ब्याजमा धानिएको र पारम्पारिक राजनीति गरिरहेको विश्लेषण गरेको छ । जसपाको निष्कर्ष छ, ‘यो पार्टीले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन ।’

प्रतिवद्धतापत्रमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न जसपा पार्टी आवश्यक पर्ने दावी गरिएको छ ।

जसपाले संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक गन्तव्य बनाउने उल्लेख गरेको छ । हाम्रो पार्टी प्रशासनिक सङ्घीयताको विकल्पमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताको ढाँचामा पुनः राज्यको पुनर्संरचना गर्ने सङ्कल्प प्रस्तुत गर्दछ’, प्रतिबद्धतापत्रमा लेखिएको छ ।

जसपाले संविधान संशोधन र परिमार्जन तथा पुनर्लेखनलाई पनि आफ्नो चुनावी नारा बनाएको छ । पार्टीले समावेशी विकास र समतामूलक समृद्धिका लागि काम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

‘अब देशमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गराउनु राज्यको प्राथमिक दायित्व हुनेछ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?