+
+

देउवा–ओली–प्रचण्डको चुनावी कमाण्डर को छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १९:३१

२ कात्तिक, काठमाडौ. । ४ मंसिरको प्रतिनिधिसभा चुनावका लागि दल र उम्मेदवारहरु हाल प्रचार प्रसारमा छन् । दल र उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारलाई प्रभावकारी बनाउन चुनाव परिचालन समिति पनि बनाउने गरेका छन् ।

प्रमुख दलका शीर्ष नेताले आफ्नो चुनाव क्षेत्रबाहेक अन्यत्र पनि समय दिनुपर्ने भएकाले उनीहरुले आफ्नो विश्वास पात्रको नेतृत्वमा चुनाव परिचालन समिति बनाएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको प्रचार प्रसारको कमाण्ड सम्हाल्ने जिम्मेवारी कांग्रेसका डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा–५ को चुनाव प्रचार प्रसारको नेतृत्व राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सम्हालेका छन् । त्यसैगरी गोरखा–२ बाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रचार प्रसारको ‘कमाण्डर’ माओवादीका पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारी तोकिएका छन् ।

कांग्रेस सभापति देउवा सातौं पटक डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

यसै पनि चुनाव प्रचार प्रसारमा कम समय दिने देउवा हाल प्रधानमन्त्री समेत रहेकाले निर्वाचन क्षेत्रमा धेरै जान नसक्ने कांग्रेसका नेताहरु बताउँछन् । त्यसैले देउवाको चुनाव प्रचार प्रसार र सत्तारुढ गठबन्धनको चुनावी सभा तय गर्न साउद नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको कांग्रेसको भनाइ छ ।

निर्वाचन परिचालन मूल समिति र उप समितिहरु बनेको साउदले जानकारी दिए । प्रदेश स्तरीय निर्वाचन परिचालन समिति भने गठन गर्न बाँकी छ । ‘चुनावी छलफल त भएको छ ।आचारसंहिताले भेला सभा गर्न मिलेको छैन । गाउँतिर जाने भेटघाट गर्ने काम भइरहेको छ । गठबन्धन दलहरुको संयुक्त रुपमा चुनाव प्रचार गरिरहेका छौं’, साउदले भने ।

सत्तारुढ गठबन्धनका दलहरु बीच एक आपसमा आरोप प्रत्यारोप नगरी कार्यकर्ता परिचालन साउदले बताए । निर्वाचन आयोगले तोके अनुसार कात्तिक १७ पछि चुनावी सभा गर्ने उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री चुनावी कार्यक्रमका लागि आउने निश्चित भएकोे छैन । तिहार पछि प्रचारका अरु कार्यक्रम बन्छन् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी कार्यक्रमका लागि झापा ५ पुग्ने क्रमलाई बाक्लो बनाएका छन् । मंगलबार ओली आफ्नो गृह क्षेत्रमा पुगेका छन् । मंगलबार स्वास्थ्यमा समस्या देखिएका ओली बुधबारका चुनावी कार्यक्रममा भने सहभागी हुने भएका छन् ।

ओलीले आफ्नो क्षेत्रको चुनाव प्रचार प्रसारको मुख्य जिम्मेवारी एमाले नेता देवेन्द्र दाहाललाई तोकेका छन् । ओलीको क्षेत्रको निर्वाचन परिचालन मूल समितिका संयोजक दाहाल छन् । संघ, प्रदेश र पालिका स्तरमा चुनावी प्रचार समिति गठन गरिसकिएको दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

कार्यकर्तासँग अन्तर्क्रिया गर्ने गरी प्रदेश सभाका उम्मेदवारले कार्यक्रम गरिसकेका छन् । पार्टी अध्यक्ष ओलीको उपस्थितिमा झापा ५ मा बुधबार बृहत कार्यकर्ता भेला राखिएको छ ।

मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने गरी दुई कार्यक्रम तय भएको दाहालले जानकारी दिए । ‘कात्तिक १७ पछि क्षेत्रलाई तीन भागमा छुट्याएर अध्यक्षले चुनावी सभालाई सम्बोधन गर्ने तयारी गरेका छौं’, दाहालले भने । झापा ५ मा एमालेले राप्रपासँग तालमेल गरेको छ ।

प्रत्येक पटक निर्वाचन क्षेत्र परिवर्तन गरिरहेको आरोप खेपेका माओवादी केन्द्रका पुष्पकमल दाहाल अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ बाट उम्मेदवार बनेका छन् । उनले प्रचार प्रसार हेर्ने जिम्मेवारी माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हरिराज अधिकारीलाई दिएका छन् । पार्टी अध्यक्ष प्रचण्डले पुरै समय क्षेत्रमा लाग्ने अवस्था नभएकाले गोरखा २ को चुनावी अभियानको नेतृत्व आफूले गरिरहेको अधिकारीले बताए ।

प्रतिनिधिसभादेखि वडा तहसम्म निर्वाचन परिचालनको संरचना बनाइसकेको अधिकारीले जानकारी दिए । ‘उम्मेदवारका घोषणापत्र मतदाता कहाँ पुर्‍याउँछौं । त्यसमाथि छलफल बहस गराउँछौं । कात्तिक १७ पछि अध्यक्षले सम्वोधन गर्ने गरी सभाहरुको तयारीमा लागेका छौं’, उनले भने ।

गोरखामा स्थानीय तहको मतको आधारमा माओवादी केन्द्र पहिलो स्थानमा छ । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले दोस्रो स्थानको मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?