+
+

अपूर्व क्षितिजलाई फेरि पक्राउ गर्नु जरुरी थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते २१:४२

१ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भन्दै पक्राउ परेर छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले सोमबार दोस्रो पटक पक्राउ गर्‍यो । आरोप नयाँ होइन, विगतमा उनी जे कसूरमा पक्राउ परेका हुन्, त्यही अभियोगमा प्रहरीले हिरासतमा राखेको हो ।

स्ट्याण्ड अफ कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवाः समुदायको भावनामा आँच पुगेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । त्यही आधारमा प्रहरीले उनलाई १० दिन थुनामा राख्यो ।

भिडियो हटाएर माफी माग्दा पनि प्रहरीले थुनिराखेको भन्दै उनको पक्षमा दबाब बढ्न थालेपछि प्रहरीले उनलाई २२ भदौमा साधारण तारेखमा छाडेको थियो ।

त्यसबेला उनी कोभिड–१९ भाइरसबाट पनि संक्रमित भएका थिए । त्यसैले उनलाई साधारण तारेखमा छाडिएको प्रहरीले बताएको थियो ।

गल्ती स्वीकार गरेर सच्याउँदा पनि लामो समय थुनामा राखिएको भन्दै एउटा समूह प्रहरी र उजुरीकर्ताप्रति आक्रोशित थियो ।

म्याद थप गर्न जाँदा पनि अदालत परिसरमा नारावाजी भएको थियो । त्यहीबीच क्षितिजको परिवार र जाहेरीकर्ताबीच सहमति भयो । उनलाई छुटाउने प्रक्रिया अघि बढाउने निर्णय भयो । यद्यपि, क्षितिज सहजै छुटेनन् । उनी छुटिसकेपछि यो प्रकरण सामसुम भइसकेको थियो ।

तर फेरि उनी पक्राउ गरेपछि चाहिँ धेरैले आश्चर्य व्यक्त गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोरा क्षितिजलाई विगतमा तारेखमा छाडिएकाले नियन्त्रणमा लिइएको बताउँछन् । ‘अपूर्वको फाइल बुझाउनलाई नियन्त्रणमा लिइएको हो’, उनले अनलाइनखबरसँग भने, ‘अब यो विषयमा अदालतले निर्णय लिन्छ ।’

तर मंगलबार सरकारी विदा छ भन्ने थाहा हुँदाहुँदै उनलाई सोमबार पक्राउ गरिएको भन्दै कतिपयले प्रहरीको नियतमाथि प्रश्न गरेका छन् ।

कानून व्यवसायी ओमप्रकाश अर्याल पनि क्षितिजको बयान भइसकेको अवस्था भए उनलाई फेरि हिरासतमा राख्नु जरुरी नहुने बताउँछन् । उनी भन्छन्, ‘बयान सकिएको अवस्थामा सिधै मुद्दा लैजाने बेला बोलाएको भए हुन्थ्यो, नियन्त्रणमा लिइराख्नु पर्ने थिएन ।’

क्षितिजको परिवारले पनि उनी नियमितरुपमा तारेख बुझ्न जाने क्रममा सोमबार पक्राउ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?