+
+

‘महापुरुष’को १० दिनको कमाइ साढे ६ करोड, भीआईपी शोमा सेलिब्रिटीले हेरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:५९

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।

दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो ।

बलियो वर्ड अफ माउथको प्रभाव दोस्रो साताको विकडेजमा स्पष्ट देखिने प्रक्षेपण गरिएको छ । आउँदो साता प्रतीक्षित हलिउड फिल्म ब्ल्याक प्यान्थर २ र नेपालमै छायांकन भएको बलिउड फिल्म उचाइ रिलिज हुने भएपछि महापुरुषको तेस्रो साताको भविष्य वर्ड अफ माउथमै निर्भर हुनेछ ।

भीआईपी शोमा सेलिब्रिटीले हेरे फिल्म

कलाकारहरु अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्मासहितले आइतबार बेलुका महापुरुष हेरे । आमालाई लिएर फिल्म हेर्न पुगेकी रीमाले फिल्म उत्कृष्ट बनेको बताइन् ।

‘म सानै छँदा बुवा बित्नु भएकाले म एकल आमाकी सन्तान हुँ । फिल्म हेरेपछि म सोच्दैछु उहाँ सुखी त हुनुहुन्छ, के खुसी पनि हुनहुन्छ ? यस विषयमा त हामीले कुराकानी नै गरेका रहेनछौं ।’ उनले फिल्म बाको माध्यमले प्रस्तुत गरिए पनि बा र आमा दुवैको एक्लोपनको कथा व्यक्त गर्ने बताइन् ।

‘कतिपय स्थानमा मलाई सामान्य लागेको दृश्यमा पनि आमा भावनात्मक भइरहनुभएको थियो । किनकि उहाँलाई बढी कनेक्ट गर्‍यो । त्यसैले आफ्नो बुवाआमाको भावना बुझ्न चाहनुहुन्छ भने यो फिल्मसँगै हेर्नुहोला । उहाँहरूले मनमा कुरा दबाए पनि आँखाले बोल्नेछ,’ रीमाले भनिन् ।

वास्ता नगरिएको कथालाई दर्शकसम्म लगिएको अभिनेत्री करिश्मा मानन्धरले बताइन् । ‘सुखी मात्र नभएर खुसी पनि हुनुपर्छ भन्ने सन्देश यसले दिएको छ । बुढ्यौलीमा महसुस हुने एलोपनमा चाहिने साथलाई यसमा सरल रुपमा देखाइएको छ,’ उनले भनिन् ।

‘महापुरूष’जस्ता फिल्मले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने अभिनेता सन्तोष पन्तले बताए । अभिनेता रमेश उप्रेतीले एउटा उत्कृष्ट फिल्म हेर्ने मौका मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?