+
+

ग्लेन फिलिप्सको शतकमा न्युजिल्याण्ड विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १९:२६

१२ कात्तिक, काठमाडौं । ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको ४ विकेटमा न्युजिल्याण्डले टी-२० विश्वकपमा शनिबार श्रीलंकालाई ६५ रनले पराजित गरेको छ ।

दोस्रो जितपछि सुपर १२ को समूह ए मा न्युजिल्याण्ड अपराजित छ र ३ खेलबाट ५ अंक जोड्दै बलियो स्थितिमा रहेको छ । न्युजिल्याण्डले शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । ३ खेलबाट २ अंकसहित श्रीलंका पाँचौ स्थानमा छ ।

सिड्नीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले खराब सुरुवात गरेपनि ग्लेन फिलिप्सले १०४ रन बनाएपछि ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । न्युजिल्याण्डले दिएको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको श्रीलंकाले फिलिप्सले बनाएको जित रन पनि बनाउन सकेन । श्रीलंकाका लागि कप्तान दसुन सनकाले सर्वाधिक ३५ र भानुका राजपाक्षेले ३४ रन बनाए ।

श्रीलंकालाई अलआउट गर्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १३ रन मात्र खर्चेर ४ विकेट लिए । मिचेल सान्टनर र इश सोधीले समान २ विकेट लिए । टिम साउदीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि १५ रनमै ३ विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्स फिलिप्स र डारेल मिचेलले उकासेका थिए । यी दुईले ८४ रनको साझेदारी गरे । फिलिप्सले ६४ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा १०४ रन बनाए । मिचेलले २२ रन जोडे । मिचेल सान्टनर ११ रनमा अविजित रहे ।

श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए ।  महिश थिक्सना, धनन्जय डा शिल्भा, वानिन्दु हसरंगा र लहिरु कुमारले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?