+
+

जयरानीको सान : ३ स्वर्ण जित्दा सबैमा कीर्तिमान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १ गते १६:०२

१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा जयरानी थारुले ३ स्वर्ण जितिसकेकी छिन् ।

आफूले खेलेका इभेन्टमा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी २१ वर्षीया जयरानी नवौं राष्ट्रिय खेलकुदमा छाएकी छिन् ।

तेस्रो पटक राष्ट्रिय खेलकुद खेलिरहेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानीका अझै २ वटा स्पर्धा बाँकी छ ।

४०० मिटर हर्डल्स, १०० मिटर हर्ल्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी उनले आज (मंगलबार) लङजम्पमा कीर्तिमानसहित अर्को स्वर्ण जितेकी हुन् ।

हर्डल्सको दुवै विधामा आफ्नै कीर्तिमानमा सुधार गरेकी जयरानीले लङजम्पमा निशा चौधरीको कीर्तिमान तोडिन् ।

पोखरा रंगशालमा मंगलबार बिहान सम्पन्न लङजम्पमा लुम्बिनी प्रदेशकी निशा चौधरीलाई ९ सेन्टिमिटरले पछि पारिन् । काठमाडौंमा असारमा भएको १२औं राष्ट्रपति रनिङ शिल्डमा निशाले राखेको ५ मिटर ४७ सेन्टिमसटरको कीर्तिमान तोडेकी हुन् । जयरानीले ५ मिटर ५८ सेन्टिमिटर जम्प गरिन् ।

‘तीनवटा इभेन्टमा कीर्तिमानसहित स्वर्ण जित्दा एकदमै खुशी लागेको छ’, जयरानीले छोटो प्रतिक्रिया दिँदै भनिन् ।

जयरानीले एथ्लेटिक्स खेल्न थालेको ८ वर्ष भयो । सातौंदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी उनले आठौं राष्ट्रियमा स्प्रिन्ट र लङजम्प विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।

रजत जितेकी लुम्बिनीकी निशाले ५ मिटर ४९ सेन्टिमिटर जम्प गरिन् । एपीएफकी शिला चौधरीले ५ मिटर ३१ सेन्टिमिटर जम्प गर्दै कास्य जितिन् ।

नेपाल पुलिसको जागीर छाडेर केशरी दुवई पलायन भएको १ वर्षपछि २०७५ सालमा जयरानी ‘खेलाडी कोटा’मार्फत त्रिभुवन आर्मी क्लबमा पुगेकी हुन् । त्यसअघि उनले दुईवटा राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिप–२०७४ मा आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेकी थिइन् ।

‘लङजम्पमा स्वर्ण सोचेकै थिइनँ’

लङजम्पमासहित तीन स्वर्ण जित्दा उनमा खुशीको सिमा छैन । ‘मैले हर्डल्सका दुई विधामा मात्र स्वर्ण जित्ने लक्ष्य राखेको थिएँ । लङजम्पमा जित्छु भन्ने सोचेको थिइँन,’ जयरानीले अनलाइनखबरसँग खुशी साटिन्, ‘एकदमै खुशीको क्षण हो । नसोचेको कुरा पूरा गरेँ ।’

जयरानीले ४०० मिटर हर्डल्समा १ मिनेट ०७.२ सेकेण्डको आफ्नै ह्याण्ड टाइमिङ कीर्तिमान सुधार गर्दै १ मिनेट ०४.१३ सेकेण्डको नयाँ कीर्तिमान बनाइन् ।

त्यसपछि उनले १०० मिटर हर्डल्समा पनि कीर्तिमान सहित स्वर्ण जितिन् । आफ्नै नाममा रहेको १५.२० सेकेण्डको टाइमिङ सुधार गर्दै हिटमै १५.१६ सेकेण्डको कीर्तिमान बनाएकी उनले फाइनल चरणमा भने १५.६९ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

४४औं राष्ट्रिय एथ्लेटिक्समा उत्कृष्ट प्रदर्शन

जयरानीले यसअघि काठमाडौंमा असारमा भएको ४४औं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । त्यतिबेला ५ विधामा भाग लिएकी उनले ४ स्वर्ण र १ रजत जितिन् र सर्वोत्कृष्ट खेलाडी पनि बनिन् ।

८ वर्षदेखि एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दै आएकी जयरानीका लागि राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता आफ्नो क्षमता देखाउने अवसर बनेको थियो ।

त्यसअघि उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् । आठौंमा तीन इभेन्टमा भाग लिए पनि स्वर्ण जित्न सकिनन् । निरन्तरको मिहिनेत र प्रयासको फल एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदमा पनि देखिएको छ ।

‘मैले गेम खेल्न थालेको ८ वर्ष भयो । नवौंमा तीन कीर्तिमानसहित गोल्ड मेडल जितेँ । यसमा खुशी छु र भविष्यमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिने सोच छ ।’

राष्ट्रिय प्रतियोगितादेखि राष्ट्रिय खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएकी जयरानीको लक्ष्य देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने रहेको छ । त्यसका लागि अझ कडा प्रशिक्षण गरेर अघि बढ्ने उनको योजना छ । ‘अबको लक्ष्य भनेको देशका लागि प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा खेल्ने र त्यसमा राम्रो प्रदर्शन गर्ने छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?