+
+

एक महिनादेखि अस्पतालको बेडमा छटपटाइरहेका उम्मेदवार

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २२ गते १९:४०

२२ कात्तिक, विराटनगर । ४ मंसिरमा हुने चुनावमा उम्मेदवारी दिएकाहरु मतदाता रिझाउन घरदैलो र भेटघाटमा व्यस्त छन् ।

सबै उम्मेदवार चुनावी अभियानमा व्यस्त हुँदा मोरङ-/३ ‘क’ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापा ३० दिनयता अस्पतालको बेडमा छटपटाइरहेका छन् । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री थापा गत असोज २४ गतेयता अस्पतालमै छन् ।

थापा २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएका थिए । यो पटक उनलाई कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दिएको थियो । गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते नै गम्भीर बिरामी परे । त्यसअघि भने उनी औषधि खाएर चुनावी अभियानमा थिए ।

असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई विराटनगरकै नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि उनलाई थप उपचारका लागि असोज २७ गते हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

२५ दिन काठमाडौंको ह्याम्स अस्पतालमा राखेर उपचार गर्दा उनको निमोनिया ठीक भएको छ । उनलाई आफन्तले काठमाडौंबाट ल्याएर विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन् । स्वास्थ्यमा सुधार भएपनि अत्याधिक कमजोरी भएका कारण निरन्तर अक्सिजन सहयोगमा राखिएको छ ।

चुनावका लागि कार्यकर्ता भेट्न चासो देखाएपछि आफन्तले विराटनगर ल्याएका हुन् । ‘अहिले सबै सामान्य भएको छ, तर धेरै कमजोरी छ,’ शेखरकी श्रीमती लक्ष्मी कार्की थापाले भनिन्,‘ उहाँले नै जोडबल गरेपछि सोमबार विराटनगर आयौं ।’ चुनाव नजिकिँदै जाँदा उम्मेदवार थापा काठमाडौं बस्न नमानेको लक्ष्मीले बताइन् । नोबेलमा उनलाई भेट््न कार्यकर्ताहरु पुगिरहेका छन् ।

लक्ष्मीका अनुसार असोज दोस्रो सातादेखि नै थापाको स्वास्थ्यमा समस्या देखिएको थियो । ज्वरो आएपछि उनी औषधि खादै चुनावी अभियानमा सक्रिय थिए । असोज २३ गते औषधि सेवन गरेर मनोनयन दर्ता गर्न गएका उनलाई भोलिपल्ट गाह्रो भएको थियो । ‘मनोनयन दर्ताअघि अफिसको काम र चुनावका लागि टिकटको दौडधुप थियो’, लक्ष्मीले भनिन्,‘औषधि खादै काममा खटिनुभएको थियो, पछि निमोनिया देखियो ।’

उनका अनुसार शेखरलाई निमोनिया र डेङ्गु सँगै देखिएको थियो । त्यसपछि पायल्सको समस्या पनि देखियो । ‘अहिले सबै सामान्य हुँदैछ’, उनले भनिन्,‘मनोनयन दर्तापछि बिरामी भएका कारण घरदैलोमा जान सक्नुभएको छैन ।’

२४ सै घण्टा अक्सिजन सपोर्टमा बसिरहेका थापाले कार्यकर्ता र आफन्तसँग धेरैजसो इसाराले कुरा गर्छन् । श्रीमती र सहयोगीबाट निर्वाचन क्षेत्रमा भइरहेको चुनावी गतिविधिबारे जानकारी लिन्छन्

‘उहाँलाई उम्मेदवार भएर पनि घरदैलोमा जान नपाएकोमा चिन्ता छ’ लक्ष्मीले भनिन् ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट भानुभक्त ढकाल, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. सुनील शर्मा, राप्रपाबाट रेखा थापालगायत उम्मेदवार छन् ।

क्षेत्र नम्बर ३ को प्रदेश क मा नेकपा एमालेबाट किशोर राई उम्मेदवार छन् । उनी पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर हुन् । क्षेत्र नम्बर ३ को ख बाट बेलबारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र सुवेदी उम्मेदवार बनेका छन् ।

सत्तारुढ गठबन्धनबाट क्षेत्र नम्बर ३ को क मा कांग्रेस नेता शेखरचन्द्र थापा र क्षेत्र नम्बर ३ को ख बाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता लक्ष्मी श्रेष्ठ उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा नेकपा एमाले पहिलो बनेको थियो । वडामा नेकपा एमालेले ३७ हजार ४१०, नेपाली कांग्रेसले ३६ हजार ९१६ र माओवादी केन्द्रले ७ हजार ३७३ मत पाएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?