+
+

३ दिनपछि आफन्तले बुझे शरद र रोशनीको शव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १७:०५

१ कात्तिक, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।

असाेज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र साेही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव मंगलबार दिउँसो आफन्तले बुझेका हुन् ।

यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको रोशनीका काका टेकसिंह महतराले बताए ।

मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिए । उनीहरुको शव शीतलपुरमा बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख वलीले घटनाका विषयमा अनुसन्धान भइरहेकाे र नयाँ तथ्य फेला नपरेको बताएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले १० जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । प्रहरी प्रमुख वलीले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको र केही व्यक्ति पक्राउ पनि परेको बताए । तर घटनामा उनीहरुको संलग्नता पुष्टि भइसकेको छैन ।

गत असोज २७ राति घरबाट हराएका शरद–रोशनी शव आइतबार दमार गाउँको जंगलमा फेला परेको थियो । उनीहरु दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएका थिए । किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन् । किशोर सानै उम्मेरदेखि मामाघरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?