+
+

आरजुले छाडेको क्षेत्रमा कस्तो छ प्रतिस्पर्धा ?

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक २० गते २०:१४

२० कात्तिक, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली-५ बाट प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थिन् । अघिल्लो पटक आफूलाई असहयोग गरेको आरोपमा पुष्करनाथ ओझालाई मनाउने प्रयास असफल भएपछि उनले स्वास्थ्यलाई देखाएर प्रत्यक्ष चुनाव लडिनन्, समानुपातिक पद्धति रोजिन् ।

कांग्रेसले आरजुकै सिफारिसमा डिल्लीराज पन्तलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य जितेका उनलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ ।

नेकपा एमालेबाट पूर्वसांसद एवं कैलाली इन्चार्ज नारदमुनि राना चुनावी मैदानमा छन् । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामी, लोसपाका दानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट दलीय उम्मेदवार छन् भने पुष्करनाथ ओझासहित ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

कैलालीमा प्रभाव विस्तार गरिरहेको नागरिक उन्मुक्ति पार्टीले यो क्षेत्रमा लक्ष्मण चौधरीलाई उम्मेदवार बनाएको थियो । तर टीकापुर घटनामा जन्मकैदको सजाय पाएर फरार रहेको उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ ।

यो क्षेत्रमा सत्ता गठबन्धनका पन्त, एमालेका राना र स्वतन्त्र उम्मेदवार ओझाबीच प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् ।

कांग्रेसका उम्मेदवार पन्त संविधान, गणतन्त्र, संघीयताको रक्षा तथा विकास र समृद्धिका लागि मत मागिरहेको बताउँछन् । ‘एमालेलाई फेरि जितायो भने संविधान, गणतन्त्र, संघीयता संकटमा पर्छ । संविधानको रक्षाकै निमित्त पाँचदलीय गठबन्धन बनेकाले जनताले विश्वास गरेर हामीलाई मत दिनेछन्’, पन्तले अनलाइनखबरसँग भने, ‘यो कुरा मतदाताले राम्रोसँग बुझेका छन् ।’

उनी आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गर्छन् । कांग्रेसको बलियो संगठन, गठबन्धनका साथ र प्रदेश सभा सदस्य हुँदा आफूले गरेका कामको बलमा चुनाव जित्ने उनको दाबी छ । २०२९ सालदेखि राजनीतिमा सकि्रय पन्त २०७४ मा कैलाली-५ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

एमाले उम्मेदवार राना ५ वर्षे कार्यकालमा आफूले सुरु गरेको कामलाई निरन्तरता दिने एजेण्डा दिएर मतदातामाझ गएका छन् । ‘मेरो कार्यकालमा धेरै कामको थालनी भएको छ । हुलाकी सडक चार लेनको बन्दैछ, सिटी हल, कोल्ड स्टोर, जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्दै धनगढीलाई मेगा सिटीका रुपमा विकास गर्न जग तयार गरेका छौं’, रानाले अनलाइनखबरसँग भने, ‘अब समृद्धि सुन्दर सहर बनाउन मलाई मतदाताले मत दिनुहुनेछ ।’

२०५४ सालमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयर जितेका राना पहिलो संविधानसभामा समानुपातिक सभासद थिए । ०७४ मा कैलाली ५ को टिकट पाएका उनी आरजुलाई ४ हजार ८८० मतान्तरले पराजित गर्दै सांसद चुनिएका थिए ।

स्वतन्त्र उम्मेदवारको परीक्षा

दुई ठुला पार्टीको प्रतिस्पर्धालाई पुष्करनाथ ओझाको उम्मेदवारीले थप कसिलो बनाएको छ ।

२०७० सालको उपनिर्वाचनमा कांग्रेसबाट जितेका ओझा २०७४ मा पनि टिकटका आकांक्षी थिए । तर आरजु उम्मेदवार बनेपछि रुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी त दिएनन्, तर आरजुलाई पनि खुलेर सहयोग गरेनन् । आरजुले चुनाव हारेपछि कांग्रेसले असहयोग गरेको आरोपमा पुस्करनाथलाई पार्टीबाट निष्कासन गर्‍यो ।

यो पटक स्थानीय चुनाव ताका नै कांग्रेसले उनलाई फकाउन खोजेको थियो । धनगढी उपमहानगरपालिकाका उम्मेदवारलाई मत माग्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोजेका थिए, तर ओझाले भेट्न समेत मानेनन् । उनको समेत समर्थन पाएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर चुनिए ।

यसपछि पनि कांग्रेसले उनलाई फकाउन खोजेको हो, तर स्थानीय चुनावको नजिताले हौसिएका ओझाले आफैं चुनाव लड्ने अडानमा रहेपनि सहमति हुन सकेन । ओझा कांग्रेसमा रहँदा आफूले बनाएको जनमतमा उभिने र दलहरुबीच असन्तुष्ट मत तानेर चुनाव जित्न चाहन्छन् ।

राजनीतिक पार्टीहरुले राम्रो गरेनन्, उनीहरुलाई दण्ड दिनुपर्छ भन्ने धारणा आम मानिसमा विकसित भएको भन्दै उनले भने, ‘मेरो लामो राजनीतिक पृष्ठभूमि छ । सबै पार्टीमा गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने व्यक्तिमाथि अन्याय भएको छ । यही कारण मप्रति सदभाव-समर्थन छ । यही आधारले चुनाव जित्छु ।’

अरु मुद्दामा एकअर्काप्रति आक्रामक कांग्रेस उम्मेदवार पन्त र एमाले उम्मेदवार राना, स्वतन्त्र उम्मेदवार ओझाको हकमा भने एउटै धारणा राख्दा रहेछन् । दुबैको प्रयास दलको विकल्प स्वतन्त्र उम्मेदवार नभएको स्थापित गर्ने देखिन्छ ।

कांग्रेस उम्मेदवार पन्त भन्छन्, प्रतिनिधिसभा भनेको राष्ट्रिय नीति बनाउने थलो हो । यहाँ एउटा व्यक्तिको अर्थ हुँदैन ।’ धनगढी उपमहानगरमा स्वतन्त्रले जितेको नजिर संघीय चुनावमा काम नलाग्ने र व्यक्तिले दललाई चुनौती दिन नसक्ने भन्दै उनले भने, ‘उहाँका कारण मलाई समस्या हुन्छ भन्ने पनि लागेको छैन । उहाँसँग हामीलाई असर पार्ने खालको मत पनि छैन ।’

एमाले उम्मेदवार रानाले पनि विगतमा दलीय राजनीति गरेको, तर पार्टीले विश्वास नगरेपछि स्वतन्त्र बनेका व्यक्तिलाई जनताले विश्वास नगर्ने दाबी गर्छन् । आफ्नो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार नभई सत्तारुढ गठबन्धनसँग नै भएको उनले बताए ।

स्थानीय तहको अंकगणित

धनगढी उपमहानगरका १९ वडा, कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्ने कैलाली क्षेत्र नम्बर ५ मा एक लाख पाँच हजार ७९३ मतदाता छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा कांग्रेस सबैभन्दा ठूलो दल छ भने एमाले दोस्रो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार २२ हजार ७७९ मत पाउँदा एमालेका उम्मेदवारले १७ हजार ४२० मत प्राप्त गरेका छन् । माओवादीले ८ हजार १७६, एकीकृत समाजवादीले २ हजार एक, राप्रपाका उम्मेदवारले एक हजार ७९७ मत पाएका छन् । वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धनसँग ३२ हजार ९५२ मत छ भने एमालेसँग १७ हजार ४२० मात्रै छ ।

तर ९५ हजारभन्दा बढी मतदाता रहेको धनगढी उपमहानगरको मेयरमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका थिए ।

हमाल २६ हजार ८६५ मतका साथ निर्वाचित कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ र एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका थिए । उपमेयर भने एमाले जितेको छ ।

त्यसैले कैलाली ५ को नजिता धेरै हदसम्म स्वतन्त्र उम्मेदवार ओझाले पाउने मतमा निर्भर हुने देखिन्छ । २०७४ मा धनगढीको मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको कांग्रेसका उम्मेदवार आरजुलाई हराएका राना अहिले पनि पुष्करले काट्ने मत र कांग्रेसको असन्तुष्टिको लाभ उठाउने रणनीतिमा छन् ।

सत्ता गठबन्धनका नेताहरु पनि कांग्रेसको मत शतप्रतिशत पन्तले पाउने स्वीकार गर्छन्, तर माओवादीसहित गठबन्धनमा आवद्ध दलहरुको मतले त्यसलाई पूर्ति गर्ने दाबी गर्छन् ।

‘विविध कारणले हाम्रो उम्मेदवारले कांग्रेसको शत प्रतिशत मत नपाउने नकार्न मिल्दैन, तर गठबन्धनमा आवद्ध दलको मत बाहिर जाँदैन । त्यो अवस्थामा हामी नै चुनाव जित्छौं’, कांग्रेस कैलालीका एक नेताले भने ।

स्वतन्त्र उम्मेदवार ओझा पक्षधरले भने स्थानीय निर्वाचनदेखि धनगढीका स्वतन्त्रको लहर आएकाले चुनाव जितिने दाबी गरिरहेका छन् । राजनीतिक दलभित्र बढ्दो असन्तुष्टिलाई मतमा बदल्न चाहेको यो पक्षले धनगढी उपमहानगरका मेयर हमालको पनि साथ पाउने आश गरेको छ ।

स्थानीय चुनावमा ओझाले साथ दिएका कारण पनि हमालले गुन तिर्नेमा ओझा पक्ष आशावादी देखिन्छ । तर यो विषयमा मेयर हमाल स्वयंले भने मुख खोलेका छैनन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?