+
+
राजेन्द्र लिङ्देनसँग अन्तर्वार्ता :

‘राप्रपा पहिलो पार्टी हुन्छ भन्दा के अचम्म भयो र ?’

२०६४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ भनेर कसले कल्पना गरेको थियो ? तर काठमाडौंमै जितिदियो । त्यसकारण राप्रपा आउँदो चुनावबाट पहिलो पार्टी बन्दैछ भन्दा अचम्म मान्नुपर्ने कुनै कारण छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:२७

६ कात्तिक, काठमाडौं । आम चुनाव २०७९ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका १६५ निर्वाचन क्षेत्रमध्ये १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमध्ये ३ जनाले एमालेको समर्थन पाएका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा देशभरका वडामा ३ लाख ४२ हजार ७८२ मत पाएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यो चुनावमा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्घोषसमेत गरेका छन् ।

उनै लिङ्देनसँग चुनावमा राप्रपाको उपस्थिति र रणनीति, एमालेसँगको तालमेल, चुनावी एजेण्डा र योजनाका बारेमा अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

यहाँले पछिल्लो पटक झापा जाँदा सूर्य चिह्नमा मतदान नगर्ने हो भने राप्रपाको कार्यकर्ता हुन्छु भनेर नसोच्दा पनि हुन्छ भन्नुभएछ । यसोभन्दा त बरु सिधै तपाईंहरु एमालेमै प्रवेश गर्नुस् भनेको भए हुन्थ्यो नि ?

मैले भनेको केही अंशमात्रै लिएर सुनियोजित रुपमा गरिएको प्रचार हो । हामीले झापा जिल्लामा एमालेसँग तालमेल गरेका छौं । तालमेल गर्ने क्रममा झापा–३ मा प्रतिनिधिसभामा एमालेका साथीहरुले समेत हलो चिह्नमा मत दिनुहुन्छ, हामीले अर्काे निर्वाचन क्षेत्रमा एमालेलाई समर्थन गर्ने निर्णय गरेका छौं ।

तसर्थ त्यहाँ हाम्रा साथीहरुले एमालेलाई मत हाल्नु पार्टीहरुको विश्वसनीयता र इमानदारीको कुरा हो । तालमेल गरेर जानुपर्छ भन्ने राजेन्द्र लिङ्देन अथवा पार्टी नेतृत्वको निर्णयको मात्रै होइन, झापा जिल्ला कमिटी र कार्यकर्ताको सामूहिक निर्णय पनि हो ।

हामीले गरेको तालमेल एमालेले राप्रपाको मुद्दालाई मानेर वा राप्रपाले एमालेको मुद्दालाई मानेर गरिएको होइन । यो सिटको तालमेल हो, चुनावी तालमेल हो ।

त्यो संवाद पनि हाम्रो निर्णय इमानदारीपूर्वक लागू गर्नुपर्छ, हामीले गरेको निर्णय उल्लंघन गर्ने छुट कसैलाई छैन भनेर कार्यकर्ता तहमा भन्नका लागि प्रयोग गरिएको हो ।

तर एउटै कार्यकर्ताले सूर्य पनि बोक्न, हलो पनि बोक्न कसरी सम्भव हुन्छ ? कहिलेसम्म हुन्छ ?

खासगरी २०७४ सालदेखि नेपालको राजनीतिमा दलहरु चुनावमा मिलेर जाने संस्कृतिको प्रारम्भ भयो । अन्य राजनीतिक दलहरु गठबन्धन गरेर आएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै अछुतो रहनुपर्ने कारण छैन ।

कहिले कुनै निर्वाचन क्षेत्रमा होला, कहिले कोसँग होला, यो प्रणालीमा सुधार वा परिवर्तन नगरेसम्म यो क्रम चलिरहन्छ ।

तपाईंकै लागि त २०७४ सालको जस्तो परिस्थिति अहिले छैन । पाँच वर्षमा संसदमा भूमिका खेल्नुभयो, पार्टीको अध्यक्ष हुनुभयो । तैपनि चुनाव लड्न सहारा नै चाहियो ?

धेरै साथीको सुझाव थियो, आफ्ना स्थानीय मतदातासँग बुझ्दा पनि एक्लै जित्न सकिन्छ भन्ने थियो र गणितले पनि त्यो संभावनालाई देखाइरहेको थियो । राप्रपाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा १३ हजार मात्रै लोकप्रिय मत पाएको थियो ।

संसदको निर्वाचनमा आइपुग्दा १६ हजारमा पुगेको थियो भने अहिले २१ हजारभन्दा माथि छ । अहिले आएको डाटामा बिर्तामोड १० जोडिएको छैन त्यो जोड्ने हो भने २२ हजारमाथि मत छ । त्यो रुझान हेर्दा हरेक निर्वाचनमा राप्रपामात्रै त्यस्तो पार्टी हो, जसले व्यापक रुपमा मत बढाउँदै लगेको छ । फेरि म आफैं उम्मेदवार बन्दा अलि फरक पर्थ्यो ।

तर जिल्ला कमिटी र अरु साथीहरुको के सल्लाह भयो भने विजयलाई अझ सुनिश्चित बनाएर जानु राम्रो हुन्छ । देशभरि चुनाव प्रचारप्रसारमा जाँदा पनि तालमेलबाटै जानु राम्रो हुन्छ भनेर हामीले तालमेलको निर्णय गरेका हौं ।

तर केपी शर्मा ओलीकै भाषामा भन्दा बाच्छोबाट गाई नै बन्ने मौका त गुमाउनुभयो नि ?

यसबारे अहिले धेरै टिप्पणी नगरौं, पछि छलफल गरौंला । यत्ति हो कि कतिपय सन्दर्भमा मौका गुम्यो भन्ने छ, अर्कातिर देशभरि हिंड्न पाएर मत बढाउने र अरु उम्मेदवार साथीहरुको विजयलाई सुनिश्चित गराउने अवसर पनि दिन्छ ।

तर आफ्नो क्षेत्रसहित तीन ठाउँमा एमालेको सहयोग लिएर जित्न खोज्ने, बाँकी १४० उम्मेदवारलाई चाहिं यत्तिकै छाडिदिने ?

हामीले एउटा निर्वाचन क्षेत्रमा मद्दत लिएपछि अर्काेमा तालमेल पक्षधर पार्टी (एमाले) लाई मद्दत गर्नुपर्ने हुन्छ । हाम्रो मत संख्या कति छ भनेर हिसाब गर्दा तीनवटा जिल्ला उपयुक्त देखियो । हामीले त अरु क्षेत्रहरुमा पनि प्रयत्न गरेका थियौं, तर उहाँहरु (एमाले) सहमत हुनुभएन ।

तपाईंहरु संवैधानिक राजतन्त्र भन्नुहुन्छ, एमाले गणतन्त्र ल्याउन आन्दोलनमा उत्रिएको एउटा दल हो । संवैधानिक राजतन्त्रको पक्षमा आवाज उठाउन संसदमा जान तपाईंहरुलाई भोट चाहिं गणतन्त्रको संवाहक भनिएको दलको चाहिने ?

यो सैद्धान्तिक तालमेल होइन, चुनावी तालमेल हो । कुनै कालखण्डमा माओवादीले कांग्रेसका कार्यकर्ताको देशभर हत्या गर्दै हिंडेको थियो । अहिले कांग्रेस र माओवादीसँग तालमेल भइरहेको छ ।

अरुले पनि यस्तो गरेका छन् भन्नुभन्दा पनि हामीले गरेको तालमेल एमालेले राप्रपाको मुद्दालाई मानेर वा राप्रपाले एमालेको मुद्दालाई मानेर गरिएको होइन । यो सिटको तालमेल, चुनावी तालमेल हो ।

त्यसो भए चुनाव भनेको अंकगणित मात्र हो त ?

अंकगणित सँगसँगै भोलि राष्ट्रिय राजनीतिमा राष्ट्रियता, वैदेशिक हस्तक्षेप लगायत विषयमा मत राख्ने क्रममा एमालेसँग राप्रपा रहनसक्ने संभावनालाई पनि इंगित गर्छ ।

वैचारिक रुपमा पनि यो यो विषयमा एकै ठाउँमा छौं भनेर दुवै दलका नेताहरुले छलफल गर्नुभएको छ ?

वैचारिक हिसाब वा अरु हिसाब (सत्ता) सहकार्य गर्ने वा नगर्ने भनेर छलफल गरेका छैनौं । राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्ने छैन, यो हामी घोषणापत्रमा नै लेख्छौं । राष्ट्रियताका सवालमा सहकार्य गर्न सकिने सन्दर्भमा छलफल गर्दै आएका छौं र राष्ट्रियताको मुद्दाहरुमा हामी एकै ठाउँ उभिन्छौं ।

एमालेभन्दा अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिसँग मिलेको जस्तो यहाँलाई लाग्दैन ?

त्यस्तो त होइन ।

मेरो बारेमा कुरा गर्दा कतिपयले यो विचारको, यो प्रवृत्तिको प्रतिनिधित्व गर्छ भन्नुहोला । उहाँ (सिटौला) को कुरा गर्दा पनि यो प्रवृत्तिको नेतृत्व गर्नुहुन्छ भन्ने होला । वास्तवमा झापा- ३ को चुनावी प्रतिस्पर्धा व्यक्तिको भन्दा प्रवृत्तिको लडाईं हो ।

तर चुनावी तालमेल त राप्रपाको भन्दा बढ्दा तपाईं र केपी ओलीको आवश्यकता जस्तो देखिन्छ । जबकि झापा–५ को राप्रपा तपाईंको लाइनमा थिएन ।

हामीले (तालमेलको) जुन निर्णय गरेका छौं, कतिपयले त्यो राजेन्द्र लिङ्देनको निर्णय हो भनेर बुझ्छन् । संस्थागत हिसाबले पार्टीको प्रमुख भएको हुनाले मेरो मुखबाट कुराहरु बाहिर आउलान्, तर यो हामी सबैको सामूहिक निर्णय हो । हाम्रो पार्टीको प्रदेश अध्यक्ष (राम थापा) नै झापा–५ मा हुनुहुन्छ र त्यहाँ नगरपालिका प्रमुख पनि हुनुहुन्छ । त्यसैले कार्यान्वयनमा कुनै समस्या छैन ।

राम थापाको सपना दमक नरपालिकाको मेयर बन्ने थियो । तर उहाँको सपनाको सारथि त तपाईं बन्नुभएन, त्यतिबेला एउटा पनि चुनावी सभामा जानुभएन । अहिले तपाईंलाई झापा–३ बाट जिताउन उहाँले किन सहयोग गर्नुपर्ने ?

यो राजनीति नबुझ्ने मानिसहरुले गर्ने कुरा हो । खासगरी राम थापा र मेरो बीचमा विभाजन ल्याउन सकिन्छ कि भनेर गरिएको प्रचार हो । राम थापा उम्मेदवार हुँदा पनि पार्टीको सहमति र समर्थनबाट बन्नुभएको हो, तालमेल पनि त्यसैगरी भएको हो । अहिले जे निर्णय भएको छ, त्यो पनि राम थापा समेतको समर्थनबाट भएको हो । यसमा कुनै प्रश्न छैन ।

तपाईंले भन्नुभयो कि दमकको मेयर बन्ने राम थापाको सपना थियो । राप्रपाको बलियो उपस्थिति रहेको दमक, जहाँ हामी जहिले पनि दोस्रो हुन्थ्यौं, एकपटक चुनाव जितेर प्रमुख बन्न पाए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना थियो । त्यस्तोबेला (सत्तारुढ) गठबन्धन आएर उठिदिनुपर्यो भन्दा हामीले अप्ठ्यारो मान्नुपर्ने के कुरा थियो र ? अहिले पनि पार्टीको जे निर्णय हो, राम थापाजी त्यसमा अडिग हुनुहुन्छ ।

कार्यकर्तालाई कस्तो अप्ठ्यारोमा पार्नुहुन्छ है ! दमकमा राम थापालाई मेयर बनाउन सत्तारुढ गठबन्धनलाई भोट हाल भन्नुभयो, अहिले फेरि एमालेलाई मत देऊ भन्नुभएको छ ?

कुनै समस्या छैन, कुनै द्विविधा छैन । पार्टीले तत्कालीन गठबन्धनसँग दमक नगरमा सहकार्य गर्ने निर्णय गरेको मलाई थाहा छ । बाँकी कुरा थाहा छैन ।

तपाईं एक जना प्रखर राजावादी, कृष्णप्रसाद सिटौला गणतन्त्र ल्याउन भूमिका खेलेको मान्छे । यो चुनावी प्रतिस्पर्धालाई कसरी बुझ्ने ? यहाँ त व्यक्तिको मात्रै कुरा भएन, आधारभूत सिद्धान्तकै प्रतिस्पर्धा देखियो ?

व्यक्ति, प्रवृत्ति सबैको बीचको लडाईं हो । कतिले मेरो बारेमा कुरा गर्दा यो विचारको, यो प्रवृत्तिको प्रतिनिधित्व गर्छ भन्ने होला । उहाँ (सिटौला) को कुरा गर्दाखेरि अरु कतिले यो प्रवृत्तिको नेतृत्व गर्नुहुन्छ भन्ने होला । वास्तवमा व्यक्तिको भन्दा प्रवृत्तिको लडाईं हो ।

नेपालको राजनीतिमा भ्रष्टाचारलाई संस्थागत गरेर लैजाने, राजनीतिमा आपराधिक प्रवृत्तिलाई प्रवेश गराउने र संस्थागत गर्ने, अनि अहिले देश जुन बाटो हिंडिरहेको छ, यही बाटोकै गन्तव्यमा पुर्‍याउने सोच र विचारको प्रतिनिधित्व उहाँले गर्नुहुन्छ । म राजनीति देश सेवाको पवित्र माध्यम हो, अहिले देश मार्गचित्रमा हिंडिरहेको छ यसले गन्तव्यमा पुर्‍याउँदैन, देश दुर्घटनामा जान्छ भन्ने विचारको प्रतिनिधित्व गर्छु । त्यसैले एउटा प्रवृत्तिको नै लडाईं छ त्यहाँ ।

एमाले आफैंमा गणतन्त्र पक्षधर हो, त्यसमाथि एमाले कार्यकर्ताले झापा ३ मा अहिलेसम्म राप्रपा, अझ राजेन्द्र लिङ्देनलाई भोट हालिरहने भनेर प्रश्न गर्न थालेका छन् नि ?

मैले त्यस्तो कुराको कल्पना गरेको छैन । त्यहाँ राप्रपाको स्थितिबारे हामीले अघि पनि कुरा गर्‍यौं र एमालेजस्तो महत्वपूर्ण पार्टीको साथ र समर्थन छ । एकाध व्यक्तिको कुण्ठा र असहमति आउँछ भने त्यसले खासै फरक पार्दैन ।

तालमेल गरेर पनि चुनाव जित्नेमा शंका गर्नु, तपाईंहरुले जित्नुहुन्छ र भनेर प्रश्न गर्नु त्यहाँका मतदाताको विवेकमाथि प्रश्न उठाएको जस्तो हुन्छ । त्यस क्षेत्रका मतदाता राष्ट्रिय प्रजातन्त्र पार्टी र सहकार्य गरिरहेका प्रदेशका सबै उम्मेदवारहरुलाई जिताउन आतुर हुनुहुन्छ ।

मैले मत पाउने भनेको राप्रपा र एमालेको मात्रै होइन, कांग्रेस, माओवादी र जसले पहिलोपटक मत हाल्दैछन्, उनीहरुको पनि हो । त्यसकारण मेरो जितमा कुनै पनि शंका छैन, मतान्तर कति बढाउने भन्ने मात्र हो ।

झापा–३ मा यो पाँच वर्षमा के त्यस्तो गर्नुभयो र, तपाईंले अघि भनेझैं अरुले पनि भोट हालुन् ?

झापा–३ भनेको भौगोलिक रुपले मेची र बिरिङजस्ता ठूला नदीले छेकिएर बसेको क्षेत्र छ । बिरिङ र मेची त्यहाँको पीडाको रुपमा थियो । हरेक वर्ष डुबान हुन्थ्यो, त्यहाँका मानिसहरुलाई उद्धारका लागि लाइफ ज्याकेट लिएर जानुपर्ने, डुङ्गा चलाउनुपर्ने अवस्था थियो । अहिले नदीहरुको व्यवस्थापन गरेर यो समस्या अन्त्य गरेका छौं ।

त्यहाँको चारवटा स्थानीय तहको बीचमा जलथल जंगल छ । जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण जंगल हो, त्यहाँ हात्तीको वासस्थान छ । जंगली हात्तीको कारणले त्यहाँको जीवन अस्तव्यस्त थियो । कतिबेला हात्ती गाउँमा आएर मानिसहरुको ज्यान लिन्छ, बालीनाली नोक्सान गर्छ कुनै टुंगो हुँदैनथ्यो । हामीले सौर्य तारबारको व्यवस्था गरेपछि जंगली हात्तीको आक्रमणबाट मानिसको ज्यान जान र बालीनाली नोक्सान हुन रोकिएको छ ।

त्यो निर्वाचन क्षेत्रभरि नै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा कतैकतै कालोपत्रे सडकको नमूनाबाहेक अन्त सडक थिएन । कालोपत्रे सडक हेर्न कि बिर्तामोड आउनुपर्थ्यो , कि बिहार जानुपर्थ्यो । अहिले कालोपत्रे सडकले नछोएको कुनै वडा छैन ।

भौतिक पूर्वाधार विकासको दृष्टिले त्यस क्षेत्रमा चामत्कारिक परिवर्तन भएको छ । पुलहरु कति बने, त्यसको कुनै हिसाब छैन । हामीले स्थानीय तहहरुलाई पनि ठीक ठाउँमा परिचालन गरेका छौं, शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण प्रगति भएको छ, अरु पनि काम भएका छन् ।

त्यति मात्रै होइन, एउटा सांसदको भूमिका त्योभन्दा फरक खासगरी विधायिकी हुन्छ । सुरु सुरुमा मानिसहरुको आशंका थियो एउटा मात्रै सांसद छ, राजेन्द्र लिङ्देन त्यहीं हराउँछ । तर मैलै संसद प्रवेश गर्दा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर शपथ खाएँ ।

२५ वर्षअघि शेरबहादुर देउवाले पजेरो बाँडेर सांसदहरुलाई खुसी पार्ने र आफ्नो सत्ता टिकाउने रणनीति लिनुभएको थियो, यसपालि पनि आफू प्रधानमन्त्री हुँदाखेरि सांसदहरुको सुविधा उम्मेदवारी दिइसकेपछि पाइराख्ने जुन प्रस्ताव ल्याउनुभएको थियो, त्यसविरुद्ध मैले विद्रोह गरें । अन्ततोगत्वा त्यो फिर्ता भयो । राज्यकोषको २ अर्बभन्दा धेरै पैसा बचत भयो । संसदीय भूमिकामा पनि त्यसक्षेत्रको जनताको चित्त बुझ्ने काम गरेको छु ।

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो त भन्नुहुन्छ, तर जस (ठूला दलहरु) लाई भ्रष्ट भनेर आरोपित गर्नुहुन्छ, उनीहरुको समर्थन नलिई चुनाव लड्ने आँट चाहिं गर्नुहुन्न । यो हालतले जितेर पनि के गर्न सक्नुहोला र ?

म अरुलाई दोष दिन चाहन्न । हामीले अहिलेको प्रणाली र २०४६ सालको राजनीतिक परिवर्तनपछि देशको राजनीतिको नेतृत्वको गर्दै आएको प्रणाली र पुस्ता असफल भयो भनिरहेका छौं ।

अहिले मलाई कसैले समर्थन गरेको कारणले मैले त्यो राजनीतिक दललाई स्वीकार गरेको होइन, मैले समर्थन गरेको दलको मान्यतालाई स्वीकार गरेको पनि होइन । मैले संसदमा जाँदाखेरि कसैलाई दोष लगाउने, अभियोग लगाउने भन्दा पनि राप्रपाले तालमेलबाट जुन सिट प्राप्त गर्छ, त्यसले राप्रपाको मुद्दालाई नै बोकेर जाने हो ।

१४३ ठाउँको उम्मेदवारीमध्ये कति ठाउँमा जितिन्छ भन्ने आकलन छ ?

अहिले यति ठाउँमा भनेर मनगणन्ते कुरा गर्नुभन्दा समष्टिमा यति मात्रै भन्छु । राप्रपाले यो निर्वाचनमा अप्रत्यासित परिणाम ल्याउँछ ।

तपाईंको दाबी त पहिलो हुन्छ भन्ने छ, तर आधार देखिंदैन त ?

राप्रपा पहिलो पार्टी हुन्छ भन्दा के अचम्मको कुरा भयो र ? उम्मेदवारीको हिसाबले पनि देखियो । उम्मेदवारीका हिसाबले हाम्रो एमालेसँग मात्रै प्रतिस्पर्धा छ । आगामी सरकारको नेतृत्व गर्छु भन्नेहरुले त उम्मेदवारी नै १०० को मुनि राखेका छन् भने भोलि गठबन्धन विना त उनीहरु सरकारमा पुग्न सक्ने सम्भावना देखिदैन ।

त्यसैले एमालेबाहेक अर्काे कुनै पार्टी पहिलो बन्नसक्छ भने त्यो राप्रपा मात्र हो ।

धेरै ठाउँमा उम्मेदवारी दिएको हिसाबले ?

उम्मेदवारीका हिसाबले पनि, लोकप्रियताको हिसाबले पनि । हिजो २०६४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ भनेर कसले कल्पना गरेको थियो ? तर काठमाडौंमै जितिदियो । त्यसकारण राप्रपा आउँदो चुनावबाट पहिलो पार्टी बन्दैछ भन्दा अचम्म मान्नुपर्ने कुनै कारण छैन ।

आधार चाहिं के छ त ?

उम्मेदवारीको संख्या, बढिरहेको लोकप्रियता सबै घटनाक्रमले प्रमाणित गरेको छ । खासगरी अहिले जनताले ठूला भनिने दलहरुको विकल्प खोजिरहेका छन् र त्यो विकल्प भनेको राप्रपा हो ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?