+
+

संकटमा रैथाने बाली र हाम्रो खाद्य सुरक्षा

रैथाने बालीलाई हाम्रो खाद्य तथा कृषि प्रणालीमा मूलप्रवाहीकरण गर्न सकेमा देशमा दिगो खाद्य पोषण सुरक्षा कायम गर्नमा सघाउ पुग्नुको साथै ग्रामीण नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०७९ कात्तिक १४ गते १६:४३

घरेलु उत्पादन माग धान्न अपर्याप्त हुँदा पछिल्ला वर्षमा प्रमुख खाद्यान्नको आयात उच्च दरमा वृद्धि हुँदै गइरहेको छ र यस्तो आयातको अधिकांश हिस्सा छिमेकी देश भारतको रहने गरेको छ। केही महिना पहिले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले हालसालै धान, चामल (बासमती र उसिना बाहेक) निर्यातमा २० प्रतिशत निर्यात कर लगाएपछि उक्त कदमहरूले नेपालमा ती वस्तुहरूको आयात र मूल्यमा पर्ने असरको कारण समग्र खाद्य सुरक्षामा पर्न सक्ने प्रभावको बारेमा चासो र चिन्ता व्यक्त भैरहेका छन्।

भारतको पछिल्लो नीति नेपाल–भारत बीचको वाणिज्य तथा पारवहन सन्धि अनुकूल देखिंदैन यद्यपि भारतले गहुँको निर्यातमा प्रतिबन्धको घोषणा गर्दा ‘छिमेकी देशहरूको खाद्य सुरक्षालाई समेत ध्यान दिएर गरेको भनी बचाउ गरेको थियो।

धान र गैर बासमती चामल निर्यात करको हकमा भने आन्तरिक बजारमा भएको मूल्य वृद्धि र कमजोर मनसुनी वर्षाको कारण जारी सिजनमा धान उत्पादन करिब ६० लाख टन घट्न सक्ने प्रक्षेपणले बढी काम गरेको देखिन्छ।

डा. रामकृष्ण श्रेष्ठ

भारतको उपरोक्त नीतिहरूको असर नेपाली बजारमा देखिन थालिसकेको छ भने यथास्थितिमा आपूर्ति र मूल्यमा अस्थिरता आई नेपालको खाद्य सुरक्षामा नकारात्मक असर पर्न सक्ने अनुमान गरिएको छ। तर कतिपय अर्थशास्त्री एवं कृषि विज्ञहरूले यसलाई आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भरता हासिल गर्ने अवसरको रूपमा पनि लिनुपर्ने मत व्यक्त गरिरहेका छन्।

अर्कोतर्फ, पछिल्लो समय कृषि उत्पादन प्रणालीको लागि एक गम्भीर समस्याको रूपमा देखा परिरहेको जलवायु परिवर्तनको कारण आगामी दिनहरूमा धान, मकै र गहुँलगायतका बालीहरूको उत्पादन घट्न सक्ने प्रक्षेपण विभिन्न अध्ययनले गरेका छन्।

यस्तो अवस्थामा यी सीमित बालीहरू माथिको अत्यधिक निर्भरता कम गरी स्वदेशी माटो एवं हावापानी अनुकूलका अन्य बालीहरूको खेती विस्तार गरी आन्तरिक उत्पादन बढाउनु नै उत्तम विकल्प हुने देखिन्छ। हाम्रै रैथाने एवं स्थानीय बालीहरूको उत्पादन एवं उपभोगमा वृद्धि गर्नु यस दिशामा एक व्यावहारिक रणनीति हुनसक्ने देखिन्छ।

रैथाने बाली कस्ता बाली हुन् ?

रैथाने बाली स्थानीय समुदायले परम्परागत रूपमा खेती गर्दै र संरक्षण गर्दै आएका बालीहरू हुन्। यी त्यस्ता बालीहरू हुन् जुन आधुनिक खेती पद्धतिमा आधारित प्रचलित बाली प्रणालीमा कम समावेश भएका हुन्छन् वा कम खेती गरिन्छन्। साथै तिनको बहुआयामिक फाइदा र उपयोगबारे खोज एवं अनुसन्धानलाई पनि कम प्राथमिकता दिइएका कारण ती बाली एवं तिनका जातहरू लोप हुने खतरामा समेत रहेका छन्।

रैथाने बाली अन्तर्गत सामान्यतया अन्न तथा कोदोजन्य, दाल तथा गेडागुडी, जरे तथा गाँठे, फलफूल र मसलाजन्य रैथाने बाली पर्दछन्। तथापि, अन्य रैथाने बालीको तुलनामा खाद्य सुरक्षा र खेती गरिने क्षेत्रफल एवं उत्पादनको आकारको दृष्टिले कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे, उवा, जुनेलोलगायतका अन्न तथा कोदोजन्य रैथाने बालीहरू बढी महत्वपूर्ण छन्।

रैथाने बालीहरू मूलतः नेपालको पहाडी तथा हिमाली क्षेत्रमा खेती गरिने भएतापनि कोदो, जौ लगायतका कतिपय रैथाने बालीहरू भने तराई क्षेत्रमा पनि सीमित मात्रामा खेती गर्ने गरिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार कोदो, जौ र फापर करिब ३ लाख १ हजार हेक्टरमा खेती भई करिब ३ लाख ७२ हजार मेट्रिक टन उत्पादन भएको छ जुन १० वर्षअघिको तुलनामा क्षेत्रफलमा करिब पाँच प्रतिशत कम र उत्पादनमा तीन प्रतिशतले बढी हो। चिनो, कागुनो, लट्टे, उवा, जुनेलो जस्ता अन्य सहायक अन्न तथा कोदोजन्य बालीहरूको क्षेत्रफल र उत्पादनको भरपर्दो तथ्याङ्क उपलब्ध नभए पनि ती बालीहरूको पनि क्षेत्रफल र उत्पादन घट्दै गइरहेको अनुमान गर्न सकिन्छ।

रैथाने बालीहरू किन महत्वपूर्ण छन् ?

सन् १९६० को दशकमा सुरु भएको हरित क्रान्तिको समयदेखि ओझेलमा परेको भएतापनि पछिल्लो समय रैथाने बालीहरूप्रति विश्वव्यापी रूपमा चासो र आकर्षण बढ्दै गएको पाइन्छ। यस क्रममा भारतलगायतका विभिन्न मुलुकले आफ्नो खाद्य तथा कृषि प्रणालीमा त्यस्ता बालीहरूलाई मूलप्रवाहीकरण गर्न सुरु गरेका छन्।

गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली सम्मेलन २०२१ र सो क्रममा नेपालमा भएका विभिन्न प्रादेशिक एवं राष्ट्रिय संवादहरूमा पनि दिगो खाद्य सुरक्षा र पोषणको दृष्टिले महत्वपूर्ण भएकोले रैथाने बालीको संरक्षण र उपयोग गरिनुपर्ने विषय प्राथमिकताका साथ उठेको थियो।

धान, चामललगायत खाद्यान्नको आयात घटाउन रैथाने बालीको महत्वपूर्ण भूमिका हुनसक्ने देखिन्छ। नेपालको माटो र हावापानीको अलावा विद्यमान खेती प्रणाली एवं सामाजिक तथा आर्थिक अवस्था रैथाने बालीको खेतीको लागि उपयुक्त छन्।

विगतमा विभिन्न प्रकारका रैथाने बालीहरू नै ग्रामीण नेपालको खाद्य सुरक्षाको प्रमुख आधारस्तम्भ थिए। तथापि अन्य नगदे बालीहरूको खेती गर्ने क्रम बढ्नु तथा लागतको तुलनामा उत्पादकत्व एवं प्रतिफल कम हुँदा रैथाने बालीहरूको खेती तथा उत्पादन र उपभोग गर्ने क्रम घट्दै गइरहेको पाइन्छ।

यसको साथै नेपालीको क्रयशक्तिमा आएको सुधार तथा सडक सुविधाको विस्तारसँगै चामलको सहज उपलब्धताको कारण भात खाने अभ्यास र संस्कृति बढ्दै गएकोले पनि रैथाने बालीले कम प्राथमिकता पाएको देखिन्छ। तथापि रैथाने बालीको प्रवर्द्धन गरी त्यस्ता बालीहरूको उत्पादन र उपभोग बढाउन सके खाद्यान्नको बढ्दो आयातलाई कम गर्न सकिने पर्याप्त अवसर र सम्भावना देखिन्छ।

त्यसैगरी देशमा व्याप्त कुपोषण र बढ्दो नसर्ने रोग कम गर्न पनि रैथाने बालीहरू उपयोगी हुन सक्छन्। शरीरको लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन र अन्य खनिज पदार्थको राम्रो स्रोत भएको हुनाले रैथाने बालीका उत्पादन बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य तथा पोषणको लागि महत्वपूर्ण छन्।

यिनमा पाइने सूक्ष्म पोषक तत्व एवं फाइबर आदि पाचन प्रणालीमा सुधार; मुटुको स्वास्थ्य, मधुमेह, उच्च रक्तचाप र शारीरिक तौल व्यवस्थापनको साथै तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको लागि समेत उपयोगी हुने पाइएको छ। रैथाने बालीहरू पौष्टिकताले भरपुर हुने भएकोले अन्तर्राष्ट्रिय जगतमा न्यूट्रि सिरयल, सुपर फूड लगायतको नामबाट समेत चिनिन्छन्।

त्यस्तै, पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा हुने कुपोषणको प्रमुख कारण अत्यधिक चिनी, नुन र खराब चिल्लो (ट्रान्स फ्याट) भएको तयारी एवं प्याकेटका खानेकुरा हुने गरेका छन्।

काठमाडौं उपत्यकामा सन् २०१९ मा गरिएको एक सर्वेक्षण अनुसार दुई वर्ष मुनिका बालबालिकाले उपभोग गर्ने क्यालोरीमध्ये एक चौथाइ जंक फूड भनिने तयारी एवं प्याकेटका खानेकुराबाट पूर्ति हुने गरेको देखाएको थियो। त्यस्ता बालबालिका अन्य बालबालिकाको तुलनामा पुड्का समेत पाइएको थियो।

यस्ता तयारी वा प्याकेटका खानेकुरा एवं चिनीजन्य गुलियो पेय पदार्थमा शरीरलाई आवश्यक प्रोटिन, फाइवर, खनिज तथा भिटामिनलगायतका पोषकतत्व शून्य वा ज्यादै न्यून हुन्छ। यसले बाल एवं किशोर अवस्थाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्ने अध्ययनले देखाएका छन्।

पछिल्लो समय शहरी क्षेत्रको अलावा सडक पहुँचसँगै दुर्गम र ग्रामीण क्षेत्रहरूमा समेत यस्ता प्याकेटका खानेकुरा सजिलै पुग्ने गरेको र स्थानीय उत्पादनमा आधारित पोषिलो खाना तथा खाजाको सट्टा त्यस्ता कम गुणस्तरका प्याकेटको खाना एवं गुलियो पेय पदार्थको उपभोग गर्ने क्रम अत्यधिक रूपमा बढिरहेको छ। यस प्रकारको खाद्य संस्कृतिले गम्भीर जनस्वास्थ्यको समस्या निम्त्याइरहेको देखिन्छ।

आजकल बालबालिका तथा किशोर अवस्थाका युवायुवतीमा देखा परेको अत्यधिक मोटोपनाको अलावा कम उमेरमा नै देखिने मधुमेह, उच्च रक्तचाप, हृदय रोग आदिको मुख्य कारण जंक फूडको अत्यधिक सेवन रहेको पाइएको छ। त्यस्ता जंक फूडको सट्टा रैथाने बालीको उपजमा आधारित विभिन्न थरीका परम्परागत र आधुनिक परिकार सेवन गर्ने खाद्य संस्कृति विकास गर्न सकेमा मानव पूँजी निर्माणको लागि चुनौतीको रूपमा रहेको कुपोषणबाट हाम्रो बालबालिका तथा युवा पुस्तालाई बचाउनमा योगदान गर्न सकिन्छ।

त्यसैगरी जलवायु परिवर्तन अनुकूलनको दृष्टिले पनि रैथाने बालीहरू उपयुक्त छन्। रैथाने बालीहरू उन्नत वा विकासे जातको तुलनामा सुक्खा खडेरी बढी सहन सक्ने, कम सिंचाइ र मलखादमा पनि सन्तोषजनक उत्पादन हुने र अन्य बालीको तुलनामा रोग तथा कीरा पनि कम लाग्ने हुँदा यी बालीहरू जलवायु परिवर्तन अनुकूलनको दृष्टिले पनि बढी उपयुक्त छन्।

यसको अतिरिक्त यीमध्ये फापर लगायतका बालीहरूले परागसेचनमा सहयोग पुर्‍याउने मौरी तथा भमरा र पुतलीलगायतका कीटहरूको लागि खाना उपलब्ध गराउने हुनाले पर्यावरणीय सेवा एवं कृषि जैविक विविधता संरक्षणमा समेत योगदान पुर्‍याइरहेका हुन्छन्। यिनै कारणहरूले गर्दा यी बालीहरूलाई भविष्यको बाली वा फ्यूचर स्मार्ट क्रप पनि भन्ने गरिएको पाइन्छ।

त्यसैगरी रैथाने बालीमा आधारित व्यवसाय सञ्चालनबाट रोजगारीको अवसर सृजना गर्न सकिन्छ। रैथाने बालीको उत्पादन, परिकार विविधीकरण तथा मूल्य अभिवृद्धि र बजारीकरणमार्फत ग्रामीण रोजगारी तथा कृषक एवं उद्यमीको आय वृद्धि गर्न सकिन्छ।

यसको अलावा रैथाने बालीको परिकार विविधीकरणमा आधारित होमस्टे सञ्चालन एवं रैथाने बालीको खेती यससँग सम्बन्धित संस्कार, प्रविधि एवं सामग्री संग्रह सम्मिलित ग्रामीण कृषि पर्यटनको गतिविधिमार्फत ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सृजना गरी रोजगारीको लागि विदेश जाने युवालाई गाउँमा नै रोक्नमा योगदान गर्न सकिन्छ।

रैथाने बालीको प्रवर्द्धनले समावेशी विकासलाई समेत टेवा पुर्‍याउन सक्छ। रैथाने बालीको खेती प्रायशः खाद्य सुरक्षाको जोखिममा रहेका र कुपोषणको दर उच्च रहेको दुर्गम तथा पहाडी क्षेत्रमा हुने भएकोले त्यस्ता क्षेत्रमा यी बालीहरूको महत्व एवं फाइदा बारे बुझाएर स्थानीय कृषकलाई खेतीप्रति आकर्षित गर्न सके त्यस्ता क्षेत्रका बासिन्दाको खाद्य सुरक्षा एवं पोषणस्थितिमा सुधार गर्न सकिनुको साथै आय समेत बढाउन सकिने प्रशस्त सम्भावना रहेको छ।

त्यसैगरी रैथाने बालीको खेतीमा गरिब एवं साना र सीमान्तकृत कृषक संलग्नता बढी हुने भएकोले यी बालीहरूको प्रवर्द्धनमार्फत ती वर्गको गरिबी निवारण एवं जीविकोपार्जनमा समेत सुधार ल्याउन सकिन्छ। रैथाने बालीका उत्पादनहरूको विभिन्न समुदायको खाद्य संस्कृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ। तसर्थ, रैथाने बालीको जगेर्ना गरी यसको उपभोग बढाउनु मौलिक नेपाली खाना र खाद्य संस्कृतिको पनि संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउनु हो।

यसको अलावा रैथाने बालीको उत्पादनमा आधारित परिकार विविधीकरण एवं बिक्री वितरण तथा घरेलु उद्योग वा होमस्टे सञ्चालनमा ग्रामीण महिलाको सहभागिता एवं आयआर्जन बढाएर महिला सशक्तीकरणमा समेत योगदान पुर्‍याउन सकिन्छ।

यसको अलावा रैथाने बालीहरू स्थानीय हावापानी सुहाउँदो हुने भएकाले यी बालीहरूको खेती सहजै गर्न सकिनुका साथै अरु बाली त्यति नफस्टाउने तुलनात्मक रूपमा कम उर्वराशक्ति भएको जमिनमा पनि यस्ता बालीहरू खेती गर्न सकिन्छ। साथै नेपालको सन्दर्भमा यी बालीहरू प्रायः रासायनिक मलखाद र विषादिको प्रयोग नगरी उत्पादन गरिने हुँदा अर्गानिक उपजको रूपमा प्रिमियम मूल्यमा बिक्री गर्न सकिन्छ।

यसको अतिरिक्त महँगो रासायनिक मल र विषादिको खपत कम गरी मलखादको आयात घटाउन र माटो तथा वातावरणमा पर्ने नकारात्मक असर र कार्वन उत्सर्जन कम गर्नमा समेत योगदान पुर्‍याउन सकिन्छ। त्यसैगरी रैथाने जातहरूमा उन्नत जातहरूको तुलनामा प्रतिकूल अवस्था सहन सक्ने गुण बढी हुने हुँदा त्यस्ता गुणहरू उन्नत जातको विकासमा उपयोग गर्न सकिन्छ।

रैथाने बाली प्रवर्द्धन गर्न के गर्ने ?

रैथाने बालीको महत्वको बारेमा प्रचारप्रसार र सचेतना बढाउनु यी बालीहरू प्रवर्द्धनको पहिलो खुड्किला हो। रैथाने बालीको उत्पादन तथा उपभोग घट्दै जानुको एउटा कारण त्यस्ता बालीहरूको पोषण र स्वास्थ्यको लागि हुने फाइदाको बारेमा आम उपभोक्ता र सरोकारवालाहरू कम जानकार र कम सचेत हुनु पनि हो। साथै कतिपय समाजमा रैथाने खाद्यान्नलाई गरिबको खानाको रूपमा लिइने गलत सामाजिक मान्यताको कारण पनि उपभोग गर्ने क्रम घट्न गएको देखिन्छ।

त्यसैगरी पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले स्वास्थ्यको लागि फाइदाकारक हुने बारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकारी एवं चेतनाको कमिले गर्दा पनि उत्पादन र उपभोग कम हुने गरेको छ।

त्यस्ता बालीहरूको फाइदा र महत्वको बारेमा सार्वजनिक सञ्चारमाध्यम र प्रचारप्रसारका अन्य विधिहरूको उपयोग गरी सचेतना बढाउन सकेमा उत्पादन र उपभोगमा वृद्धि ल्याउन सकिने देखिन्छ। यस कार्यमा स्थानीयस्तरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, एनजिओ कर्मी, स्थानीय समाजसेवी तथा धर्मगुरु र धामीझाँक्री लगायतलाई परिचालन गर्न सकिन्छ।

रैथाने बालीलाई हाम्रो खाद्य तथा कृषि प्रणालीमा मूलप्रवाहीकरण गर्न सकेमा देशमा दिगो खाद्य पोषण सुरक्षा कायम गर्नमा सघाउ पुग्नुको साथै ग्रामीण नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।

रैथाने बालीको उत्पादन बढाउन कृषकलाई प्रभावकारी प्राविधिक सेवा र अनुदानको व्यवस्था गर्नु आवश्यक देखिन्छ। कृषकहरूलाई रैथाने बालीको खेतीतर्फ आकर्षित तथा उत्पादनको लागत कम गर्न अन्य कुराहरूको अलावा अनुदानमा बीउ वितरण, माटो तथा भकारो सुधार गर्न अनुदान सहयोग, बाँझो जमिन उपयोग गरी खेती गरेमा प्रोत्साहन स्वरूप नगद अनुदान, खेती प्रविधि र बाली व्यवस्थापनका विविध पक्षमा तालिम आदि सहयोग तथा प्रोत्साहनका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ।

साथै गोडमेल र प्रशोधन कार्य झन्झटिलो (फल्न तथा घट्ट वा जाँतोमा पिस्दा अप्ठ्यारो हुने) र बढी श्रम लाग्ने कारणले पनि खेती गर्ने क्रम घट्दै गएकोले उत्पादन कार्यमा प्रयोग हुने मेशिनरी तथा उपकरणमा अनुदान उपलब्ध गराउनुको अलावा महिलामैत्री बाली कटानी तथा चुटानी र फल्ने तथा पिस्ने मेशिनरी तथा उपकरण उपलब्ध गराउन सकिएमा कृषकहरू रैथाने बालीको खेती बढाउन उत्प्रेरित हुने अनुभवले समेत देखाएको छ।

रैथाने बाली प्रवर्द्धनमा परिकार विविधीकरण तथा उद्यम विकास र बजारीकरण सहयोगले महत्वपूर्ण भूमिका खेल्न सक्छ। रैथाने बालीको आशातित रूपमा उत्पादन र उपभोग बढ्न नसक्नु पछाडिको अर्को एउटा प्रमुख कारण परिकारमा विविधता नहुनु पनि हो। रैथाने अन्न तथा कोदोजन्य बालीको उत्पादनबाट परम्परागत रूपमा प्रायः रोटी, ढिंडो, खीर, सातु, खोले लगायतका सीमित परिकारहरू मात्र बनाएर उपभोग गर्ने प्रचलन रहेको पाइन्छ। त्यस्ता बालीका उत्पादन प्रयोग गरेर दर्जनौं आधुनिक परिकार बन्न सक्छन्।

परिकारमा विविधीकरण गर्न सकियो भने बालबालिका तथा युवालाई त्यस्ता खाद्य पदार्थहरूमा आकर्षित गर्न सकिन्छ। विभिन्न परम्परागत तथा आधुनिक परिकारको विकास र प्रवर्द्धन गर्न सकेमा आवश्यक कच्चा पदार्थको माग आपूर्तिको लागि उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ जसको फाइदा उत्पादक कृषकलाई हुने हुन्छ। यसको लागि रैथाने बालीको उपजबाट परम्परागत र आधुनिक परिकार बनाई बिक्रीवितरण गर्नको लागि रेसिपीको बारेमा बेरोजगार युवाको अलावा होटल तथा रेष्टुँरा सञ्चालक, होमस्टे सञ्चालक आदिलाई तालिम दिन सकिन्छ।

साथै परिकार बनाउन आवश्यक सामग्री तथा मेशिनरी उपकरणमा अनुदान उपलब्ध गराउनुको साथै रैथाने बालीको उपज र परिकारमा आधारित उद्यम व्यवसाय स्थापना गर्नको लागि बिजनेश इन्कुवेशनको व्यवस्था र स्टार्ट अप फण्ड जस्ता सहयोग उपलब्ध गराउन सकिन्छ। यसको अलावा कोशेली घर स्थापना र सञ्चालन, रैथाने खाद्य परिकार मेला तथा महोत्सव आयोजना गर्न सकिन्छ।

यस्ता मेलाहरूमा इच्छुक व्यक्तिहरूलाई सशुल्क वा निशुल्क रेसिपी तयारी तालिम पनि प्रदान गर्न सकिन्छ। त्यसैगरी उत्पादक कृषक र व्यापारीबीच रैथाने बालीका उपज खरिदबिक्रीको सञ्जालीकरण गरिदिने वा सम्पर्क कायम गराइदिने, पूर्व खरिद सम्झौता गराउनमा सहजीकरण गरिदिने जस्ता गतिविधि सञ्चालन गरी रैथाने कृषि उपजको बजारीकरणमा सहयोग गर्न सकिन्छ।

उत्पादन र उपयोगमा जोड दिनुको अलावा रैथाने बालीको संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्छ। कतिपय रैथाने बालीका जातहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। त्यस्ता जातहरूको संरक्षणको लागि स्थानीयस्तरमा सामुदायिक बीउ बैंकहरूको स्थापना गरी तीमार्फत संरक्षणका गतिविधि सञ्चालन गर्न सकिन्छ।

यसको अलावा सामुदायिक बीउ बैंकहरूले रैथाने जातको बीउ उत्पादन गरी समुदाय स्तरमा फैलाउन तथा त्यस्ता जातहरूको राष्ट्रिय बीउबिजन समितिमा दर्ता गराई बीउको व्यावसायिक कारोबार र कृषक समुदायको स्वामित्व स्थापित गर्नमा समेत योगदान गर्न सक्छन्।

रैथाने बालीको प्रवर्द्धनको लागि अन्य केही नीतिगत व्यवस्था गर्नु आवश्यक देखिन्छ। अन्न र कोदोजन्य रैथाने बालीहरूको उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खरिद र सार्वजनिक वितरण प्रणालीमार्फत वितरणको व्यवस्था गर्न सके उत्पादन र उपभोग बढाउन मद्दत पुग्न सक्छ।

त्यसैगरी नेपाल सरकारले सार्वजनिक विद्यालयका कक्षा पाँच सम्मका विद्यार्थीको लागि व्यवस्था गरेको दिवा खाजा कार्यक्रमको मेनुमा रैथाने बालीको परिकार समावेश गर्न सके विद्यार्थीको पोषण अवस्थामा सुधार आई शिक्षण सिकाइको गतिविधिको प्रभावकारिता बढ्नुको साथै स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्छ।

साथै रैथाने बालीको महत्व र परिकार तयारी बारे सन्देश र सूचना स्कुले विद्यार्थीमार्फत घर घरमा पुग्न सक्छ। यसको अलावा विद्यालयको स्थानीय पाठ्यक्रममा रैथाने बालीलाई समावेश गरी सम्भव भएसम्म विद्यालय परिसरमा रैथाने बालीको उत्पादन गरेर देखाउन प्रदर्शनी ब्लकको व्यवस्था गर्न सके यसको महत्व र खेती गर्ने तरिकाको बारेमा विद्यार्थी जानकार हुन सक्छन्। रैथाने बालीको महत्व बारे विद्यार्थीलाई जानकारी दिन स्थानीय विद्यालयसँग सहकार्य गरी सचेतना कक्षा सञ्चालन गर्न सकिन्छ।

त्यसैगरी सार्वजनिक कार्यक्रममा रैथाने बालीबाट बनेका परिकार उपभोग गर्ने व्यवस्था गर्न सकेमा रैथाने बाली प्रवर्द्धनको लागि कोसेढुंगा सावित हुने देखिन्छ। रैथाने बालीको उत्पादन र उपभोगलाई बढावा दिन प्रत्येक स्थानीय तह एवं अन्य सार्वजनिक निकायले बैठक, तालिम, गोष्ठी, सभा, सम्मेलन आदि जस्ता सार्वजनिक कार्यक्रममा स्थानीयस्तरमा नै उपलब्ध हुने रैथाने बालीको उत्पादनबाट तयार पारिएका खाना एवं खाजाका परिकार सेवनलाई अनिवार्य गर्न सकेमा रैथाने बालीको उपभोग र उत्पादनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्नेछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाइने भएको छ। उक्त वर्षको सन्दर्भमा विश्वभर कोदोजन्य र अन्य सहायक अन्न बालीको महत्व बारे प्रचारात्मक र प्रवर्द्धनात्मक गतिविधि वर्षभर नै सञ्चालन गरिनेछन्। हामीकहाँ पनि कोदो र सहायक अन्न जन्य रैथाने बालीको बाहुल्य रहेकोले उक्त अन्तर्राष्ट्रिय वर्षको उपयोग गरी त्यस्ता बालीहरूको स्वदेश एवं विदेशमा प्रचारप्रसार गरी तिनको विकास एवं उत्पादन र उपभोग वृद्धिमा सघाउ पुग्न सक्छ।

यसको लागि तीनै तहका सरकार र अन्य सरोकारवालाहरूले हातेमालो गरी अघि बढ्नु आवश्यक देखिन्छ। यसको साथै नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत २०७९ साललाई कृषि जैविक विविधता वर्षको रूपमा मनाउने घोषणा गरे बमोजिम विभिन्न गतिविधि सञ्चालन गरिंदै छन्।

रैथाने बाली र कृषि जैविक विविधता अन्तरसम्बन्धित विषय भएकोले रैथाने बालीको संरक्षण र उपयोगले कृषि जैविक विविधताको संरक्षणलाई प्रत्यक्ष योगदान दिइरहेको हुन्छ। तसर्थ, यस वर्ष रैथाने बालीको प्रचारप्रसार र प्रवर्द्धनमा आ–आफ्नो स्थानबाट योगदान दिई कृषि जैविक विविधता वर्ष २०७९ सफल बनाउन योगदान गर्नु सम्पूर्ण सरोकारवालाको कर्तव्य हुन आउँछ।

रैथाने बाली प्रवर्द्धनमा कसको के भूमिका हुन्छ ?

संविधानतः कृषि विकास र जैविक विविधता संरक्षणको मुख्य जिम्मेवारी प्रदेश र स्थानीय तहको रहेकोले माथि उल्लेख गरिए बमोजिमका रैथाने बाली प्रवर्द्धनका क्रियाकलापहरू सञ्चालन एवं नीतिगत व्यवस्थाको कार्यान्वयनको मूल जिम्मेवारी सम्बन्धित स्थानीय तह र प्रदेश सरकारमा रहन्छ।

केन्द्रको भने नीतिगत व्यवस्था एवं सुधार, रैथाने बाली प्रवर्द्धनको राष्ट्रिय फ्रेमवर्क तयारी र अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत तल्ला सरकारहरूलाई रैथाने बालीको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको लागि स्रोत उपलब्ध गराउनु प्रमुख दायित्व हुने देखिन्छ। यसको अलावा अन्य सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, आम उपभोक्ता र उत्पादक कृषक एवं कृषि उद्यमी लगायत सरोकारवालाको पनि रैथाने बाली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहन्छ।

खाद्य सुरक्षा देशको समग्र हित, राष्ट्रिय स्वाधीनता एवं सुरक्षासँग पनि जोडिने रणनैतिक विषय भएकोले देशमा खाद्य सुरक्षा कायम गर्नु कल्याणकारी राज्यको प्रमुख दायित्वहरूमध्ये पर्छ। हाम्रो संविधानले खाद्य सुरक्षा एवं सम्प्रभुता प्रत्याभूत गर्ने दिशामा खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ।

सोको कार्यान्वयनको लागि खाद्य अधिकार एवं खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ जारी भै कार्यान्वयनमा रहेको सन्दर्भमा खाद्य अधिकारको संवैधानिक र कानुनी व्यवस्थाको कार्यान्वयनको लागि पनि बहुउपयोगी खजानाको रूपमा रहेको रैथाने बालीको महत्वपूर्ण भूमिका हुने देखिन्छ।

तसर्थ, रैथाने बालीलाई हाम्रो खाद्य तथा कृषि प्रणालीमा मूलप्रवाहीकरण गर्न सकिएमा देशमा दिगो खाद्य पोषण सुरक्षा कायम गर्नमा सघाउन पुग्नुको साथै ग्रामीण नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ। यस क्रममा संघीय सरकारको अगुवाइमा रैथाने बाली प्रवर्द्धनको राष्ट्रिय नीतिगत फ्रेमवर्कको तयारीको साथै एक बृहत् मिशनको तर्जुमा र कार्यान्वयन गर्नु वाञ्छनीय देखिन्छ।

लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?