+
+

ठोरी गाउँपालिकामा कक्षा ११ र १२ पनि निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:०१

४ कात्तिक, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ पनि निःशुल्क भएको छ ।

गाउँपालिकाका शिक्षा शाखाका संयोजक भुपालकुमार जोशीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्ण रुपमा निःशुल्क कार्यान्वयनमा रहेको जानकारी दिए ।

गाउँपालिकाभित्र २१ विद्यालयमध्ये बालकक्षादेखि १२ कक्षासम्म भएका ५ वटा मावि, बाल कक्षादेखि १० कक्षासम्म भएका एउटा मावि, बालकक्षादेखि ८ कक्षासम्म भएका ५ वटा आधारभूत, बाल कक्षादेखि ५ कक्षासम्मका १० वटा आधारभूत विद्यालय रहेको शिक्षा संयोजक जोशीले जानकारी दिए ।

पालिकाले शैक्षिक गुणस्तर उकास्नको लागि केजी कक्षा सञ्चालन गरिरहेको र त्यसका लागि २१ जना बालविकास शिक्षक पालिकाको तर्फबाट राख्नुका साथै बाल कक्षादेखि कक्षा ५ सम्म अप्सनल विषय राखिएको जनाएको छ ।

पालिकाको पाँच विद्यालयमा कक्षा ६, ७ र ८ कक्षामा शून्य दरबन्दी भएका पाँच विद्यालय र कक्षा ९ र १० मा शून्य दरबन्दी भएको १ विद्यालयमा पालिकाले आफ्नो स्रोतबाट १३ जना शिक्षक राखेको पालिका शिक्षा संयोजक भुपालकुमारले बताए ।

उनले भने ‘हामीले शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं । यसले केही वर्षभित्र नतिजा देखाउँछ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुईवटा विद्यालयमा दुई कोठे र ३ वटा विद्यालयमा ४ कोठे भवन निर्माण हुने तयारीमा रहेको छ । पालिकाले शिक्षाको लागि करिब तीन करोड बजेट विनियोजन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?