+
+

माथिल्लो तामाकोशीबाट एक हप्ता बिजुली उत्पादन नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १२:४२

४ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोशी आयोजनामा ८ देखि १५ कात्तिकसम्म विद्युत् उत्पादन रोकिने भएको छ । तिहारको समयमै प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर संरचनाहरूको नियमित निरीक्षण गर्न लागेको हो ।

दोलखा जिल्ला, विगु गाउँपालिका, वडा नं १, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्रयाउने पोखरी र मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

यसअवधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।

नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवम् सावधानीका साथ गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

१२ असार, २०७८ मा आयोजनाको बाँध, मुख्य सुरुङ र पेनस्टकको ‘वेट टेस्ट’ भएको थियो । १० भदौ २०७८ गतेदेखि प्रारम्भिक रुपमा र २४ भदौ २०७८ देखि सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो ।

माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?