+
+

पर्साको ठोरीस्थित वृद्धाश्रम आर्थिक संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १८:०८

४ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित असहाय तथा वृद्धवृद्धा कल्याण समाज आर्थिक संकटमा परेको छ ।

समाजसेवी आशबहादुर गुरुङले स्थापना गरेको संस्थाले ठोरी–१ भगवान नगरमा वृद्धाश्रम सञ्चालन गरेर अशक्त, असहाय तथा वृद्धवृद्धाको पालन पोषण र स्याहार गर्दै आएको थियो ।

आश्रममा हाल २३ जना सहयोगापेक्षी आश्रित छन् । विभिन्न दाता र संघ संस्थाले गर्ने लत्ताकपडा, खाद्यान्न लगायत सहयोग तथा गुरुङले भारतीय सेनाबाट पाउने पेन्सनको रकमबाट आश्रम चल्दै आएको छ । गुरुङले आफ्नो मासिक २३ हजार रुपैयाँ पेन्सन यही आश्रमका लागि खर्च गर्दै आएको बताएका छन् । तर मासिक खर्च नै ७० हजार रुपैयाँ लाग्ने गुरुङ बताउँछन् ।

चामल, दाल लगायतका खाद्यान्न सामग्रीको जोहो भए पनि ओच्छ्यानमा नै दिसापिसाब गर्ने अवस्थाका असहायहरुका लागि स्वास्थ्य सामग्री खरिदका लागि रकमको अभाव भएको गुरुङले बताए ।

‘पेन्सनको रकमले खर्च धानिरहेको छैन’, उनले भने, ‘पैसा नहुँदा सेनिटरी प्याड र डाइपरको व्यवस्था गर्न सकिएको छैन ।’ रकम अभावकै कारण वीरगञ्जस्थित मानवसेवा आश्रमसँग सहयोग लिएर एम्बुलेन्समा तेल भरेको उनले बताए । आश्रमको स्वामित्वमा भारत सरकारको सहयोगमा प्राप्त एक थान एम्बुलेन्स छ ।

आश्रमको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि प्रत्येक दिन रु ५ अभियान सञ्चालन गरिएको छ । अभियानमा सहभागी हुन इच्छुक सहयोगीहरुले दैनिक रु ५ का दरले एक मुष्ट वार्षिक वा त्यो भन्दा बढी रकम अभियानको खातामा जम्मा गर्न सक्नेछन् ।

अभियानबाट ३० लाख संकलन गरेर संकलित रकमलाई मुद्दती खातामा जम्मा गर्ने र बैंकबाट प्राप्त हुने मासिक ब्याज आश्रम सञ्चालनका लागि प्रयोग गर्ने उद्देश्य अभियानले लिएको छ । अभियानका संयोजक सन्तोष श्रेष्ठ चामल, दाल, नुन, तेल सहयोग आउने गरेको भएपनि आश्रमका लागि आवश्यक पर्ने अन्य खर्च नजुट्ने गरेको बताए ।

‘तर खर्चका लागि पैसाको अभाव हुने गर्छ’ उनले भने । अभियानको खातामा ५ लाख जति रकम जम्मा भएको बताउँदै सोचे अनुसारको सफलता नमिलेपनि निराश भने नरहेको उनले बताए ।

वीरगञ्जस्थित सामुदायिक रेडियो, नारायणी एफ.एम १०३.८ मेगाहर्जको १७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आश्रमलाई १० बोरा चामल, १ बोरा आलु र २ कार्टुन चाऊचाऊ लगायतका सामान प्रदान गरिएको एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए । ठोरी ४ स्थित ज्ञान ज्योति माविका विद्यार्थीले पनि आश्रमलाई विभिन्न सामाग्री सहायोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?