+
+

विदेशी मुद्रा सञ्चितिमा आएन सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:४४

४ कात्तिक, काठमाडौं । सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिंदा पनि विदेशी विनिमय सञ्चितिमा भने सुधार देखिएन । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले भदौ मसान्तसम्मको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति घटेको जनाएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति १९ करोड अमेरिकी डलरले घटेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ९ अर्ब ३५ करोड डलरमा झरेको छ ।

नेपाली मुद्रामा यस्तो सञ्चिति असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा भदौ मसान्तमा २.२ प्रतिशतले कमी भई ११ खर्ब ८९ अर्ब १६ करोडमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । नेपाली रुपैयाँमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेकोमा यस अवधिमा आयात घटेसँगै व्यापार घाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोडमा झरेको छ ।

तर, पनि विदेशी विनिमय सञ्चिति भने घट्दो क्रममा नै देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । सरकारले केही वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा गत आर्थिक वर्षको तुलनामा आयात घटेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट हुँदा पनि सञ्चिति पर्याप्तता सूचकमा भने सुधार देखिएको हो ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा असार मसान्तमा बैंकिङ प्रणालीमा कायम विदेशी विनिमय सञ्चितिले ७ महिनाको पनि वस्तु तथा सेवाको आयात धान्न पर्याप्त नहुने अवस्था थियो । आयात घट्दा भदौमा उक्त सूचकमा सुधार देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?