+
+

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

रासस रासस
२०७९ कात्तिक १३ गते १४:४९

१३ कात्तिक, बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् ।

एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।

पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का थिर्तराम गुरुङको भनाइ छ । उनले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताए ।

‘१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १/२ वटा पनि भेट्याउन मस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ’, उनले भने, ‘तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।’ गुरुङले घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताए ।

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भने, ‘घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?’

निसीखोला गाउँपालिका-६ का नरसिंह बुढामगरले घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताए । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उनको सुझाव छ ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उनले बताए । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?