+
+
कास्की–१ (क) :

प्रदेश झरेका खगराजलाई दीपकको चुनौती

अघिल्लो निर्वाचनमा खगराजले जसका लागि भोट मागेका थिए, अहिले उनी नै प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा आफू प्रतिनिधिसभामा उठेर प्रदेशसभामा माओवादी उम्मेदवार दीपक कोइरालालाई भोट मागेका खगराजले यसपटक उनै कोइरालासँग प्रतिस्पर्धा हुने सायदै कल्पना गरेका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २० गते १९:५३

२० कात्तिक, पोखरा । राजनीतिमा हार जित दुबै ब्यहोरेका छन् खगराज अधिकारीले । संसदीय राजनीतिमा ०४८ सालदेखिको अनुभव संगालेर यसपटकको परीक्षामा संघबाट प्रदेश झरेका छन् उनी । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने अभिलासासहित नेकपा एमालेबाट छैठौं पटक मतदातामाझ गइरहँदा पूर्वसहयात्री नेकपा माओवादी केन्द्रका दीपक कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् ।

मुख्यमन्त्री बन्न चाहेका खगराज र उनलाई हराएर राजनीतिक उचाइ प्राप्त गर्ने दीपक दुबैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।

खरो नेताको परिचय बनाएका र अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र रहेका खगराजलाई आफ्नो क्षेत्रमा राजनीतिक दबदबा कायम गर्न पनि जित निकाल्नैपर्ने दबाव छ । एमालेजनहरु नै भन्छन्, ‘खगराज यतिबेला राजनीतिक जीवनकै प्रतिष्ठा बचाउनैपर्ने चुनौतीपूर्ण मोडमा छन् ।’

टिकट हात नपर्दासम्म खगराज भन्थे, ‘म संघीय स्वास्थ्य र गृहमन्त्रीसमेत भइसकेको मान्छे हुँ, मेरो चाहाना यसपटक पनि संघमै हो ।’ तर, उनी कास्की–१ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुबैतिर उम्मेदवार सिफारिस भएका थिए ।

खगराजले एमाले उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा रोजेमा आफू प्रतिनिधिसभामा चुनाव लड्ने बताउने गरेका थिए । पृथ्वीसुब्बाले पनि मुख्यमन्त्री बन्ने चाहनासहित पुनः प्रदेशमै उठ्ने बताइरहेका थिए ।

तर, एमाले महासचिव शंकर पोखरेलले खगराजलाई प्रदेशमै उठाउन चाहेको र अध्यक्ष ओली पनि यसमा सहमत भएको एमाले स्रोतको भनाइ छ । अन्ततः पृथ्वीसुब्बाले प्रतिनिधिसभामा टिकट पाए भने खगराजले कास्की–१ (क) बाट प्रदेशसभामा ।

गण्डकी प्रदेश र कास्की जिल्लामा एमाले उपमहासचिव पृथ्वीसुब्बा र खगराजका बीचमा पार्टीभित्र र राज्यसंयन्त्रमा आफ्नो प्रभाव राख्ने प्रतिस्पर्धा छ । एमालेभित्रको गुटलाई मिलाउँदै मुख्यमन्त्री बनेर आफ्नो राजनीतिक उचाइ बढाउन खगराज यतिबेला कस्सिएका छन् । र, खगराजका निम्ति पहिलो चुनौती भनेकै एमालेभित्रको गुटबन्दी हुने एक एमाले नेताले बताए ।

जोसँग भोट मागे उही प्रतिस्पर्धी

२०७४ को चुनावमा वाम गठबन्धन बनाएर एकअर्काको सहयोगी भएका एमाले-माओवादी यसपटक आमने–सामने छन् । कास्की– १ खगराजका लागि चिरपरिचित क्षेत्र थियो । तर, माओवादीका पूर्व ब्रिगेड कमाण्डर दीपक कोइरालाका निम्ति संसदीय निर्वाचन नै पहिलो थियो ।

२०३५ सालमा दीपक कोइराला जन्मिँदा २०१८ सालमा जन्मेका खगराजले राजनीतिक यात्रा अघि बढाइसकेका थिए । खगराज २०३३ सालमा त पुष्पलाल समूहको एरिया कमिटी सदस्य भइसकेका थिए । पाँचौं पटक चुनावी मैदानमा होमिएका अनुभवी खगराजले अघिल्लो चुनावमा दीपकका निम्ति भोट माग्दै हिँडेका थिए ।

अघिल्लो निर्वाचनमा खगराजले जसका लागि भोट मागेका थिए, अहिले उनी नै प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा आफू प्रतिनिधिसभामा उठेर प्रदेशसभामा माओवादी उम्मेदवार दीपक कोइरालालाई भोट मागेका खगराजले यसपटक उनै कोइरालासँग प्रतिस्पर्धा हुने सायदै कल्पना गरेका थिए ।

त्यो बेला खगराजले रुपा गाउँपालिकाको चुनावी कार्यक्रममा भनेका थिए, ‘दीपक कोइरालाको जस्तो जोश र मेरो अनुभव मिलायो भने यो क्षेत्रले कस्तो फड्को मार्ला ? त्यसैले दीपक कोइरालालाई जसरी पनि मत दिनुहोला।’

स्थानीय तहमा गठबन्धनका दलहरुले प्राप्त गरेको मत भन्दा एमालेको मत १ हजारभन्दा बढीले पछाडि छ । तर, चुनावपछि गठबन्धन नटिक्ने र एमाले नेतृत्वमा सरकार बन्ने भएकाले खगराज मुख्यमन्त्री बन्ने एजेण्डा कास्की-१ ‘क’ मा एमालेजनले बनाएका छन् ।

खगराज र दीपकको बलिया र कमजोर पक्ष

२०५१ को उपनिर्वाचन र २०७४ सालको आम निर्वाचनमा चुनाव जितेका खगराजले २०४८, २०५६ र २०६४ मा हार व्यहोरे । सांसद नभए पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका खगराज २०७८ जेठमा केपी शर्मा ओली नेतृत्वको सरकारमा १३ दिन गृहमन्त्री बने ।

खगराजको राजनीतिक जीवनको बलियो पक्ष भनेको आर्थिक मुद्दामा विवादित नहुनु हो । त्यसैले उनको चुनाव क्षेत्रमा मान्छे रुखो भए पनि बिगार्ने काम चाहिँ गर्दैनन् भन्नेहरु भेटिन्छन् ।

विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका खगराज पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सभापति हुँदैराजनीतिक सिंढी उक्लिँदै गए । २०६५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य चुनिएका उनी गत वर्ष भएको दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख बनेका छन् ।

कास्कीको एमाले राजनीतिमा लामो समयदेखि रजगज गर्दै आएका खगराजलाई सबैभन्दा बढी लाग्ने आरोप हो, ‘रुखो बोल्छन्, मन नपरेका व्यक्तिलाई भित्तामै पुर्‍याउन लाग्छन्, आफूभन्दा माथि उठ्नै दिँदैनन् ।’ अहिले पनि खगराजलाई आफ्नै पार्टीभित्रबाट अन्तर्घात हुन सक्ने चर्चा एमालेभित्रै छ ।

खगराजका कारण माथि उठ्न नपाएका नेता र पृथ्वीसुब्बा गुरुङ समूहकाबाट समेत उनलाई असहयोग हुन सक्ने अनुमान छ । तर, प्रतिनिधि सभामा पृथ्वीसुब्बा समूहका मानिने मनबहादुर गुरुङ र कास्की–१ को ख मा खगराज समूहकै वेदबहादुर गुरुङ उम्मेदवार हुँदा सन्तुलन भएको एमालेजनको भनाइ छ । कास्की–१ मा अहिले एमालेको कुनै गुट नभएको दाबी खगराजले पनि गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा एमालेभन्दा सत्तारुढ गठबन्धन अगाडि देखिए पनि कांग्रेसका कार्यकर्ताको मत तान्न सकिने एमाले नेताहरु बताउँछन् ।

खगराजका प्रतिस्पर्धी दीपकको राजनीतिक उदयलाई छलाङका रुपमा व्याख्या गर्नेहरु कास्कीमा छन् । माओवादी कास्कीको राजनीतिमा कोइरालाले आफ्नो दबदबा देखाएका छन् भने संसदीय राजनीतिमा पनि आफूलाई अब्बल साबित गराएको नेताहरु बताउँछन् ।

गण्डकी प्रदेशसभामा कोइराला अर्थ तथा विकास समिति सभापति बने । उनीमात्र समितिका यस्ता सभापति हुन्, जसले सरकार फेरिए पनि पूरै कार्यकाल काम गर्न पाए । अरु ३ समितिका सभापति सरकार फेरिएसँगै फेरिएका थिए । समितिमा सरकारका गतिविधिमाथि छलफल गराउने, प्रश्न गर्ने र निर्देशन दिने काम उनले गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्मासँग नजिक रहेका कोइरालाले थुप्रै आकांक्षीलाई पछि पार्दै टिकट पाएका हुन् । यो क्षेत्रबाट संविधानसभाका सदस्य राजकाजी गुरुङले दावी गरेका थिए । तर, कास्की–३ बाट प्रतिनिधिससभाको टिकट माओवादीले पाएपछि कास्की १ (क) मा फेरि दीपकले नै टिकट पाए ।

एउटै व्यक्तिले टिकट पाएको भन्दै माओवादीभित्र केही स्वरहरु सुनिएकाले कोइरालालाई पनि अन्तर्घातको डर छ । तर कांग्रेसको मतलाई आफ्नो पक्षमा पार्ने र एमालेको असन्तुष्ट मतसमेत तानेर जित्ने दाउमा कोइराला छन् । कांग्रेसले इमान्दारीपूर्वक मत हाल्ने र एमालेका कार्यकर्तालेसमेत आफूलाई सहयोग गर्ने कोइराला बताउँछन् । कास्की–१ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल छन् ।

एमालेलाई जिताउनुभन्दा दीपकलाई नै जिताउँदा अर्को चुनावमा आफूहरुको सम्भावना सुरक्षित रहने कांग्रेसका एक नेताले बताए । ‘एमालेबाट खगराजले जिते भने अर्को १० वर्षसम्म त्यो क्षेत्रमा कांग्रेसलाई गाह्रो हुन सक्छ । त्यसैमाथि खगराज मुख्यमन्त्री बने भने त झनै कमजोर हुन सक्ने भएकाले यसपटक कांग्रेसले कोइरालालाई नै मत हाल्छ’, ती नेताले भने । दीपकका निम्ति त्यो क्षेत्रमा माओवादीको ठूलो संगठन नहुनु चुनौती हो ।

कास्की क्षेत्र नम्बर १ (क) मा रुपा गाउँपालिकाका सबै र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा पर्छन् । रुपा गाउँपालिका एमालेको बलियो प्रभाव क्षेत्र हो । जहाँ ७ वडामध्ये ६ वटा एमालेले जितेको छ भने कांग्रेसले एउटा जितेको छ । यो क्षेत्रमा पर्ने पोखरा महानगरका वडामध्ये २९ बाहेक सबैमा कांग्रेसले जितेको छ ।

गएको निर्वाचनमा माओवादीले गठबन्धनका कारण उम्मेदवार नहुँदा आफ्नो मत परीक्षण गर्नसमेत पाएको थिएन । महानगरका वडाबाट बराबरीजसो मत पाए पनि रुपा गाउँपालिकाकै मत जित्नका लागि काफी हुने खगराज समूहको दाबी छ । तर, महानगरका वडाबाट मतान्तर फराकिलो पार्ने दीपकको योजना छ ।

खगराजलाई गण्डकीको भावी मुख्यमन्त्रीका रुपमा हेरिँदा दीपकले पनि गठबन्धनबाट माओवादीको भागमा पर्दा मुख्यमन्त्रीको दाबेदार आफू भएको बताइरहेका छन् । खगराजका निम्ति सम्भवत यो अन्तिम निर्वाचन हुने अनुमान गरिएको छ भने दीपकका निम्ति यो चुनावले भविष्य निर्धारण गर्ने छ ।

त्यसैले पनि यो क्षेत्रमा कसले जित्छ यसै भन्न सक्ने अवस्था छैन । तर, के चाहिँ स्पष्ट छ भने, जसले जिते पनि राजनीतिक जीवन र प्रतिष्ठामा नयाँ मोड आउने छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?