+
+
मोरङ ४ (ख) :

मुख्यमन्त्रीका आकांक्षी आमनेसामने

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज ३१ गते २०:२८

३० असोज, विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दौडमा थिए । अन्तिम समयसम्म काठमाडौं बसेर टिकटका लागि लबिइङ गरिरहेका थिए ।

सत्ता गठबन्धनको भागवण्डामा मोरङ ४ नेकपा माओवादी केन्द्रले लिएपछि पराजुलीले ४ को ख बाट प्रदेशसभा सदस्यको टिकट दाबी गरे । कृष्णप्रसाद सिटौला पक्षका पराजुलीसँगै डा. शेखर कोइराला समूहका नेता गुरुराज घिमिरेको पनि यो क्षेत्रमा दाबी थियो ।

टिकट नपाउने जस्तो देखेपछि मनोनयनको अघिल्लो दिन पराजुलीले एमाले नेता जीवन घिमिरेलाई फोन गरेर टिकटका लागि जोडबल गर्न आग्रह गरे । किनकी जनता समाजवादी पार्टी (जसपा) सँग भएको चुनावी तालमलेमा एमालेले मोरङ– ४ को (ख) छाडेको थियो ।

मनोनयन दर्ताको अघिल्लो रातभर बसेको कांग्रेस नेताहरुको बैठकमा मोरङ– ४ को ‘क’ मा घिमिरे र ‘ख’ मा पराजुलीलाई उठाउने सहमति भयो । पराजुलीले विहान करिब २ बजे टिकट पाए । एमालेले पनि मनोनयन दर्ता सुरु भएको २ घण्टापछि जसपालाई छाड्ने भनिएको क्षेत्रमा घिमिरेलाई टिकट दियो । ‘उहाँहरु दुवै जनाले एक अर्काविरुद्ध लड्न चाहनुभएको थिएन’, कांग्रेसका एक नेताले भने, ‘पार्टीबाट टिकट पाएपछि दुवैजना मैदानमा हुनुहुन्छ ।’

चुनावी अभियान सञ्चालन गरिरहेका एमाले नेता घिमिरे र कांग्रेस नेता पराजुली प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षीसमेत हुन् । दुवै नेताले सार्वजनिक रुपमा चुनाव जितेर आए मुख्यमन्त्री बन्ने बताउँदै आएका छन् ।

विराटनगरका पूर्व मेयर पराजुली पार्टी नेतृत्वले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि प्रदेशमा उम्मेदवार भएको बताउँछन् । ‘महानगरको मेयर भइसकेका कारण मुख्यमन्त्रीमा स्वभाविक दाबी छ’, पराजुली भन्छन्,‘नेताहरुले मुख्यमन्त्री बनाउने भनेपछि प्रदेशमा आएँ ।’ उनी आफू चुनाव जित्ने दाबी गर्छन् । महानगरको नेतृत्वमा बसेर गरेको कामका कारण चुनाव जित्ने उनी बताउँछन् ।

पराजुलीका प्रतिस्पर्धी एमाले उम्मेदवार घिमिरेले पनि चुनावी अभियानका क्रममा आफूलाई भावी मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गरेका छन् । उनी शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए ।

एमालेमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका उनी २०७४ सालको निर्वाचनपछि प्रदेशमा पार्टीको संसदीय दलको नेता छनोटका लागि भएको मतदानमा आफ्नो पक्षका नेता भीम आचार्यलाई छाडेर शेरधन राईको पक्षमा उभिएका थिए ।

सामाजिक विकास मन्त्री हुँदा गरेका कामलाई देखाएर उनले भोट मागिरहेका छन् । कोरोना महामारीका बेला कोसी अस्पतालमा निशुल्क कोभिड अस्पताल सञ्चालन गरेको, विराटनगरको शहीद मैदानमा रात्रीकालीन फुटबल सञ्चालनका लागि फ्लडलाइट जडान गरेकोलगायत काम देखाएर भोट मागिरहेका हुन् ।

उनले आफूले चुनाव जित्ने दाबी गरे । मुख्यमन्त्रीबारे सोधिएको प्रश्नमा उनी भन्छन्, ‘अहिले चुनावी घरदैलोमा छौं, चुनाव जित्ने प्रमुख विषय हो । भोलि प्रक्रियामा गएपछि दाबी रहन्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?