+
+

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १६:२५

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ को तालिका सार्वजनिक भएको छ । आयोजक मण्डला थिएटरले सार्वजनिक गरेको सूचीमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका उल्लेख छ ।

मंसिर ९ गतेदेखि सुरु हुने महोत्सवमा छानिएका कुल २२ नाटकको सूचीलाई मण्डलाले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । तालिकाअनुसार ती २२ नाटकको फेस्टिभलमा कुल ३२ नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँचसम्म मञ्चन हुनेछन् । महोत्सवमा नौ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।

नौ दिनसम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ (नोभेम्बर २५ देखि डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । उद्घाटन मंसिर ९ गते दिउँसो साढे १ बजे र समापन मंसिर १७ गते साँझ साढे ७ बजे हुनेछ ।

‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधिताको उत्सव’ भन्ने नारासहित नाट्य फेस्टिभल हुन लागेको हो ।

तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणकी महोत्सव निर्देशक तथा मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले महोत्सवलाई सफल बनाउन कलाप्रेमीलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?