+
+
कास्की–१ :

किशोर र मनबहादुर दुवैलाई अन्तर्घातकै डर

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक १८ गते २०:५०

१८ कात्तिक, पोखरा । २०४८ सालयताका निर्वाचन कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट तारानाथ रानाभाट र यज्ञबहादुर थापाको वरिपरि घुम्यो । २०४८, २०५१ को उप–निर्वाचन र २०५६ को आम निर्वाचनमा कास्की–१ मा कांग्रेसबाट तारानाथले टिकट पाए भने २०६४, २०७० र २०७४ मा यज्ञबहादुरले ।

यसपटक भने कास्की–१ ले नेपाली कांग्रेसबाट दोहोरिइरहने अनुहारबाट नयाँमा फड्को मारेको छ । कांग्रेसले कास्की सभापति किशोरदत्त बराललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट कास्की–१ मा सबभन्दा धेरै चुनाव लड्ने व्यक्ति हुन्, खगराज अधिकारी ।

२०७० बाहेक २०४८ यताका सबै चुनाव खगराज लड्दै आएका छन् । यसपटक खगराज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सपनासहित प्रदेश सभामा झर्दा प्रतिनिधिसभामा कास्की अध्यक्ष मनबहादुर गुरुङले टिकट पाए । अघिल्लो पटक प्रदेश सभा सदस्य रहेका उनले पनि प्रतिनिधिसभामा फड्को मारेका हुन् ।

अर्थात् निरन्तर दोहोरिरहने नेताहरूबाट फड्को मारेको कास्की–१ मा यो पटक नयाँ अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । परिणामबारे भने दलहरूका आ–आफ्नै दाबी र अनुमान छन् ।

०००

जिल्लाको गुटगत राजनीतिको बलमा कास्की कांग्रेसको सभापति बनेका किशोरदत्तले नै कास्की क्षेत्र नम्बर १ को टिकट पनि हात पार्लान् भन्ने धेरैले सोचेका थिएनन् ।

पूर्व कानुनमन्त्री थापा आफैं टिकट लिन काठमाडौं धाइरहेका थिए । कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, कास्की कांग्रेसका पूर्व सभापति कृष्ण केसीलगायतले काठमाडौंमा अड्डै जमाएर बसेका थिए । तर २३ असोजमा मनोनयन समय सुरु भइसक्दा किशोरले टिकट ल्याएर सबैलाई ‘चकमा’ दिए ।

कास्की कांग्रेस सभापतिका लागि ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएर दोस्रो चरणको निर्वाचन हुँदा प्रतिस्पर्धी क्षेत्रकै नेताको समर्थन जुटाएर नेतृत्वमा पुगेका किशोरले केन्द्रका नेता रिझाएर उसैगरी टिकट हात पारे । २७ वर्ष विज्ञान र गणित विषय पढाएका बराल विरासत तोडेर संसद छिर्ने दाउमा छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्काको जोडबलमा टिकट हात पारेका बरालको संसद यात्रा गर्ने बाटो त्यति सहज भने छैन । एकातिर यसअघिको निर्वाचनमा पनि जित निकालेको एमालेका तर्फबाट चिरपरिचित अनुहार प्रतिस्पर्धामा छन् भने अर्कोतिर जसको समर्थन जुटाएर कास्की जिल्ला सभापति बने, उनै कृष्ण केसीलाई उछिनेर टिकट ल्याएपछि बरालका निम्ति पार्टीभित्रैबाट पनि चुनौती खडा भएको नेताहरू बताउँछन् ।

एमाले उम्मेदवार मनबहादुर गुरुङ भने कास्की–१ कै ठूलो गाउँ सिक्लेसबाट एमाले राजनीतिमा उदाएका हुन् । खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झर्दा मनबहादुरलाई चिट्ठा परेजस्तै भयो ।

२०५४ सालमै तत्कालीन पार्चे गाविस सभापति बनेका सिक्लेसका ‘मुखिया’ मनबहादुरले एमालेका नेता झलक सुवेदी, पुष्पज्योति ढुंगानालगायतका नेतालाई पछि पार्दै प्रदेशबाट संघ उक्लिने दाउमा छन् ।

दुवैलाई उत्तिकै चुनौती, अन्तर्घातकै डर !

संसदीय निर्वाचनमा पहिलो पटक होमिएका किशोरदत्तलाई लाग्ने आरोप छ— ‘निर्वाचन क्षेत्रको भूगोल नै थाहा छैन, त्यहाँका मतदातासँग आत्मीय सम्बन्ध पनि छैन । एमालेका मनबहादुरलाई पनि आरोप छ— ‘प्रदेशसभा सदस्य हुँदा प्रभावकारी भूमिका खेल्न सकेनन् । रिसाउँछन् तर आफ्नै निर्वाचन क्षेत्रलाई पनि मिलाउँदैनन् ।’

दुवै नेताका चुनौती र बलियो पक्ष दुवै छन् । दुवैलाई सबभन्दा धेरै एउटै अन्तर्घातको डर बढी छ । मनबहादुरका निम्ति पार्टीभित्रैबाट असहयोग हुनसक्ने र एमालेकै एउटा समूहले भोट नहाल्ने हुन् कि भन्ने डर छ ।

कास्कीमा खगराज अधिकारी समूहको हालीमुहाली छ । मनबहादुर पृथ्वीसुब्बा गुरुङ समूहका मानिन्छन् । खगराज समूहकै केही मानिस समेत स्वयं मनबहादुरले नजितुन् भन्ने चाहेको केही एमाले नेता बताउँछन् ।

गुरुङको बाहुल्य रहेको क्षेत्र भएकाले त्यो मनबहादुरका लागि अनुकूलता हुनसक्छ । मनबहादुरका निम्ति अर्को चुनौती पनि छ । सुरुदेखि नै वडा नम्बर १ र २ बीच सीमा विवाद छ ।

एमालेबाट प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ मादी गाउँपालिका अध्यक्ष र मनबहादुर प्रदेश सदस्य हुँदा सीमा समस्या समाधान गर्न सिफारिस समेत गर्न नसकेको आरोप छ । यही कारण ताङतिङ गाउँको मत धेरै मनबहादुरलाई नजाने र सिक्लेस गाउँको मत पहिलेभन्दा काटिनसक्ने स्थानीय बताउँछन् ।

मादी गाउँपालिकामा खुलेका हाइड्रोपावरबाट आफूले फाइदा लिएर जनतालाई बेवास्ता गरेको आरोप मनबहादुरलाई छ । ‘वडा सीमादेखि हाइड्रोसम्मका गुनासो छन् र पनि गाउँले हुन्, यसपटक भोट त हाल्नुपर्छ भन्नेहरू पनि छन्’ सिक्लेसका एक एमाले कार्यकर्ताले भने, ‘उहाँका निम्ति यसपटक सजिलो भने छैन ।’

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका किशोरदत्तका निम्ति सबभन्दा ठूलो डर नै अन्तर्घातको हो । एक वर्षको अन्तरमै कास्की कांग्रेसको सभापति र संघको टिकट समेत हात पारेपछि उनलाई हिजो सघाउनेहरू पनि अहिले असन्तुष्ट रहेको कांग्रेसजन बताउँछन् । कांग्रेसका एक नेता भन्छन्, ‘हिजो जसले सभापति बनाउन सघाए, उनैको टिकट खोसेपछि रुष्ट बन्नु स्वाभाविकै हो ।’

किशोरदत्तका निम्ति भूगोल पनि नयाँ भएको धेरैको भनाइ छ । उनी भने २७ वर्ष शिक्षणको क्रममा त्यही क्षेत्रमा धेरै समय बिताएकाले भनिएजस्तो नयाँ नभएको दाबी गर्छन् ।

सबै कांग्रेसले मत हाले भने चुनाव जित्न सहज हुने गठबन्धनको मत कास्की क्षेत्र नम्बर १ मा स्थानीय तहको मत परिणामले देखाउँछ । गाउँ गाउँमा भिजेका, एकपटक चुनावी अनुभव लिइसकेका मनबहादुर व्यक्तित्वका हिसाबले पनि किशोरदत्तका निम्ति चुनौती हुने नेताहरू बताउँछन् ।

मनबहादुरलाई पालिकाको भर, किशोरलाई शहरी वडाको

कास्की क्षेत्र नम्बर १ मा मादी गाउँपालिका, रूपा गाउँपालिका, पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६ देखि ३२ नम्बरसम्मका वडाहरू पर्छन् । मनबहादुरको आफ्नो पालिका मादी र अर्को एमालेको गढ मानिएको रूपा गाउँपालिकाबाट प्राप्त मतले नै जित्न सहज हुने अनुमान एमालेको छ ।

यसअघि मादी गाउँपालिकाको अध्यक्ष रहेका वेदबहादुर अहिले प्रदेश सभा सदस्यको उम्मेदवार छन् । उनका कारण पनि मादीबाट मनबहादुरलाई मत बढ्ने अनुमान छ । मादी गाउँपालिकाको अध्यक्ष भने यसपटक नेपाली कांग्रेसले जितेको छ ।

स्थानीय व्यक्ति नै उम्मेदवार भएकाले मादीबाट धेरै मत आफूले प्राप्त गर्ने र रूपा गाउँपालिकाबाट पनि सबै एमालेको मत आउँदा शहरी वडाबाट समान मत नै आए पनि जित निकाल्न सक्ने हिसाबकिताब मनबहादुरको छ ।

मादी गाउँपालिकामा कांग्रेस मात्र होइन, नेकपा माओवादीको पनि राम्रै मत रहेकाले किशोरदत्तले नै अग्रता कायम गर्न सक्ने गठबन्धनका नेताहरू बताउँछन् । रूपा गाउँपालिकाबाट एमालेका उम्मेदवारले अग्रता कायम गरिहाले पनि शहरी वडाबाट आफूहरूलाई धेरै मत प्राप्त हुने किशोरदत्त समूहको दाबी छ ।

मादी गाउँपालिकाका अधिकांश मानिस पोखरा–१३ मा बस्दै आएका छन् । किशोरदत्त सोही वडावासी भएकाले ठूलो मतान्तरमा रूखलाई बढी मत आउने विश्लेषण उनीहरूको छ ।

कांग्रेसले जितेको र स्थानीय प्रभाव पनि भएकाले पोखरा महानगरका वडा नम्बर १२, १३, १०, १४ ले किशोरदत्तलाई ठूलै अग्रता दिने र वडा नम्बर २६, २७, २८, २९, ३१ लगायतका वडाबाट पनि राम्रै मत प्राप्त हुने गठबन्धनको हिसाब छ ।

हरेक निर्वाचनमा स्वाद फेर्ने विगत

कास्की क्षेत्र नम्बर १ यस्तो क्षेत्र हो, जसले निर्वाचनै पिच्छे फरक व्यक्तिलाई जिताउँछ । यो निर्वाचन क्षेत्र चुनाव जितेपछि मन्त्री पाउने भाग्यमानी क्षेत्रमा पनि पर्छ ।

२०४८ सालमा कास्की क्षेत्र नम्बर १ मा तारानाथ र खगराजका बीच पहिलो पटक चुनावी प्रतिस्पर्धा भएको थियो । त्यो बेला तारानाथले चुनाव जित्दै पहिलो पटक कास्की–१ बाट मन्त्री नै बने । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा हारको बदला लिंदै खगराजले पहिलो पटक संसदीय यात्रा थाले ।

२०५६ सालको निर्वाचनमा पनि उनै तारानाथ र खगराजकै बीचमा प्रतिस्पर्धा हुँदा तारानाथ दोस्रो पटक संसद मात्रै पुगेनन्, सभामुखसमेत बने । २०६४ सालमा कास्की क्षेत्र नम्बर १ ले झनै फरक स्वाद लियो ।

कांग्रेस, एमाले छाडेर नेकपा माओवादी रोज्यो र देव गुरुङलाई जितायो । त्यो बेला कांग्रेसबाट उनै यज्ञबहादुर र एमालेबाट खगराज नै उम्मेदवार थिए । देव गुरुङले मनाङ रोजेपछि भएको उपनिर्वाचनमा माओवादीकै कृष्णबहादुर गुरुङ (लालटिन कृष्ण)ले चुनाव जिते ।

२०७० सालको निर्वाचनमा कांग्रेसका यज्ञबहादुरले यही क्षेत्रबाट चुनाव मात्र जितेनन्, कानुनमन्त्री नै बने । २०७४ सालमा वाम गठबन्धनका तर्फबाट खगराजले चुनाव जिते र केही दिन नै भए पनि गृहमन्त्रीसमेत बने । फरक स्वाद र फरक उम्मेदवारलाई जिताइरहने कास्की–१ ले यसपटक के गर्छ, त्यो भने धेरैको चासोको केन्द्रमा छ ।

यस्तो छ अंकगणित

२०७४ सालको निर्वाचनमा एमालेका खगराज १३ हजार ४१६ भन्दा बढी फराकिलो मतान्तरले विजयी भएका थिए । एमाले र माओवादी एकता गरेर चुनावमा जाँदा अधिकारीले ३९ हजार २४२ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुरले २५ हजार ८२६ ।

त्यो बेलाको एमालेको सारथि माओवादी अहिले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा छ । एमालेबाटै फुटेको एकीकृत समाजवादी पनि गठबन्धनमै छ ।

त्यसैले यसपटक अघिल्लो निर्वाचनको मत परिणाम हेरेर अहिले आकलन गर्ने अवस्था भने छैन । स्थानीय तहहरू हेर्दा गठबन्धन नै अगाडि देखिन्छ । १२ वटा वडा रहेको मादी गाउँपालिकामा अध्यक्षसहित ६ वटा वडा जितेको छ भने एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेको छ । माओवादीले २ वटा जितेको छ ।

रूपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ७ वडामध्ये ६ वटा वडा एमालेले र १ वडा कांग्रेसले जितेको छ । कास्की–१ मा पर्ने पोखरा महानगरपालिकाको १० वडामध्ये ९ वटामा कांग्रेसले जितेको छ ।

स्थानीय तहको निर्वाचनमा यी वडाका अध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा कांग्रेसको ३१ हजार ७२ मत छ भने नेकपा एमालेको २८ हजार ३४६ । माओवादीका वडाअध्यक्षका उम्मेदवारले ३ हजार १७० मत प्राप्त गरेका छन् ।

गठबन्धनका कारण पोखरा महानगरका साथै रूपा र मादीका अधिकांश वडामा माओवादीले वडाअध्यक्षका उम्मेदवार नै नउठाउँदा आफ्नो मतको यकिन गर्नसमेत सकेन । एकीकृत समाजवादीका पनि वडामा उम्मेदवार थिएनन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?